
रञ्जन अधिकारी पोखरा, ५ असोज / पूर्व कर्मचारीहरुले हालै स्थापना गरेको नेपाल पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टीले कास्कीमा पनि जिल्ला समिति गठन गरेको छ । नेपाल प्रहरीमा सेवा गरी अवकाश प्राप्त पूर्व प्रहरी अधिकारीहरुको बाहुल्यता रहेको सो पार्टीले गत साउन १६ गते निर्वाचन आयोगबाट राजनीतिक दलको मान्यता पाएको हो । पूर्व प्रहरी अधिकृतसँगै सशस्त्र प्रहरी, सेना, निजामति कर्मचारीहरु पनि संगठित भएको सो पार्टीले जनाएको छ ।
पार्टीको बुधबार पोखरामा भएको भेलाले पूर्व प्रहरी निरीक्षक भीमबहादुर पौडेललाई अध्यक्ष र यज्ञनारायण गिरीलाई सचिवमा चयन गरेको हो । अध्यक्ष पौडेलले शीघ्र भेला डाकी तदर्थ समितिलाई पूर्णता दिने बताएका छन् । ६ महिनाभित्र अधिवेश गर्ने पौडेलले बताए ।
भेलामा बोल्दै केन्द्रिय तदर्थ समिति अध्यक्ष चुडाँदेव सिंह लामाले देशलाई जोगाउने र उन्नति पथमा लैजान अब नेपाको शासन व्यवस्था नयाँ दल, नयाँ शक्ति र नयाँ सरकारले मात्र सक्ने भएकाले वैकल्पिक शक्तिका लागि अनुभवी र शिक्षित समुदायको नयाँ पार्टी गठन भएको बताए ।
पार्टीका वरिष्ठ सल्लाहकार एवं पूर्व प्रहरी वरिष्ठ उपरीक्षक बसन्तराज कुँवरले डेढ महिनाको अवधिमै कास्की सहित ५३ जिल्लामा पार्टी विस्तार भईसकेको र अन्य १० जिल्लामा छलफल भईरहेको बताए । दशैं अघि नै मुलुकभर पार्टी विस्तार गर्ने योजना रहेको उनले सुनाए । हेटौंडा सम्मेलनले नयाँ नेतृत्व चयन गरी अघि बढ्ने उनले जनाए ।
‘पार्टीमा सबै अनुभवी हुनेछन् । बजेट बनाउने, प्रधानमन्त्रीको भाषण तयार गर्ने, सुरक्षा नीति, श्रम नीति बताउने सबै पूर्व कर्मचारी नै हुन् । अहिलेका कर्मचारी पछि हाम्रा पार्टीमा समाहित हुनेछन् ।’ कुँवरले भने– ‘दक्ष जनशक्ति संगठित भएको पार्टीले मुलुकलाई निकास दिन्छ । यो नै पहिलो शक्तिका रुपमा उदाउनेछ । यो पार्टी फेल हुने कुनै कारण देख्दिनँ ।’
उनले विदेशमा पढेका हजारौं युवा अब उतै बस्ने, खाडीमा जोतिएका लाखौं युवाँ ऋण तिर्दैमा जवानी सकिने, नेपालमा रहेका युवा पार्टीको झोला लिएर हिँड्ने गरेपछि देश नबन्ने उल्लेख गर्दै यस पार्टीमा अनुभवी पाको व्यक्ति रहेपनि नेतृत्व तहमा गैरपूर्वकर्मचारी युवाहरु पनि जान सक्ने बताए ।
पार्टी महासचिव नारायण गिरीले पूर्वकर्मचारी मात्र पार्टीको सदस्य नहुने भन्दै अनुभवी जनशक्तिलाई संगठित गर्नका लागि मात्र पार्टीको नाम राखिएको बताए । अधिकांश नेपाल प्रहरीका पूर्व अधिकारी रहेको सो पार्टीको झण्डा र चिन्ह नेपाल प्रहरीको रंग र लोगोसँग मिल्ने देखिन्छ ।
