
पोखरा, ८ कार्तिक-
विश्व पोलियो दिवसको उपलक्ष्यमा पोखरा उपत्यकाका ६ वटा रोटरी क्लबहरु समेत यससंग सम्बन्धित विभिन्न संगठनको संयूक्त आयोजनामा सोमबार पोखरामा वृहत पोलियो शुन्य रयाली सम्पन्न भएको छ ।
र्यालीको शुभारम्भ गर्दै रोटरी डिस्ट्रीक ३२९२ नेपाल–भुटानका डिस्ट्रीक गभर्नर जया राज्य लक्ष्मी शाहले पोलियो उन्मुलन कार्यमा सहयोग गर्न सबैसंग आग्रह गर्नुभयो । उहाँले शान्तिका प्रतिक परेवा उडाएर र्यालीको शुभारम्भ गर्नुभएको थियो ।
पोखराको बिन्ध्याबासिनी मन्दिर प्राङगण बाट विहान ८ बजे शुरु भएको रयाली मोहोरिया टोल, नालामुख, रामकृष्णटोल, सिद्धार्थचोक, चिप्लेढुंङ्गा, महेन्द्रपुल, पालिखेचोक हुँदे गैह«ापाटनस्थित पोखरा उद्योग वाणिज्य संघको परिसरमा पुगेर समापन भएको थियो ।
नेपाल राष्ट्रिय पोलियो प्लस कमिटिको समेत सहयोग रहेको उक्त कार्यक्रममा रोटरी क्लबका अलवा विभिन्न सरकारी तथा गैर सरकारी संघ–संस्था, इनर ह्वील क्लबहरु, रोट्रायाक्ट क्लबहरु, ईन्टरएक्ट क्लबहरु र रोटरी सामुदायिक ग्रामका पदाधिकारी र सदस्यहरुको सक्रियता थियो । त्यसैगरी र्यालीमा नेपाली शेना, नेपाल प्रहरी, उद्योगी व्यवसायी, समाजसेवी, महिला समूह, विद्यार्थी लगायतले पनि ऐक्यबद्धता जनाएका थिए ।
र्यालीमा सहभागिहरुले ‘पोलियो उन्मूलन गरौँ’ लेखिएका प्लेकार्ड पर्दशन सहित चेतनामूलक पर्चाहरु समेत वितरण गरेका थिए । र्यालीको थ्रि एन्जल्स रेडियो मार्फत प्रत्यक्ष प्रशारण समेत गरिएको थियो ।
विश्वबाट पोलियो उन्मूलन गर्न महत्वपूर्ण योगदान गरेको रोटरी इन्टरनेशनलले छिटपुट रुपमा देखिएको पोलियो रोग पूर्ण रुपमा अन्त्य गर्न प्रत्येक अक्टोबर २४ तारिकमा रोटरीले विभिन्न कार्यक्रम गर्दै आएको छ ।
