
पोखरा, ३१ असार-
पोखरा–११ उपल्लो फूलबारी क्षेत्रमा ४ इन्चको खानेपानी पाइपलाईन विस्तार शुभारम्भ गरिएको छ । खानेपानी उपभोक्ता समितिद्वारा आयोजित पाइप लाइन विस्तार एवं स्थापना कार्यक्रममा प्रमुख अतिथि नेपाल खानेपानी संस्थान सञ्चालक समितिका अध्यक्ष डा. परमेश्वर पोखरेलले मनिपाल फूलबारीमा पानीको समस्या हुनु वत्तिमुनीको अध्यारोको संज्ञा दिए । आफ्नो घर वडा नं. १८ रहेपनि पानीको मुहान नजिकै फूलबारी क्षेत्रको समस्या आफूले देख्नै नसकेको उल्लेख गरे ।
विकासलाई प्रथमिकता दिने भन्दै अध्यक्ष पोखरेलले ५ अर्वको जापानिज सहयोग वजेट मार्फत ३ वर्षपछि शुद्ध पिउने पानीको व्यवस्था हुने बताए । पोखरामा पानीको समस्या कहिल्लै नहुने भन्दै वितरण प्रणालीलाई प्रभावकारी बनाउन पोखरा शाखालाई निर्देशन समेत दिए । छिटो भन्दा छिटो योजना सम्पन्न गर्न आफू लागिपरेको बताउँदै इन्जिनियर समेत रहेका पोखरेलले अन्तराष्ट्रिय स्तरकै योजना पोखरामा आउनु सकारात्मक रहेको उल्लेख गरे । उपभोक्ता समितिका अध्यक्ष स्थानीय समाजसेवी दामोदर बास्तोलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस कास्की क्षेत्र नं. २ का सभापति एवं समाजसेवी माधवप्रसाद बास्तोला(मधु)ले स्थानीयहरुको सहभागितामा सम्पन्न हुन लागेको योजनालाई संस्थानले आवस्यक फिटिङ र प्राविधिक सहयोग गर्न अनुरोध गरे ।
८० लाख भन्दा बढिको लागत रहेको उक्त योजना सम्पन्न पछि १ हजारदेखि १५ सय घरधुरीलाई पानीको समस्या नहुने नेपाल खानेपानी संस्थान पोखरा शाखाका कार्यालय प्रमुख निरण महर्जनले बताए । कार्यालय प्रमुख महर्जनले संस्थान र स्थानीय दुवै पक्षको अथक प्रयासबाट सम्पन्न हुन लागेको फूलबारी क्षेत्रको २ हजार मिटर पाइपलाइन विस्तारले आगामी दिनमा हुने बृहद् योजनालाई समेत टेवा दिने बताए । फूलबारी क्लबका अध्यक्ष एवं युवा समाजसेवी टुवराज बास्तोला(विशाल)को सञ्चालनमा सम्पन्न पाइपलाईन शुभारम्भ कार्यक्रममा उपभोक्ता समितिका सदस्य विद्या बाँस्तोलाले विकास निर्माण कार्यमा सहयोग हुने भन्दै पानीको योजना सुरु हुँदा खुसी लागेको बताईन् । उनले हिजो पानी बोकेर खाँदाको अवस्था सम्झदै घरघरमा हुने धाराले विकास निर्माणमा टेवा पुग्ने बताइन् । कार्यक्रममा स्थानीयहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
यसैबीच नेपाल खानेपानी संस्थान पोखरा शाखाद्वारा आर्थिक वर्ष २०७२/०७३को समापन तथा कर्मचारी सम्मान र विदाई कार्यक्रममा वोल्दै नेपाल खानेपानी संस्थानका अध्यक्ष डा. परमेश्वर पोखरेलले संस्थान भनेकै कर्मचारी हो भन्दै उपभोक्तालाई सेवा दिन आग्रह गरे । शाखालाई शाखाजस्तो बनाउने नै कर्मचारी भएकोले पानी वितरण दायित्व हाम्रै रहेको भन्दै पोखरेलले पोखरालाई अन्तराष्ट्रिय स्तरको सहर बनाउन आजैबाट लाग्न सवैमा अनुरोध समेत गरे । पोखरा शाखाका कार्यालय प्रमुख ई. निरण महर्जनको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य विन्ध्यवासिनी इकाई प्रमुख दिनेश्वरप्रसाद यादवले व्यक्त गरेका थिए । लेखा प्रमुख जिवनाथ ज्ञावालीद्वारा धन्यवाद मन्तव्य व्यक्त गरिएको कार्यक्रमको सञ्चालन कर्मचारी केदार धमलाले गरेका थिए ।
उक्त कार्यक्रममा वर्षका उत्कृष्ठ कर्मचारी वसन्तराज भण्डारी, केदार धमला, लोकबहादुर घले र चुणामणी अधिकारीलाई प्रशंसा पत्र र नगदले पुरस्कृत समेत गरिएको थियो । पोखरा शाखाद्वारा आयोजित कार्यक्रममा अवकास प्राप्त कर्मचारी वन्धुराज पराजुली, खेमबहादुर वोहरा, कृष्ण थापा, किशोरमान उदास, राम्जी पहारी, लक्ष्मण कार्की र इन्द्रबहादुर अधिकारीलाई करुवा र खादाले विदाई गरिएको प्रशासन प्रमुख शिवराज भण्डारीले जानकारी दिए । संस्थानले प्रदान गर्ने दीर्घसेवा पदकबाट कर्मचारी सितल बानियाँलाई प्रशंसा पत्र र चाँदीको मेडल सहित सम्मान गरिएको थियो ।
