
पोखरा, २७ मंसिर-
नेपालमा विभिन्न खाले प्रतियोगिताहरु आयोजना भईरहेका छन् । प्रायः आयोजकको एउटै लक्ष्य प्रतियोगिता आयोजना गरेर आर्थिक जोहो गर्ने नै भेटिन्छ । अहिले हुने विभिन्न ईभेण्ट तथा प्रतियोगिताहरुमा एसएमएस भोटिङकै चलन छ । तर, पोखरामा यस्तो कार्यक्रम आयोजना हुन लागेको छ, जसले एसएमएस भोटिङलाई पुरै बेवास्ता गर्दै निर्देशकलाई समेत हालसम्मकै सर्वाधिक पुरस्कार राशीले पुरस्कृत गरिनेछ । सो अवसरमा स्रष्टा सम्मान समेत गरिनेछ ।
नेपालका विभिन्न क्षेत्रमा नाचिने लोक नृत्यलाई पोखरामा देखाउन लागिएको हो । यसमध्ये पनि उत्कृष्टले मात्र मञ्चमा स्थान पाउनेछ । अनुशिलन कला पाठशालाको आयोजनामा ‘लोक मञ्च’ नाम दिएर यो प्रतियोगिता हुन लागेको हो । आयोजकका अनुसार यस्तो खाले वृहत लोक नृत्य प्रतियोगिता नेपालमै पहिलोपटक हुन लागेको हो । र, यो प्रतियोगिताको राशि नेपालमा अहिलेसम्मकै बढी हो ।
पाठशालाका प्रमुख गोरे गुरुङका अनुसार विभिन्न १९ टोली अहिले मञ्चमा आफ्नो सांस्कृतिक कला प्रदर्शनका लागि तयार छन् । मंसिर १७ गते पोखरा सभागृहमा अडिसनमार्फत मुलुभरका २९ टोलीबाट उत्कृष्ट १९ छनौट गरिएको उनले जनाए । प्रतियोगितामा नेपालको पुर्व देखि पश्चिमसम्मका विभिन्न प्रकारका लोकनृत्यहरु समावेश हुनेछन् । फाईनल पुस २ गते पोखरा सभागृहमा हुनेछ ।
प्रतियोगितामा प्रथम हुने नृत्य समूहले १ लाख, दोस्रोले ५० हजार र तृतियले २५ हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् । त्यस्तै तीन वटा समूहलाई सान्त्वना पुरस्कार स्वरुप १०/१० हजार दिईने आयोजकले बताएको छ । प्रतियोगिताभर एक जना सर्वोत्कृष्ट नृत्य निर्देशकलाई यामाहा स्कुटर तथा उत्कृष्ट ५ निर्देशकले १०/१० हजार प्रदान गरिने आयोजकले बताएको छ । प्रतियोगिताका लागि करिब १४ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।
सो अवसरमा संस्कृति, संगीत र नृत्य विधाका पोखरेली श्रष्टाहरु पदमराज ढकाल, धनबहादुर गायक र बुद्धि गुरुङ (गौरी) लाई जनही ५१ हजार सहित सम्मान गरिने गुरुङले जानकारी दिए ।
पछिल्लो समय एसएमएस भोटिङमार्फत विजेता छनौट गरिने प्रचलन आएपनि यसलाई निषेध गरिएको आयोजकले प्रस्ट्याएको छ । ‘भोटिङ सिस्टमले राम्रो भन्दा पनि हाम्रोले जित्ने हुँदा राम्राहरु पछाडि पर्ने भएकाले यो प्रकृया नअपनाएका हौँ।’ प्रतियोगिताका सँयोजक समेत रहेका गुरुङले भने– ‘बरु हामीले सम्पूर्ण प्रदेशका एक/एक जना अग्रज व्यक्तिलाई निर्णायकको रुपमा राख्नेछौँ ।’
प्रतियोगिता हेर्न प्रवेश शुल्क तीन सय रुपैंया तोकिएको छ । प्रतियोगितामा भाग लिनको लागि २५ सय दर्ता शुल्क तोकिएको थियो । कार्यक्रमको मिडिया पार्टनरमा आदर्श समाज राष्ट्रिय दैनिकका साथै गण्डकी टेलिभिजन, माछापुच्छ«े एफएम छन् । कार्यक्रम सम्पन्नार्थ अनुशीलन परिवार यूएईले मुख्य प्रायोजन तथा सांस्कृति संस्थान नेपालले सहप्रायोजन गरेका छन् । प्रायोजकहरुमा अनुशीलन परिवार यूके र एचके, बेसलाईन एकेडेमी, बालकल्याण्ड स्कूल, नोवेल ईन्टरनेशनल स्कुल, डायमन्ड उमावि, कञ्चनजंघा एकेडेमिक र गुरुकुल विद्याश्रम लेखनाथ, कास्की मोर्डनाईज्ड, फिस्टेल, केफ, स्टेपबाई स्टेप उच्च मावि छन् ।
