
काठमाडौँ, ८ कात्तिक –
नजिकँदो तिहार पर्वका लागि यस वर्ष भारतबाट रु ६० लाख मूल्य बराबरको सयपत्री फूलको माला आयात गर्ने योजना छ ।
गत बर्ष तिहारमा रु. एक लाख ५० हजार माला आयात गरेकोमा यस वर्ष दुई लाख माला आयात गर्ने योजना रहेकोे फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले बताउनुभयो ।
तिहारमा सबैभन्दा बढी फूलको आयात हुने गरेको छ, अध्यक्ष श्रेष्ठले भने — गत वर्ष उपभोक्ताले फूलको प्रतिमाला रु एक सयदेखि एक २० सम्म तिर्नुपरेकोमा यो वर्ष बढीमा रु ८० सम्ममा तिर्नुपर्ने हुन्छ ।
पछिल्लो समय मुलुकले गोदावरी र मखमली फूलमा आत्मनिर्भर भइसकेको छ भने अहिले पनि सयपत्री फूलमा मुलुक आत्मनिर्भर हुन सकेको छैन् । तिहारका वेला हरेक वर्ष भारतबाट सयपत्री फूल आयात गर्नुपर्ने हुन्छ ।
हरेक वर्ष झन्डै रु डेढ अर्ब मूल्य बराबरको फूलको कारोबार हुने गरेको छ । तिहारमा मात्र मुलुकभर करिब ११ लाख मालाको कारोबार हुने गरेको छ । तीमध्ये नौ लाख माला नेपालमै उत्पादन भएको फूलबाट बनेका हुन्छन् । नेपालमा प्रयोग हुने मालाको ४० प्रतिशत खपत काठमाडौँ उपत्यका नै हुने गरेको एसोसिएसनले जनाएको छ । एसोसिएसनका अनुसार मुलुकभर तिहारमा मात्र झन्डै रु सात करोड मूल्य बराबरको फूलको कारोबार हुने गरेको छ ।
