अपाङ्गताको पीडा विषयक ३५ मिनेट लामो वृत्तचित्र प्रर्दशन गरिने

Share:

पोखरा, २७ मंसिर-
सबै अपाङ्गले सम्मानपूर्वक बाँच्न पाउनुपर्छ भन्ने उद्देश्यका साथ अपाङ्ग मैत्री पवित्र सेवा संघ काठमाडौंले तयार पारेको अपाङ्गताको पीडा विषयक वृत्तचित्र प्रदर्शन गरिने भएको छ ।
कास्की, मुस्ताङ, म्याग्दी, लुम्बिनी, काठमाडौंलगायतका जिल्लामा अपाङ्ग भई सडकमै कष्टकर जीवन बिताउँदै आएका पात्रलाई कैद गरी ३५ मिनेटको वृत्तचित्र तयार पारिएको संघका अध्यक्ष रामबहाुदर रसाइलीले बताए ।
छन्त्याल समाज घर नदीपुरमा प्रर्दशन गरिने उक्त वृत्तचित्र निर्माणका लागि झण्डै एक वर्षको समय र तीन लाख लागत लागेको संघका सचिव टेकप्रसाद लामगाडेले बताए । सम्पूर्ण सहयोगी दाताको शुभेच्छा, शुभकामनाबाट वृत्तचित्र तयार भएको र एक पटक हेरेर सबैलाई सहयोग गर्नका लागि संस्थाले अपिल गरेको छ ।
उक्त वृत्तचित्रमा सुमन श्रापितको कथा, बीबी अनुरागीको संगीत संयोजन, दिव्या नेपालीको आवाज र प्राध्यापक गणेश बरालको अंग्रेजी रुपान्तरण गरेर सहयोग गरेका छन् । वृत्तचित्र निर्माणमा दालमति लामगाडे, टेकप्रसाद लामगाडे, ज्ञानबहादुर छन्त्याल, सपना रसाइलीलगायतको भूमीका पनि रहेको छ ।
२०७२ सालमा स्थापना भएको उक्त संस्थाले अपाङ्गता भएकाहरुको हकहितका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्
Share: