गोरखाको केरौंजामा थप एकजनाको मृत्यु, पूरै गाउँ शोकमा

Share:

गोरखा, २३ असार –
बाटो मर्मत गर्न जाने क्रममा श्रीमती कान्छीमाया गुरुङको पहिरोमा पुरिँदा मृत्यु भएको खबर सुनेपछि घर फर्कंदै गरेका गोरखाको केरौंजा–३ का कृष्ण तामाङको मृत्यु भएको छ । सालो कृष्ण घलेको साथमा घर फर्कंदै गरेका तामाङको गएराति अकस्मात् अचेत हुँदा मृत्यु भएको हो ।

पहिरोमा पुरिँदा केरौंजा–३ का ३० बर्षीया चीनमाया गुरुङ, ४५ वर्षीया कान्छीमाया गुरुङ र १५ वर्षीय सन्दीप घलेको मृत्यु भएपछि शोकमग्न गाउँलेहरु गएराति तामाङको पनि मृत्यु भएपछि थप पीडामा परेको केरौंजा–३ बोवाङका फिरेन्द्र घलेले बताउनु भयो । तामाङको साथमा रहेका नाताले सालो पर्ने कृष्ण घलेको छोरा सन्दीपको पहिरोमा पुरिँदा मृत्यु भएको थियो ।

छोरा सन्दीप र दिदी कान्छीमायाको मृत्युको खबर सुनेपछि साला, भेना घर फर्कंदै थिए । बाटोमा हिँडिरहेको अवस्थामा गएराति १२ बजे मनास्लु पदमार्गअन्तर्गत केरौंजा–९ स्थित यारुबगरमा बेहोस भई ढलेपछि तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए ।

कमेन्ट गर्नुहोस्
Share: