को थिए गोशली बाबा ?

Share:

पोखरा, २० असोज-

श्री विष्णुमहेश्वर शान्ति धामका संस्थापक पिठाधिश्वर अनन्त विभूषित १००८ स्वामी श्री शिवानन्द सरस्वती महाराजजी ब्रह्मलिन षोडशी भण्डारा तथा सन्त आशिर्वचन कार्यक्रम बुधबार सम्पन्न भएको छ ।

‘गोशली बाबा’ नामले परिचित श्री १००८ स्वामी शिवानन्द महाराजले असोज ४ मा देहत्याग गरेका थिए । ९२ वर्षीय शिवानन्द महाराजको पोखरा–न्युरोड स्थित आफ्नै आश्रममा साधुसन्त, धार्मिक संघसंस्थाका प्रतिनिधि, अनुयायीहरु, परिवारले स्मरण गरे । वि.सं. १९८२ सालमा तनहुँको धरमपानीमा जन्मेका विष्णुकुमार गोशली सन्यासी बनेपछि स्वामी शिवानन्द महाराजबाट परिचित थिए । उनी २०४६ सालमा सन्यासी बने ।

शिक्षाप्रेमी डा. राधेश्याम कायस्थले बालसखाका रुपमा स्मरण गर्दै सँगै हिँड्ने, सुत्ने साथी विष्णु पछि सन्यासी बन्दा आफू अचम्मित बनेको बताए । ‘बाल्य अवस्थमा बाल्य जीवन जिउनुभो । युवा अवस्थामा युवा जीवन नै जिउनुभो । अनि उत्तराद्र्धमा स्वामी जिवन बाँच्नुभयो ।’ कायस्थले सम्झे– ‘आफ्नो पेशा व्यवसायमा सफल भएर परिवारलाई हाँसीखुशी साथ सम्पेर शुन्यबबाट जानुभयो । यो सम्पन्न जीवनशैली कमैले त्याग गर्छन् । उहाँ महान हुनुहुन्छ ।’

काठमाडौंबाट आएका श्री १००८ स्वामी हरिहरानन्द महाराजजीले शिवानन्द महाराजजीको शोक सभा नभई ध्यानसभा, ज्ञान सभा र मुक्त सभाको रुपमा लिन आग्रह गरे । उनले परमात्मासँग एकताको सम्बन्ध भएको अनुभूति नगर्नेले मात्र शोकसभाको रुपमा लिने बताए । गीता, भागवत, बेदबेदान्तले जे भनेको छ सोहि अनुसार जीवन जिउन शिवानन्द महाराजजी सफल भएको उनले स्मरण गरे ।

विन्ध्यवासिनी पिठाधिश निषेधानन्द महाराजजीले सम्पन्न जीवन त्यागेर आज विष्णुकुमारबाट शिवानन्द बनेर सधैं अमर रहेको बताए । सो अवसरमा सहभागीले गोशली बाबाको तस्विरमा माल्यार्पण गर्दै मौनधारण गरी स्मरण गरिएको थियो ।

गोशली बाबा पोखराको स्थापित उद्योग तथा व्यावसायिक घराना ‘गोशली हाउस’ का संस्थापक हुन् । २०३७ सालमा वानप्रस्थपछि उनले आफ्नो उद्योग व्यवसाय छोरा सुशील गोशलीलाई जिम्मा लगाएका थिए । नाति युवा उद्यमी सुनील गोशलीका अनुसार सामान्य लेखपढ गरेका गोशली बाबाले आफ्नै गाउँघरबाट व्यवसाय थालनी गरेका हुन् । गाउँमा कपडा र खाद्यान्न व्यापार गर्दा गर्दै उनी २०२७ सालमा सपरिवार पोखरा झरेका थिए । पोखराको पहिलो आधुनिक कपडा उद्योगका सञ्चालक यिनै गोशली बाबा हुन । हाल औद्योगिक क्षेत्र भित्र रहेको गोशली ढाका उद्योगमा झण्डै दुई सय जना जनाले रोजगारी पाएका छन् । आफ्नो अन्त्येष्टी कसरी गर्ने भन्ने सम्पूर्ण विधि गोशली बाबा आफैले लेखेर छोडेका थिए भने अन्त्येष्टीका लागि आवश्यक सम्पूर्ण सामाग्री आफैले जम्मा पारेर एउटा बाकसमा राखेका थिए । उनले पोखरा रामघाट राम मन्दिर परिसरमा आफ्नो समाधिस्थल आफै खनेका थिए । सोही खाडलमा सन्यास संस्कार अनुसार उनको अन्त्येष्टिी गरिएको परिवारले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: