
श्यामशीत्तल परियार
लमजुङ, २६ असार-
भुकम्पले चर्किएको । ५ कोठा सहितको एउटा जीर्ण भवन । त्यसैमाथि साँघुरो र अध्याँरो कोठा । वस्ने ठाउँको झनै अभाव । देशको दक्ष जनशक्ति उत्पादन गर्ने लमजुङ कृषि क्याम्पसको पुस्तकालयको हालत यस्तै छ । सोमवार दिउँसो २ वजे क्याम्पसको पुस्तकालयमा छैटौँ सेमेष्टरमा अध्ययनरत अर्जुन रायमाझी भेटिए । उनी ईस्यु शाखामा ‘एजुकेशन एण्ड एग्रिकल्चर कम्युनिकेशन’ नामक पुस्तक माग्दै थिए ।
‘ईस्यु शाखा र रिफरेन्स शाखामा यो पुस्तक जम्मा ६ वटा छ,’ उनले गुनासो गरे ‘छैटौँ सेमेष्टरमा सयभन्दा वढि विद्यार्थीले पालैपाले यो पुस्तक लैजानुपर्छ । पुस्तक पाउन महिनौँ कुनुपर्छ ।’
त्यस्तै गुनासो पोख्छन् अर्जुनसंगै पढ्ने सालिगराम घिमिरे । उनी भन्छन्, ‘भुकम्पले चर्किएको पुस्तकालय छ । मनमा डर पालेर पढ्नुपर्छ । पुस्तक पाउनै मुस्किल ।’
क्याम्पसमा ४ वर्षे विएस्सीएजीको पढाई हुन्छ । क्याम्पसमा ४ सय विद्यार्थी छन ।
‘विद्यार्थी धेरै छन । किताव राख्ने पर्याप्त दराजको समेत व्यवस्था हुन सकेको छैन,’ पुस्तकालय प्रमुख मेनका मिश्र भन्छिन्, ‘जनशक्तिको पनि कमी छ । पुस्तकालयको अवस्था झनै दयनीय छ ।’
केही समय अगाडिसम्म पुस्तकालयमा दश वटा कम्प्युटर पनि राखिएका थिए । तर अहिले पुस्तकालयमा रहेका केही कम्प्युटर अन्य शाखामा लगिएको र थोरै संख्यामा मात्रै कम्प्युटर पुस्तकालयमा रहेको पुस्तकालयका एक कर्मचारीले वताए । ईलाईव्रेरी अहिले संचालनमा नरहेको उनले सुनाए ।
मेनकाका अनुसार पुस्ताकालयमा पर्याप्त पुस्तक छैन । उनले दुई कार्यालय सहयोगीको भरमा पुस्तकालय संचालन गर्दै आएकी छिन् ।
‘पुस्तकालय चलाउन पुस्तकालय विज्ञान पढेको मान्छे आवश्यक पर्छ तर मैले त्यससम्वन्धी अध्ययन गरेकी छैन,’ स्टोर शाखावाट १ वर्ष अघि मात्र पुस्तकालय सम्हालन आएकी उनले भनिन्, ‘ईस्यु शाखा भरत मिश्रले हेर्नुहुन्छ । रिफरेन्समा वुक चेकरको अभाव छ । पर्याप्त पुस्तक र भवनको आवश्यक छ । अहिले दुई जना कार्यालय सहयोगी लिएर पुस्तकालय चलाएको छु ।’
रिफरेन्स शाखामा विद्यार्थी वसेर पढ्न पाउँछन् । पुस्तक लैजान पाउँदैनन । ईस्यु शाखावाट भने वढिमा एक हप्तासम्मका लागि विद्यार्थीहरुले पुस्तक लैजान पाउँछन ।
वि.सं २०३२ सालमा जेटी जेटिएवाट शुरु भएको क्याम्पसको स्थापनाको ४१ वर्ष वितिसेको छ । यत्तिका समय वित्दा समेत क्याम्पसले भौतिक संरचनाको विकासमा फड्को मार्न सकेको छैन ।
‘२०३२ सालमा जुन संरचना छ । अहिले पनि त्यही कायम छ । विद्यार्थी संख्या वढि छ । तर हामीसंग थोरै र कमजोर मानवीय संसाधन र भौतिक संरचनाका वीच क्याम्पस चलाउनुपर्ने वाध्यता छ,’ क्याम्पस प्रमुख डा. लालप्रसाद अमागाई थप्छन्, ‘तर पनि क्याम्पसको नतिजा सन्तोषजनक छ ।’
उनका अनुसार ४ सय विद्यार्थी एकैचाटी पुस्तकालयमा पस्दा पुस्तकालयमा विद्यार्थीको खुट्टा अटाउने समेत ठाउँ हुँदैन ।
‘सवै विद्यार्थी पुस्तकालय छिर्दा पुस्तकालय त हाटवाजर जस्तो देखिन्छ,’ उनले व्यंग्यत्मक ढंगले भने, ‘यसप्रति सम्वन्धित निकायको ध्यान खिचिनु जरुरी छ ।’ अमागाईँका अनुसार क्याम्पसमा प्रयोगशाला, पुस्तकालय र छात्रावासकोे ठुलो समस्या छ ।
होस्टेलको झनै समस्या
लमजुङ कृषि क्याम्पसमा पढ्नका लागि कपिलवस्तुदेखी दीपक खनाल आए । अहिले उनी पहिलो समेष्टरमा पढ्दै छन ।
चर्को मुल्य तिरेर वाहिर कोठा भाडामा लिएर वस्दा उनलाई निकै समस्या भएको छ ।
‘नाम निकालेर क्याम्पसमा पढ्न आउँदा होस्टेलमा वसेर पढ्न पाईएला भन्ने सोचेँको थिएँ,’ उनले भने, ‘तर त्यो सुविधा यहाँ रहनेछ ।’
उनीजस्तै थप ३ सय विद्यार्थीहरु वाहिर कोठा भाडामा लिएर पढ्न वाध्य छन् । प्रतिमहिना २३ सय देखी ३ हजारसम्म कोठा भाडा तिर्ने गरेको विद्यार्थीहरुले वताउने गरेका छन ।
सुन्दरवजार ७ मा रहेको क्याम्पसमा विभिन्न ६७ जिल्लावाट विद्यार्थीहरु पढ्न आएका छन । ‘मासिक चर्को मुल्य तिर्न वाध्य छौँ । खाना आफैँ पकाएर आनुपर्छ,’ क्याम्पस पढ्न सिन्धुलीदेखी आएका एक कृषि विद्यार्थीले भने, ‘यसले गर्दा पढाईँमा पनि असर पुर्याएको छ ।’
होस्टेल नहुँदा छात्रा थप मर्कामा
क्याम्पसमा तुलनात्मक रुपमा छात्राहरु धेरै छन । ‘सुरक्षासंवेदनाका आधारमा छात्राहरुको लागि होस्टेल हुनु अत्यावश्यक छ,’ सरोकारवालाहरु भन्छन् ।
‘क्याम्पसमा छात्रवासको निकै आवश्यकता खड्किएको छ,’ क्याम्पस प्रमुख डा. अमागाईले थपे, ‘विद्यार्थीको शैक्षिक गुणस्तर अभिवृद्धि र छात्राहरुको सुरक्षाका लागि होस्टेलको आवश्यकता छ ।’
क्याम्पसले अहिले पहिलो, तेश्रो, पाँचौ र छैँटौ समेष्टरको अध्यापन गराईरहेको छ ।
छैँटौ सेमेष्टरका सयभन्दा वढि विद्यार्थीहरु मात्रै होस्टेलमा वसेका छन । होस्टेलमा वसेकाहरुले पनि समस्या झेलेका छन ।
‘होस्टेलमा कहिलेकाहीँ पानी आउँदैन । पंखा विग्रन्छ । समयमै वन्दैन । पानी पर्दा केही कोठामा पानी चुहिन्छ,’ होस्टेलका समस्यावारे छैँटौँ सेमेष्टरका छात्र शालिग्रामले गुनासो गरे ।
भवनको काम अपुरै
क्याम्पसको हाल रहेको होस्टेल नजिकै ४ वर्ष अगाडि छात्रवासको प्रयोजनका लागि भन्दै भवनको शिलान्यास गरियो । तत्पश्चात पिलर पनि खडा गरियो । तर विभिन्न कारणले गर्दा अहिलेसम्म भवन वन्न सकेको छैन । जसका कारण होस्टेलको समस्या ज्यूँका त्यूँ छ ।
क्याम्पसको नाउँमा ३ सय ३० रोपनी जग्गा छ । जग्गाको संरक्षण र सही सुदपयोग हुन नसकेको स्थानीयहरु वताउँछन् ।
‘भवन निर्माणको लागि सम्वन्धित डिन कार्यालयमा डकुमेन्ट पठाईसकिएको छ,’ क्याम्पसका लेखा अधिकृत रामजी खड्काले भने, ‘निर्णय भैसकेपछि सायद भवन निर्माणको काम अघि वढ्छ ।’
उनका अनुसार २ सय विद्यार्थी अट्ने क्षमताको ३ तले भवन वनाउने क्याम्पसको योजना रहेको थियो ।
क्याम्पसका अनुसार त्रिवी विकास वजेटवाट ६९÷७० मा प्राप्त ३ करोडवाट वनाईने लाईव्रेरी र एकेडेमिक विल्डिङ तथा ७०÷७१ एक करोड विकास वजेटवाट व्वाईज होस्टेलको निर्माण प्रकृया डीन कार्यालयमा २ वर्षदेखी फाईल पेण्डिङ भई वसेको छ । दुई करोडको लाईव्रेरी वनाउने काम शुन्यवाट शुरु गर्नेगरी त्रिवी क्याम्पसवाट फिर्ता पठाईएको र वाँकी २ करोडको काम उपकुलपति कार्यालयमा निर्णय हुन नसकेको क्याम्पस पं्रमुख लालप्रसादले भने ।
क्याम्पसको विकासका सक्दो पहल गर्नेछु ः शिक्षाध्यक्ष डा. त्रिपाठी
क्याम्पसको भौतिक अवस्थाका वारेमा त्रिभुवन विश्वविद्यालयकी शिक्षाध्यक्ष प्रा.डा. सुधा त्रिपाठीले स्थलगत अवलोकन समेत गरेकी छिन् । उनले क्याम्पसको हितमा सकेको सहयोग गर्ने प्रतिवद्धता जनाएकी छिन् ।
‘म क्याम्पसको अवस्था वुझ्न नै यहाँ आएकी हुँ,’ उनले भनिन्, ‘यसको विकासमा सक्दो सहयोग गर्नेछु ।’
