
रञ्जन अधिकारी पोखरा, २२ असार/ पुष्पलाल अध्ययन केन्द्र, गण्डकीको अध्यक्षमा नेकपा एमालेका नेता तथा पूर्व मन्त्री खगराज अधिकारी चयन भएका छन् । पोखरामा बुधबार भएको पाँचौ साधारणसभाले आगामी तीन वर्षे कार्यकालको लागि अधिकारीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।
केन्द्रको वरिष्ठ उपाध्यक्षमा सोमनाथ अधिकारी प्यासी, उपाध्यक्षहरुमा टुका हमाल र टुकराज सिग्देल, महासचिवमा भीम कार्की, सचिवमा नवराज शर्मा, कोषाध्यक्षमा प्रेमकुमार लामिछाने छन् । केन्द्रको सदस्यमा गणेश तिमिल्सिना, जगत विक, मायानाथ अधिकारी, पद्मा अर्याल, मानबहादुर जिसी, तिलक महत, एकबहादुर राना, गोविन्द नेपाली, हितकाजी गुरुङ, पुण्य पौडेल, चक्रबहादुर पराजुली, सीमा क्षेत्री, कृष्ण थापा, मिनबहादुर गुरुङ, सिर्जना शर्मा, कृष्ण पाठक, खुमबहादुर नेपाली, हरिकृष्ण श्रेष्ठ, सम्झना देवकोटा, कमल अर्याल, पुण्य भुषाल, रामबहादुर बानिया, भुपेन्द्र थापा, ईश्लाम मिया छन् ।
उद्घाटन समारोहमा नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा धवलागिरी इञ्चार्ज गणेश तिमिल्सिनाले नेकपा एमालेको नेतृत्वको यो सरकार अहिलेसम्मकै सफल र राष्ट्रवादी सरकार भएको जिकिर गरे । उनले जनता यो सरकारको विपक्षमा नरहेको ठोकुवा गर्दै मुलुकको समृति र विकासका लागि यही सरकारमा सबै दल आएर राष्ट्रिय स्वरुप दिनुपर्ने बताए । साथै, सरकार फेरिने विषयमा चिन्ता मान्न जरुरी नभएको उनको भनाई थियो । एउटा पार्टीको बहुमत नभएकोले दोस्रो ठुलो दल एमालेको अगुवाईमा साना दललाई समेटेर बनाएको सरकार जुनसुकै बेला ढल्न सक्ने उल्लेख गर्दै उनले सरकारले जति दिन रहन्छ राम्रो काम गर्ने धारणा राखे । ‘सरकारले जनता समक्ष गरेको प्रतिबद्धता अनुुसार शिर निहुरिने काम गर्ने छैन’ उनले भने– ‘राष्ट्रियताको रक्षा र स्वाभिमानको पक्षमा सरकारले काम गर्छ ।’
सहमतिको सरकारका लागि एमाले तयार छ, तर काँग्रेसले भनेजस्तो हो भने सहमति बन्न सक्दैन भन्दै उनले एउटा बहुमतको सरकार ढालेर अर्को बहुमतको सरकार बनाउनुपर्ने कारण के हो स्पष्ट पार्न काँग्रेसलाई अनुरोध गरे । प्रतिपक्षको काम सरकारले गरेका राम्रा कामको समर्थन र नराम्रा कामको विरोध गर्ने भएपनि काँग्रेसले हिजो आफु सरकारमा हुदाँ गरेको सम्झौता आज सत्ता बाहिर विरोध गरेर ताण्डव मच्चाएको आरोप लगाए ।
एमालेका पोलिटब्युरोका वैकल्पिक सदस्य तथा गण्डकी इञ्चार्ज जगत विकले नयाँ संविधानले सवै खाले विभेद अन्त्य भएको बताउँदै त्यसको कार्यान्वयनका लागि दलहरुबीच सहमति आवश्यक रहेकोमा जोड दिए । उनले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको योगदानलाई चीरस्थायी बनाउन पार्टीको निर्णय र निर्देशनमा केन्द्र खोलिएको जानकारी दिए । एमाले केन्द्रीय सल्लाहाकार परिषद्का सदस्य तथा पूर्व मन्त्री खगराज अधिकारीले केन्द्रले पार्टीको प्रदेश कमिटी अन्तर्गत रहेर काम गर्ने जानकारी दिए । अधिकारीले संविधान कार्यान्वयन गर्न सबैले सहयोग गर्नुपर्ने बताउदै वर्तमान सरकारले ल्याएको बजेट जनमुखी र जनताका आकाङक्षा पुरा गर्ने खालको भएको बताए ।
कार्यक्रममा एमाले केन्द्रीय अनुशासन आयोगका सदस्य मित्रकुमारी गुरुङ सुवेदी, केन्द्रका सचिव भीम कार्कीले पुष्पलालले लोकतान्त्रिक तथा कम्युनिस्ट आन्दोलनमा खेलेको योगदान र विचारलाई पछिल्लो पुस्ता सम्म पु¥याउन सक्रियता पूर्वक लाग्ने बताए । साधारण सभाले केन्द्रको संशोधित विधानलाई अनुमोदन गर्नुको साथै प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदनलाई पारित गरेको महासचिव कार्कीले जानकारी दिए ।
