पोखरा प्रमुख पर्यटकीय गन्तव्यः राष्ट्रपति, मितेरी मातृशिशु अस्पताल सरकारलाई हस्तान्तरण

Share:

रञ्जन अधिकारी पोखरा, १२ असोज / राष्ट्रपति विद्यादेवी भण्डारीले पोखरालाई प्रमुख पर्यटकीय गन्तव्य बनाउने प्रतिबद्धता गर्ने बेला आएको बताएकी छन् । पोखरामा बुधबार मातृशिशु मितेरी अस्पतालको उद्घाटन गर्दै उनले प्रशस्त सम्पदा हुँदा हुँदै पनि अन्य स्थानको दाँजोमा पोखरा पछि परेको बताईन् । ३७ औं पर्यटन दिवस मनाईरहँदा पोखरालाई उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न प्रतिबद्धता जनाउने समय आईसकेको राष्ट्रपति भण्डारीले बताईन् ।

‘विश्वमा प्र्रमुख उद्योगमध्येमा पर्यटन पनि होे तर अरु देशले यसमार्फत ठूलो फड्को मारिसकेको अवस्थामा पोखरा प्रशस्त सम्पदाको बाबजुद पछि परेको छ ।’ लिखित सन्देश दिँदै उनले भनिन्– ‘ऐतिहासिक शहर र प्रमुख व्यापारिक केन्द्र, साहसिक यात्रा, पर्वतारोहण पदयात्रा, पर्यावरण, कृषि, पर्यटन लगायत अन्वेषणका लागि पोखरा उपयुक्त छ । ताल, हिमालको शहर पोखरा सुन्दर शहर भएको बताईन् ।

प्राकृतिक सौन्दर्य र भू संरचनाको दृष्टिले पोखरा र कोमागाने समान र अर्थतन्त्रको मुख्य आधार पनि पर्यटन रहेका यी दुई नगरीबीच ठूलो फरक भएको जनाईन् । १६५ वर्ग किमि क्षेत्रफलमा ३५ हजार मात्र बसोबास गर्ने कोमागाने र जम्मा ५६ वर्ग किमि क्षेत्रफलको पोखरामा ३ लाख ५० हजार बसोबास रहेकाले यहाँ जनघनत्व बढि रहेको बताईन् ।

जिल्लास्तरको बनेपछि अस्पतालले मातृ र शिशु मृत्यूदर घटाउन भूमिका खेल्ने विश्वास व्यक्त गरिन् । ‘आमा र शिशुलाई अस्पतालले गुणस्तरीय सेवा दिनेमा म विश्वस्त छु, यसले मातृ र शिशु मृत्यूदर घटाउने आशा पनि व्यक्त गर्छु’ उनले भनिन् – ‘गर्भावस्थादेखि शिशु दुई वर्ष नपुगुन्जेल सुनौला हजार दिनको संवेदनशील अवधिको विभिन्न अत्यावशकीय सुविधा अस्पतालबाट मिल्ने अपेक्षा गरेको छु ।’

सार्वजनिक साझेदारीमा आधारित नगरपालिका अस्पतालको भावना प्रतिविम्वित हुने गरी बनाईएको यो अस्पताल १५ वर्ष अघि स्थापित भगिनी सम्बन्धको प्रतिक रहेको उनले बताईन् ।

चारवर्ष अघिदेखि पोखरा १६ बाटुलेचौरमा सञ्चालनमा रहेको पोखराको एकमात्र मातृशिशु सम्बन्धी अस्पताल पोखरा कोमागाने मितेरी अस्पताल सरकारलाई हस्तान्तरण गरिएको छ । साविकको बाटुलेचौर स्वास्थ्य चौकी र मितेरी अस्पताललाई समायोजन गरी जिल्ला स्तरको अस्पतालमा स्तरोन्नति गरी स्वास्थ मन्त्रालय अन्तर्गत सञ्चालन भएको हो ।

सो अस्पतालको बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन् । उद्घाटन समारोहमा राष्ट्रपतिको रोहवरमा अस्पतालका निवर्तमान मेडिकल सुपरिटेण्डेन्ट छममाया पुनले अस्पतालका वर्तमान मेडिकल सुपरिटेण्डेन्ट डा.प्रेमराज पंगेनीलाई अस्पतालको माइन्यूट बुक तथा सम्पतिको सम्पूर्ण विवरण हस्तान्तरण गरेकी थिइन् । स्तरोन्नतीसँगै अस्पताल २५ शैयाको बनेको छ ।

पोखरा उपमहानगरपालिका र जापानको कोमागाने नगरबीच भगिनी सम्बन्ध कायम भएको १०औं वर्ष गाँठको अवसरमा २०६९ सालमा अस्पताल स्थापना गरिएको थियो । अस्पताललाई नेपाल सरकारले गत वर्ष असोज २२ गते जिल्लास्तरको बनाउने निर्णय गरिएको थियो ।

कार्यक्रममा पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारी, सिटिजन्स एशोसियसन फर नेपाल एक्सचेञ्जका अध्यक्ष सिगेची कोमात्सुवारा, कोमागाने नगरका पूर्व मेयर मासाजुमी नाकाहारा सहित अस्पतालका सञ्चालक समितिका अध्यक्ष, पदाधिकारी, सदस्य तथा स्थापनाकालीन कर्मचारीहरुलाई सम्मान गरिएको छ । अधिकारी स्वास्थ्य मन्त्री हुँदा उनकै पहल र सहयोगमा अस्पताललाई जिल्लास्तरको अस्पतालमा स्तरोन्नती भएकाले सम्मान गरिएको अस्पतालले जनाएको छ ।

तत्कालिन स्वास्थ्यमन्त्री अधिकारीले बाल मुत्युदरलाई घटाउनुनै अहिलेको चुनौति रहेको बताए । उनले औषत आयु वृद्धि भएपनि अझै प्रसव चरणकै बेला आमाको मृत्यु हुने, पाँच वर्ष मुनीको बच्चा हुर्काउन गाह्रो हुने अवस्था रहेको उल्लेख गरे ।

कार्यक्रममा नेपालका लागि जापानी राजदुत मासासी ओगावा, जाइका नेपालका महानिर्देशक जुन साकुमा, कोमागाने नगरका मेयर कोजी सुगीमोतोले सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । पोखरा उपमहानगर पालिकाका कार्यकारी अधिकृत भिमबहादुर कुँवर, पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशक तारानाथ पौडेल लगायतले अब अस्पताल पूर्ण रुपमा सुविधासम्पन्न भएको र यसबाट नागरिक लाभान्वित हुने बताए ।

पोखरा उपमहानगरपालिका कार्यालय र जापानको कोमागाने नगरबीच २०५८ वैशाख १ गते भगिनी सम्बन्ध स्थापित भए पश्चात दशौं वर्षगाँठको अवसरमा २०६९ सालमा यो अस्पताल स्थापना भएको हो । पोखरा उपमहानगरपालिका संरक्षक र कोमागाने नगर सह–संरक्षकत्वमा स्थानीय जनताको सहयोगमा स्थापित अस्पतालले २०६७ कार्तिक २३ बाट पोलिक्लिनिकको रुपमा सेवा सुरु गरेको थियो । जनस्तरबाट कोष नै खडा गरी सञ्चालन हुँदै आएको अस्पतालमा २०६९ साल माघ २२ गतेदेखि महिला र बालबालिकाको क्षेत्रमा विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ । अस्पतालमा १२ करोड रुपैयाँ बराबरको भवन, नेपाल सरकारको १ करोड १० लाख रुपैयाँ लगानी, स्थानीय जनताको ५२ लाख, कोमागाने नगरले करिब ४ करोड बराबरको महत्वपूर्ण उपकरण लगायत सरकारलाई हस्तान्तरण गरिएको हो ।

पोखरा उपमहानगरपालिकाको स्वामित्वमा रहेको अस्पतालको दैनिक व्यवस्थापकीय जिम्मेवारी स्थानीय समुदायमा रहने व्यवस्था छ । नगरपालिकाले अस्पताल सञ्चालनको लागि वार्षिक रुपमा २५ लाख रुपैयाँ सहयोग गदै आएको थियो । तीन वर्षको लागि रकम दिएकोमा यो अन्तिम वर्ष भएको नगरपालिकाले बताएको छ । अस्पतालको कुल खर्चको १० प्रतिशत रकम सहयोग गर्ने सैद्वान्तिक सहमति भएको उनले उल्लेख गरे । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रेमराज पंगेनीले बाल र स्त्रीरोगको विशेषज्ञ डाक्टर, ४ मेडिकल अधिकृतसहित ३८ जनाको दरवन्दी अस्पतालमा रहेको जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
Share: