
रञ्जन अधिकारी पोखरा, ८ असोज / कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक घनश्याम अर्यालले आफ्नो कार्यकालमा प्रहरीबाट कुनै कमीकमजोरी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले जनताको सेवालाई सर्वोपरी ठानेर आफू अघि बढेको र मातहतका प्रहरी पनि सोहि अनुसार अघि बढेको दाबी गरे । उनले कार्य सिलसिलामा कुनै कमजोरी भए आफू समक्ष गुनासो गर्न आग्रह गरे ।
धादिङ्ग जिल्ला घर भई स्थायी तथा अस्थायी रुपमा पोखरामा बसोबास गरेका धादिङबासीको सामाजिक संस्था धादिङ्ग–पोखरा सम्पर्क समाजको १८ औं साधारणसभा तथा नवौं अधिवेशनका अवसरमा बोल्दै उनले न्यायका क्रममा आफूले कुनै वाद नहेर्ने बताए । ‘नातावाद, कृपावाद, परिवारवाद, राजनीतिक वाद भन्ने मलाई चल्दैन । मेरो छोरो नै अपराधी भएपनि जोगाउनेतिर म लाग्दिनँ ।’ अर्यालले भने – ‘जनताको सेवा भावले काम गरौं । जनताको सेवा नै प्रमुख हो । म विहान ८ बजेदेखि कार्यकक्षमा हुन्छु । समस्या भए आउनुस् ।’
उनले सात जिल्लामा प्रमुख हुँदा आफू धादिङ जिल्लामै सबैभन्दा बढि सेवा गरेको मात्र नभई अहिलेसम्मका प्रहरी प्रमुखमध्ये सबैभन्दा बढि समय कार्य गर्ने नै आफू भएको जनाए । डिएसपी हुँदा २९ महिना धादिङको गाउँ गाउँ पुगी काम गरेको अनुभव सुनाउँदै उनले धादिङेहरुले पोखरामा समेत सम्झेकोमा आभार व्यक्त गरे । उनले सामाजिक संस्थामा राजनीतिलाई हावी हुन नदिन आग्रह पनि गरे । धादिङ फूलखर्कका खड्कबहादुर भट्टराई मजदुरी गर्ने सिलसिलामा दुई वर्षअघिदेखि एक्कासी वेपत्ता हुँदा पनि प्रहरीले अहिलेसम्म खोजीकार्यमा गम्भिर नभएको गुनासो आएपछि एसपी अर्यालले आफूले यसबारे बल्ल थाहा भएको बताउँदै आफूले तत्काल यस विषयमा अनुसन्धान गर्ने जनाए ।
विशेष अतिथि अन्तर समाज महासंघ नेपालका अध्यक्ष दीपेन्द्र राईले जिल्लाका अन्तरसमाज मध्ये धादिङ समाज अग्रणी भएको जनाउँदै सबै जिल्लाबासीलाई समेटेर अघि बढ्न सुझाव दिए । विशेष अतिथि पोखरा उद्योग वाणिज्य संघकी उपाध्यक्ष विन्दु कोईराला सुवेदीले धादिङेहरुलाई आफूले मेहनती पाएको बताउँदै पोखरामा उद्योग व्यवसायमा संलग्न धादिङेहरु वृद्धि भएकोमा खुशी लागेको बताईन् ।
पूर्व अध्यक्ष एवं सल्लाहकार संयोजक रुद्रप्रसाद खनालले पोखरामा रहेका धादिङ्गवासी एकजुट हुनुपर्ने बताउँदै राजनीतिक पूर्वाग्रह नराखी सामाजिक कार्यमा अघि बढ्न जोड दिए । खनालले धादिङ्गेहरु पोखरामा बढि संख्यामा मजदुर रहेकाले उनीहरुमाथि आईपर्ने जटिल समस्या समाधान गर्न समिति अझ बढि क्रियाशील हुनुपर्नेमा जोड दिँदै सम्पूर्ण धादिङ्गवासीलाई समितिमा आबद्धताका लागि आग्रह समेत गरे ।
समाजका अध्यक्ष झम्क सारु मगरको अध्यक्षतामा भएको साधारणसभामा महासचिव सुदर्शन बसौलाले वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष लालप्रसाद पाठकले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारणसभाले विधान संशोधन प्रस्ताव पारित समेत गरेको छ । सो अवसरमा आगिन्चोक कइकाई अध्यक्ष हरि पन्त, कार्यक्रम संयोजक युवराज खतिवडा, वरिष्ठ उपाध्यक्ष गोकर्ण लम्साल लगायतले बोलेका थिए । यसैबीच अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।
पोखरामा रहेका १ हजार बढि धादिङ्गवासी आबद्ध समितिले प्रत्येक वर्ष पोखरामा रक्तदान, धादिङ्गमा स्वास्थ्य शिविर, आँखा शिविर, सामुदायिक माविबाट एसएलसीमा उत्कृष्ट अंक प्राप्त गर्ने छात्र तथा छात्रालाई सम्मान, विद्यालयमा शैक्षिक सामाग्री हस्तान्तरणका साथै विभिन्न दुर्घटनामा मृत्यु भएका परिवार तथा घाईते भएकालाई आर्थिक तथा भौतिक सहयोग गर्दै आएको छ । समाजले गरेका कार्यक्रममा संयोजक तथा विभिन्न सहयोगी भूमिका निर्वाह गरेकालाई सम्मान समेत गरिएको थियो । पोखरामा धादिङबासी ४० हजार बढि रहेको अनुमान गरिएको छ ।
