
रञ्जन अधिकारी पोखरा, २२ असार / समलिंगी÷तेस्रोलिंगी समुदायले संविधानले दिएको अधिकार समेत नपाएको गुनासो गर्दै यसको कार्यान्वयनमा जोड दिएको छ । नर्वेजियन दूतावासको सहयोगमा नील हिरा समाज, नौलो विहानी र परिवर्तन नेपालले पोखरामा बुधबार पत्रकारहरुसँग गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी समलिंगी तेस्रोलिंगीले संबिधान कार्यान्वयन गराउन सबैले दबाब दिनुपर्ने बताए । उनीहरुले नयाँ संविधानमा लेखिएको अधिकार कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण पनि गराए ।संविधानमा लेखिए पनि कार्यान्वयन पक्ष फितलो भएको भन्दै तत्काल कार्यान्वयन गर्न उक्त समुदायको जोड छ ।
नौलो बिहानीका कार्यक्रम संयोजक राजु थकालीले दातृ निकायको सहयोगमा मात्रै भर पर्नुपर्ने अवस्था रहेको बताए । सरकारले एक रुपैयाँ पनि सहयोग नगर्दा दातृ निकायको मात्रै भर पर्नुपरेको थकालीको भनाइ छ । ‘होटलमा भाँडा माझ्छु काम देउ न भन्दा कसैले दिँदैनन्’ थकालीको गुनासो थियो ‘महिला पुरुषले रोजगारी पाउने समलिंगी तेस्रोलिंगीले किन नपाउने ?’ उनले घर परिवारबाट निकालिएका समलिंगी तेस्रोलिंगी बाध्य भएर यौन पेशामा लागेको समेत बताए । उनले रोजगारीको व्यवस्था गर्न सरकारसँग माग समेत गरे ।
नील हिरा समाजको नर्वेजियन परियोजनामा कार्यरत अधिकारकर्मी विश्वराज अधिकारीले यौनिकता विज्ञापन गरेर भन्ने कुरा नभएको बताए । उनले समलिंगीलाई अरुले सहजै नचिन्ने बताउँदै अझै पनि ३० लाखको हाराहारीमा खुल्न नचाहने समलिंगीको संख्या रहेको अनुमान गरे । ‘म पुरुष भएरै जन्मेँ, अहिले पनि पुरुष अंग नै छ ।’ उनले भने– ‘मेरो ईच्छा चाहना अरुले देख्ने कुरा होईन । मैले नभनेसम्म मलाई सबैले पुरुष नै ठान्छन् ।’
नौलो बिहानीकै बिन्दिया गौतमले पोखरामा खुलेर आउनेको संख्या कम भए पनि ५ हजार समलिंगी तेस्रोलिंगी सम्पर्कमा आएको जानकारी दिइन् । उनले जिल्ला विकास समिति कास्की र नगरपालिकाले दिएको एक लाख रुपैयाँमा समुदायका सदस्यलाई सिलाई कटाई र कम्प्युटर तालिम दिएको बताइन् ।
परिवर्तन नेपालका राज क्षेत्रीले संविधानमा लेखिएको अधिकार कार्यान्वयन हुनु पर्ने र सरकारले समूदायका व्यक्तिलाई रोजगारीको व्यवस्था गर्नुपर्ने बताए । नौलो बिहानीकी अध्यक्ष रोशनी राईले यहाँसम्म आउनका लागि सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको बताउँदै भोलिका दिनमा पनि सहयोग निरन्तर रहने आशा रहेको बताइन् ।
यसैबीच, यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका सात सय बढिले नयाँ शक्ति नेपाल पार्टीको सदस्यता लिएका छन् । नील हिरा समाजकी अध्यक्ष एवं नयाँ शक्ति नेपालकी सचिवालय सदस्य पिंकी गुरुङले करीब सात सय समलिंगी तेस्रोलिंगीले पार्टीको सदस्यता लिएको जानकारी दिएकी हुन् । गुरुङले समुदायको मुद्दा राजनीतिक रुपमा स्थापित गर्न नयाँ शक्तिमा लागेको बताइन् । राजनीतिक रुपमा स्वतन्त्रता भएको बताउँदै अध्यक्ष गुरुङले जुनै दलमा पनि लाग्न सक्ने बताईन् । उनले विभेद, दुव्र्यवहार र हिंसा शून्यमा ल्याउन नील हिरा समाजले वकालत गर्दै आएको बताइन् । नागरिकता लिनकै लागि कतिपय जिल्ला प्रशासन कार्यालयहरुले झण्झट दिने गरेको उनको भनाइ थियो । ‘नयाँ लिनका लागि सहज नै छ तर, पुरानो लिएकालाई अन्य उल्लेख भएको नागरिकता लिन असहज छ’ –उनले भनिन्, – ‘हालसम्म डेढसय जतिले अन्यबाट नागरिकता लिईसकेका छन् । २० जना जतिले राहदानी बनाईसकेका छन् ।’
