
पाेखरा १४ कार्तिक-
कास्कीमा स्थानीय तह पुनर्संरचना गर्दा पोखरा र लेखनाथलाई गाभ्नुपर्नेमा जिल्ला तहका नेताहरु सहमत देखिए पनि स्थानीयस्तरमा भने सहमति जुट्न सकेको छैन । प्रदेश नम्बर ४ को प्रस्तावित र निर्विकल्प राजधानी पोखरालाई लेखनाथसम्म विस्तार गरेमा विकास निर्माणले पनि गतिशीलता पाउने जिल्ला तहका नेता र सभासदहरुको भनाइ छ ।
स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिले केही दिन अघि जिल्ला विकास समितिमा गरेको सर्वदलीय छलफलमा सभासद तथा जिल्ला तहका नेताहरुले धेरै तह बनाउनुभन्दा थोरै र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए । लेखनाथमा अन्तराष्ट्रियस्तरको सम्मेलन केन्द्र, बस टर्मिनल लगायत पूर्वाधार बन्ने क्रममा छन् ।
पोखरामा बस्ती विकास धेरै नै भइसकेकाले ठूला पूर्वाधारको लागि लेखनाथ उपयुक्त रहेको उनीहरुको भनाइ छ । तर नगर र वडास्तरका राजनीतिकर्मीहरुले भने लेखनाथको अस्तित्व मेटाउने गरी गाभ्न नहुने भनाइ राखेको प्राविधिक समिति सदस्य तथ्यांक निर्देशक जगु बस्यालले बताए ।
केही दिन अघि पुनरर्संरचना आयोगका अध्यक्ष बालानन्द पौडेल पोखरा आएका बेला पनि पोखरा र लेखनाथलाई गाभेर महानगरपालिका बनाएरमा उपयुक्त हुने भनाइ राखेको स्रोतले जनाएको छ । यी दुई नगरपालिका गाभेर बाँकी रहेका गाविसलाई ५ गाउँ पालिकाका विभाजन गर्न सकिने आयोगको धारणा थियो । यसैबीच, भदौ १५ गते स्थानीय प्राविधिक समितिले आयोगलाई बुझाएको ३ खाकामध्ये पहिलो खाका नै उपयुक्त रहेको कास्कीका दलहरुले बताएका छन् । पहिला बढीमा ५ वटा तह बनाउने गरी निर्देशन आएकोमा परिमार्जित निर्देशिकामा कास्कीमा बढीमा ६ तह बनाउन सकिने उल्लेख छ ।
५ वटै तह उपयुक्त रहेको र ६ वटा बनाउनु परे पोखरा र लेखनाथलाई गाभ्नुको विकल्प नभएको दलहरुको धारणा छ । स्थानीय प्राविधिक समिति संयोजक एलडिओ दामोदर भण्डारीले दलहरुसँगको छलफलका क्रममा पहिलाको खाका नम्बर १ मै धेरैको सहमति देखिएकोले सोही अनुसार सिफारिसको तयारी गरिएको बताए ।जिल्ला तहबाट अन्तिम प्रतिवेदनको लागि आयोगले २० गतेसम्मको समय दिएको छ । २० गते अघि नै कास्कीमा सहमति जुटाएर प्रतिवेदन पठाइने जानकारी भण्डारीले दिए । ६ वटा तह बनाउनु परे पोखरा–लेखनाथ महानगरपालिका हुने, लेखनाथमा आउन चाहेका रुपाकोट, सिद्ध, थुम्की, देउराली र हंसपुर जोडेर रुपा गाउँ पालिका बनाउने प्रस्ताव पनि आएको छ । पोखरामा आउन चाहेका कास्कीकोट चापाकोट र भदौरे तामागीलाई गाभेर भदौरे गाउँपालिकाको पनि बैठकका क्रममा प्रस्तावमा आएको छ ।
तिहारको बिदा लगत्तै समितिको बैठक बसेर अन्तिम सिफारिस गर्ने भएको छ । समिति संयोजक एवं एलडिओ दामोदर भण्डारीले कात्तिक २२ गतेबाट अनिवार्य अवकाश पाउने र समिति सदस्य प्रमुख जिल्ला इन्जिनियर नारायणप्रसाद श्रेष्ठको पनि सरुवा भएकाले छिटै बैठक बसेर टुंगो लगाउनुपर्ने भएको समितिका १ सदस्यले बताए ।
