
पुस १५ गते-
बेलायतको साँगीतिक भ्रमणमा रहेका बिग आइकन साजन आले लण्डन आसपासमा आयोजित विभिन्न कार्यक्रममा आफ्नो प्रस्तुती दिने क्रममा निकै व्यस्त रहेका छन् ।
पहिलोपटक लण्डन पुगेका आलेले आफ्नो गायन कौशलका कारण त्यहाँका दर्शक, श्रोतामाझ गतिलो प्रभाव छोड्न सफल भएका छन् ।
द ब्रिटिश कलेज र नेपालीपत्रको निमन्त्रणामा यहि डिसेम्बर १८ तारिखमा लण्डन पुगेका आलेले त्यसको दुईदिन पछि नै प्रवासी मञ्च बेलायतको १२ औं वार्षिकोत्सव समारोहमा प्रस्तुति दिए ।
बेलायतको पहिलो कार्यक्रम नै साजनका लागि निकै सफल रहयो । नेपाली चर्चित गीतहरु प्रस्तुत गरिरहँदा बेलायती सांसदहरुसहितका कार्यक्रमका विशिष्ट अतिथीहरु नै फ्लोरमा उत्रिएर उनलाई साथ दिएका थिए ।
उत्कृष्ट गायनबाट दर्शकहरुलाई निकै प्रभावित पारेका साजनका लागि सिंगो हलले नै ‘वान्स मोर’ भनेपछि केहिबेरमा फेरि उनलाई मञ्चमा बोलाएर थप गीत गाउन लगाइयो ।
त्यसपछि साजनले क्रिसमस इभमा ग्रिनफोर्डस्थित गोर्खा स्पाइस वल्र्डमा प्रस्तुति गरे । साजनको सान्दार प्रस्तुतिमा उनीसंगै गाउने र नाच्ने मात्र होइन, उनीबाट प्रभावित भएर उनलाई नगद पुरस्कार हातमा थमाइदिने पनि धेरै देखिए ।
यहि डिसेम्बर ३० तारिख शुक्रबार साँझ साउथ ह्यारोस्थित गोल्डेनसिप रेष्टुरेन्टमा साजनले गाउनेछन् । ३१ तारिख शनिबारको दिन तमु धि यूकेले रेडिंगमा आयोजना गर्ने ल्होसार कार्यक्रममा पनि उनले गाउँदैछन् । साजनलाई तमु धि यूकेले सम्मान समेत गर्दैछ । जनवरी १ तारिख आइतबार भने साजनले अल्डरसटस्थित निरमाया रोधीघरमा गाउने पक्का भइसकेको छ ।
जनवरी ४ तारिखका सांझ साउथ ईस्ट लण्डनका दर्शकमाझ साजनले प्लमस्टिडको चौतारी रेष्टुरेन्टमा गाउनेछन् जहां चितवन एइड ट्रस्ट (क्याट) यूकेले आफनो जिल्लावासी प्रतिभा साजनलाई सम्मान समेत गर्नेछ ।
पोखरास्थित बिग एफएमले हरेक वर्ष आयोजना गर्ने राष्ट्रिय गायन प्रतियोगितामा हजारौं प्रतिस्पर्धीमाझ उत्कृष्ट छनौट भएका हुन् साजन । बिग आइकनको विजेतालाई काठमाडौंस्थित द ब्रिटिश कलेज र युरोपको नेपालीपत्रले बेलायत भ्रमण गराउने क्रममा साजन र बिग एफएमका अध्यक्ष महेश भण्डारी बेलायत पुगेका हुन् ।
बिग आइकनलाई नेपालमा विगत ६ वर्षदेखि विवादरहित रुपमा लगातार आयोजना भइरहेको एक मात्र राष्ट्रिय गायन प्रतियोगिताका रुपमा लिइन्छ ।
बेलायतका दर्शकबाट वाहवाही पाएपछि पहिलोपटक बेलायत आएका साजन अहिले दंग छन् । “पहिला त कस्तो हुने होला भनेर डर लागेको थियो” साजनले आफ्नो अनुभव सुनाए– “तर यहाँ गाइसकेपछि सबैले धेरै रुचाइदिनुभयो, निकै खुशी लागेको छ ।”
बिग एफएमका अध्यक्ष भण्डारी पनि बेलायतको नेपाली समुदायमा साजनले कमाएको लोकप्रियताबाट निकै खुशी छन् । “बिग आइकनको प्लेटफर्मबाट हामीले प्रतिभाहरुलाई अन्तर्राष्ट्रिय लेभलमा समेत अवसर दिलाउने प्रयास गरेका हौं” भण्डारीले भने, “बिग आइकन विजेता साजनलाई बेलायतबाट मिलेको यति धेरै माया र साथले हामीलाई थप उत्साह र हौसला प्रदान गरेको छ ।”
साजन र भण्डारी जनवरी ५ तारिख नेपाल फर्किनेछन् ।
