कारागारमा रहँदा निधन भएका पत्रकार महेश पहारीको स्मृति सभा पोखरामा

Share:

पोखरा, १८ असोज-
पत्रकार महेश पहारीको ११ औं स्मृति सभा मंगलबार पोखरामा सम्पन्न भएको छ । नेकपा (माओवादी केन्द्र) को १० नम्बर वडा कमिटीले स्मृति सभा गरेको हो ।
कार्यक्रममा बोल्दै नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सचिवालय सदस्य हरि अधिकारीले सहिद, वेपत्ता र घाइते परिवार विचलित भैहाल्नुपर्ने अवस्था नआएको बताए । उनले बाटो बदलेर सहिद र पार्टीको उद्देश्य पूरा गर्न खोज्दा अल्मलिएको जस्तो देखिनु अस्थायी घटना मात्रै भएको उल्लेख गरे । माओवादीले लक्ष्य, उद्देश्य नछाडेको दाबी गर्दै नेता अधिकारीले भने, ‘मौलिक ढंगले जान खोज्दा आफै बाटो बनाउनुपरेकोले अप्ठेरो भएको मात्रै हो ।’
उनले माओवादीले सरकार र सदनलाई विशिष्ट भूमिकाको निम्ति प्रयोग गरेको जनाउँदै सडक संघर्ष नै मुख्य भएको जिकिर गरे । कार्यक्रममा सहिद तथा वेपत्ता परिवार समाजका केन्द्रीय सदस्य लोकप्रसाद बञ्जराले सहिदको बलिदानीलाई उर्जामा बदल्नुपर्ने विचार व्यक्त गरे । महेश पहारीकी जीवनसंगीनी दुर्गा पहारीले वर्गीय मुक्तिका लागि लड्दालड्दै सहादत प्राप्त गरेका योद्धालाई राज्यले सहिदको दर्जा नदिनु दुखद भएको बताइन् । माओवादी पार्टीले मात्रै सहिद घोषणा गरेको बताउँदै पहारीले सरकारबाट नै सहिद घोषणा गर्नुपर्ने माग गरिन् । वेपत्ता परिवार समाज कास्की अध्यक्ष अणनाथ बरालले सहिद तथा वेपत्ता परिवारको दुखमा पार्टीले साथ दिनुपर्ने भनाइ व्यक्त गरे । स्मृति सभामा वडा कमिटी सचिव सूर्य बानियाले महेश पहारीको जीवनी बाचन गरेका थिए । कार्यक्रम नेकपा (माओवादी केन्द्र) वडा कमिटी अध्यक्ष रामबहादुर थापा मगरको अध्यक्षतामा भएको थियो ।
स्वर्गीय महेश पहारी पोखराबाट प्रकाशित हुने स्वाभिमान राष्ट्रिय साप्ताहिकमा कार्यरत रहदा २०६२ सालमा आतंककारीको आरोप लगाउँदै सेनाले नियन्त्रणमा लिएर वेपत्ता बनाएको थियो । मानवअधिकारवादी, पत्रकारको व्यापक दबाबपछि उनलाई कास्की कारागारमा राखिएको थियो । कास्की कारागारमा रहँदा पहारीको उपचार अभावका कारण निधन भएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: