विलासी जीवनशैलीकै कारण नेपालीको स्वास्थ्य समस्या बढ्दो

Share:

श्यामशितल परियार
लमजुङ, ८ पुस-
विलासी जीवनशैलीकै कारण स्वास्थ्य समस्या बढ्दै गएको सरोकारवालाहरुले बताएका छन् । आधुनिक विलासी जीवनशैली, असन्तुलित खानपिन नै रोगको प्रमुख कारण रहेको उनीहरुले भनेका छन् । सुन्दरबजारस्थित कर्मदा हस्पिटल प्रांगणमा आयोजित एम्बुलेन्स उद्घाटन समारोहमा बोल्दै उनीहरुले यस्तो बताएका हुन् ।
बदलिँदो आधुनिक जीवनशैलीकै कारण मधूमेहको समस्या बढ्दै गएको कर्मदा हस्पिटलका डा. मधुसुदन पाण्डेले बताउनुभयो । उहाँले बताएअनुसार विश्वमा २२ करोड बढि मधूमेहका बिरामी छन् । ‘आफु कार्यरत हस्पिटलमा दैनिक जेकजाँचका लागि आउनेमध्ये करिब पचास प्रतिशतभन्दा बढि मधूमेहकै बिरामी हुन्छन्,’ उहाँले भन्नुभयो ।
मधूमेहका कारण ज्यानै जान सक्ने हुँदा नियमित जाँच गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँका अनुसार नेपालमा ४० वर्ष माथिका २० प्रतिशत र ४० वर्षमुनिका १५ प्रतिशत मधूमेहका रोगी छन् । खानपिनमा सुधार गर्न सकेको खण्डमा यसलाई नियन्त्रण गर्न सकिन्छ ।
यसैगरी, जिल्ला जनस्वास्थ्य कार्यालय लमजुङका प्रमुख एवम् जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाइँले नसर्ने रोगको प्रकोप बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । स्वस्थ्य जीवनशैली अपनाई सन्तुलित खानपिनमा जोड दिनुपर्ने उहाँको सुझाव छ । उहाँका अनुसार स्वास्थ्य समस्यालाई न्युनिकरण गर्न जनचेतनाको खाँचो छ ।
स्थानीय समाजसेवी धु्रव बहादुर कुवँरका अनुसार आहारविहार र विचारमा ध्यान दिन सके केही हदसम्म रोग लाग्नबाट बच्न सकिन्छ । ‘आहार विहार र विचारमा ध्यान दिन सके शारीरिक/मानशिक रोगबाट बच्न सकिन्छ,’ उहाँले भन्नुभयो ।

कमेन्ट गर्नुहोस्
Share: