
पोखरा, ८ असोज
पोखरामा जारी फिर्के–बुलौंदीखोला बृहत सफाइ अभियान उत्तरार्धमा आएको छ । अभियानको १७ औं श्रृंखला अन्तर्गत शनिबार जिल्ला मालपोत कार्यालय सँगैको फिर्केखोला पुलदेखि ८ सय मिटर दुरीसम्म सरसफाइ गरिएको छ । जसमा करिब ११ टन फोहोर मैला संकलन भएको नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेलले जानकारी दिए । अर्को साता फिर्के–बुलौंदी सफाइ अभियान सकिए पनि नगरका चोक चोकमा भने सफाइ अभियान जारी रहने उनले बताए ।
१७ औं श्रृंखलामा विभिन्न सामाजिक संघसंस्थाले सहभागिता जनाउँदै ऐक्यबद्धता जनाए । यसै गरि विभिन्न संघसंस्थाले सरसफाईका लागि आवश्यक सामाग्री र पिउने पानी सहयोग गरेका थिए । कार्यक्रममा उपस्थित अभियन्ता र स्वयंसेवकलाई स्थानीय विकास अधिकारी दामोदर भण्डारीले सपथ खुवाएका थिए । सहभागीलाई जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत अनिलकुमार शाहीले धन्यवाद ज्ञापन गरेका थिए ।
१८ औं साताको सफाइ अभियान वडा प्रहरी कार्यालय बैदाम परिसरबाट हुनेछ ।
