कास्की पुनर्संरचना, तीन मोडलमा सिफारिसको तयारी

Share:

 पोखरा, भदौ १५ ।  स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समिति कास्कीले जिल्लाको पुनर्संरचनाका लागि तीनवटा प्रश्ताव आयोगमा सिफारिस गरेको छ । करिब डेढ महिनाको निरन्तर अभ्यास पछि समितिले आयोगले दिएको अधिकतम संख्या र उपयुक्त विकल्प सहितको सिफारिस पठाएको हो ।

आयोगले कास्कीमा पाँचवटा स्थानीय तह रहने गरी क्षेत्र विभाजन गर्न समितिलाई निर्देशन दिएको थियो । पहिलो प्रश्तावमा पोखरा उपमहानगरपालिकामा चापाकोट, कास्कीकोट, मौजा, पुरुञ्चौर र भदौरे तामागी गाविसका ३ देखि ९ नम्बर सम्मका वडालाई समेटेर पोखरा महानगरपालिकाको परिकल्पना गरिएको छ । यस्तै लेखनाथमा रुपाकोट, सिद्ध, थुम्की, देउराली, हंसपुर, माझठाना र कालिका गाविसको १ देखि ५ नम्बर वडा समेटिएको छ । बाँकी रहेका मिजुरेडाँडा, भाचोक, सैमराङ, पार्चे, थुमाकोडाँडा, सिल्दुजुरे, नामार्जुङ र कालिका गाविसको ६ देखि ९ नम्बरसम्म वडालाई मादी गाउँपालिकामा समेटिएको छ भने माछापुच्छ«े, घाचोक, लाहाचोक, रिभान, ल्वाङघलेल, धिताल, धम्पुस र सार्दीखोला गाविस समेटेर माछापुच्छ«े गाउँपालिका बनाईएको छ । उता लुम्ले, सल्यान, दाङसिङ, घान्द्रुक, ढिकुरपोखरी र भदौरे तामागी गाविसको १ र २ नम्बर वडा अन्नपूर्ण गाउँपालिकामा छ ।

समितिले उपयुक्त बिकल्पको रुपमा थप दुईवटा सिफारिस पनि गरेको छ । यि दुवै प्रश्तावमा पोखरा र लेखनाथ एउटै महानगरपालिकामा समेटिएको छ ।

kaski-ko-purnasarmacha-1

kaski-ko-purnasarmacha-2

kaski-ko-purnasarmacha-3

दोश्रो प्रश्ताव अनुसार पोखरा र लेखनाथ एउटै स्थानीय तहमा रहेपनि रुपाकोट, सिद्ध, थुम्की, देउराली र हंसपुर गाविसलाई रुपा गाउँपालिका बनाईएको छ । अरु गाउँपालिकामा एक नम्बरको प्रश्ताव अनुसार नै गाविस समेटिएको छ । समितिको सिफारिसमा कास्कीमा सात स्थानीय तह रहनेगरी अर्को प्रश्ताव पनि तयार भएको छ । जसमा माछापुच्छ«े र अन्नपूर्ण गाउँपालिका यथावत छ भने अरु ५ वटा स्थानीय तह पहिलेको भन्दा फरक छ । सिफारिसमा पोखरा र लेखनाथ सहित मौजाका २, ४ र ७ देखि ९ नम्बर वडा, पुरुञ्चौर, कालिका गाविसका १ देखि ५ नम्बर वडालाई महानगरपालिका बनाईएको छ । यसअघि लेखनाथ नगरपालिकामा समायोजन गर्ने भनिएका रुपाकोट, थुम्की, सिद्ध, देउराली र हंसपुर एउटा छुट्टै गाउँपालिका परिकल्पना गरिएको छ भने मिजुरेडाँडा, भाचोक, सैमराङ र माझठाना गाविस पनि अलग्गै गाउँपालिका बन्नेछ । पार्चे, थुमाकोडाँडा, सिल्दुजुरे, नामार्जुङ, कालिका ६ देखि ९ र मौजा गाविसको १, ३, ५ र ६ नम्बर वडा अर्को गाउँपालिका बनाईएको छ । यसअघि पोखरा महानगरपालिका गाभ्ने भनिएका चापाकोट, कास्कीकोट, भदौरेको ३ देखि ९ नम्बर वडा र अन्नपूर्ण गाउँपालिकामा रहेको ढिकुरपोखरी गाविसलाई पनि छुट्याएर नयाँ गाउँपालिकाको परिकल्पना गरिएको छ ।

अघिल्ला दुई प्रश्तावमा प्रत्येक स्थानीय तहको वडा संख्या समेत विभाजन गरिएको छ भने अन्तिम प्रश्तावमा वडा तोकिएको छैन । पहिलो प्रश्तावमा पोखरा महानगरपालिकामा ३२ वडा, लेखनाथ नगरपालिकामा १४, मादी र माछापुच्छ«े  गाउँपालिकामा समान ८ वडा र अन्नपूर्ण गाउँपालिकामा ६ वटा वडा विभाजन भएको छ । दुई नम्बर प्रश्ताव अनुसार पोखरा महानगरपालिकामा ३५ वडा, रुपा गाउँपालिकामा ५, मादी र माछापुच्छ«ेमा ८÷८ तथा अन्नपूर्णमा ६ वडा कायम हुनेछ । कायम भएका वडामध्ये महानगरपालिका र नगरपालिकामा वडा समेत गाभिएको छ भने गाउँपालिकामा साविकका एउटा गाविसलाई न्यूनतम एक वडा रहनेगरी सिफारिस गरिएको छ ।

समितिले सिफारिस गरेको पहिलो प्रश्ताव नै आयोगको मापदण्ड विपरित छ । आयोगले एउटा गाउँपालिकामा कम्तिमा २५ हजार जनसंख्या हुनुपर्ने मापदण्ड बनाएपनि १६ हजार सम्म जनसंख्या रहेको भूभागलाई गाउँपालिकाको रुपमा प्रश्ताव गरिएको छ । उता दुई नम्बर प्रश्तावको गाउँपालिकामा १५ हजारसम्म कायम गरिएको छ भने तीन नम्बर प्रश्तावमा ९ हजारसम्म जनसंख्या रहेको गाउँपालिका बनाईएको छ । समितिले केही स्थानीय तहको केन्द्र प्रश्ताव गरेपनि केही स्थानीय तहमा सम्भावित ठाउँलाई पनि केन्द्र रहन सक्नेगरी सिफारिस गरेको छ ।

यस बिषयमा मंगलबार राजनीतिक दल र सरोकारवालासँग छलफल भएपनि निष्कर्ष ननिस्किएकाले बुधबार विहान थप छलफल गर्ने तयारी भएको छ । यद्यपी बुधबारसम्म आयोगलाई समितिले सिफारिस पठाईसक्ने समितिका संयोजक तथा स्थानीय विकास अधिकारी दामोदर भण्डारीले जानकारी दिए । हामीले लामो समयसम्म सरोकारवालाको गहन छलफल पछि तीनवटा प्रश्ताव तयार गरेका हौं, उनले भने–यसमा मापदण्ड भन्दा बढी सुविधा र पायक पर्ने भुगोललाई प्राथमिकता दिएका छौं । कास्कीका केही गाविसहरु हिमाली क्षेत्रमा पर्ने भएकाले हिमाली मापदण्ड कायम गर्नका लागि पनि सिफारिस लेखि पठाएको उनले बताए ।

  • प्रकाश ढकाल
कमेन्ट गर्नुहोस्
Share: