
रेम बिक
पोखरा, १५ माघ । सातौँ सँस्करणको बिग आइकन शनिबारदेखि शुरु भएको छ । शनिबार शुरु भएको पहिलो चरणको अडिसन अन्तरगतको पहिलो दिन ६३ जना गायन प्रतिभाहरुले अघिल्लो चरणका लागि ‘ग्रीन कार्ड’ प्राप्त गरेका छन् ।
पहिलो चरणको अडिसन अझै ४ दिनसम्म निरन्तर चल्नेछ । यो पटक बिग आइकनमा ५४ जिल्लाका ११ सय ५२ जना प्रतिस्पर्धीले सहभागिता जनाउँदैछन् । शनिबार भएको पहिलो चरणको अडिसनअन्तरगत सबैभन्दा पहिलो ‘ग्रीन कार्ड’ स्याङ्जाका मोहदत्त काफ्लेले प्राप्त गरे । बिग आइकन छैठौँ सँस्करणका बिजेता साजन आलेले काफ्लेलाई पहिलो ग्रीन कार्ड प्रदान गरे ।
अडिसन शुरु हुनभन्दा अगाडि भएको उद्घाटन समारोहमा बिग एफएमका अध्यक्ष महेश भण्डारीले सम्पूर्ण प्रतिस्पर्धीलाई सफलताको शुभकामना दिए । उनले सम्पूर्ण सहभागी, स्रोता, सुभेच्छुक, एफएमका कर्मचारी र बिज्ञापनदाताकै कारण बिग आइकन सातौँ सँस्करणसम्म आइपुग्न सफल भएको बताए ।
‘यो संगीतको कुम्भमेलाको सफलताका लागि सबैजनाको उत्तिकै साथ र सहयोग आवश्यक हुन्छ ।’ भण्डारीले भने, ‘पोखराकै चिनारीको रुपमा स्थापित भैसकेको बिग आइकनको यो सँस्करणमा हामी सबैबाट यो कुराको अपेक्षा गर्छौँ ।’ करिब दुई महिनासम्म चल्ने बिग आइकनको यो सँस्करण अघिल्ला सँस्करणको तुलनामा अझै बढि बृहत भएको उनले दाबी समेत गरे । त्यस्तै बिग एफएमका कार्यक्रम सँयोजक संजोग बस्यालले बिग आइकनको सफलतासँग पोखरेली साँगीतिक क्षेत्रको भविष्य जोडिने बताए ।
त्यस्तै निर्णायकहरु श्यामसुङ तामाङ, विवेक श्रेष्ठ र सुनील थापाले निष्पक्ष र निडर निर्णयको लागि आफुहरु सँधै तयार भएको बताए । राम्रा प्रतिभालाई छनौट गर्ने कुरामा निर्णायक मण्डल सँधै एकमत रहने उनीहरुले प्रतिबद्धता जनाए ।
उद्घाटन समारोहमा छैठौँ सँस्करणका बिग आइकन बिजेता साजन आलेले आफ्नो अनुभव बाँडेका थिए । बिग आइकन भएपश्चात आफुलाई साँगीतिक क्षेत्रमा अरुले हेर्ने नजरमा धेरै फरक परेको उनको अनुभव थियो । साथै उनले बिग आइकनको उपाधी पाएपश्चात आफुमा धेरै सकारात्मक प्रभाव परेको सुनाए । ‘एउटा सामान्य व्यक्तिलाई सेलिब्रिटी बनाउन सक्ने बिग आइकनको मञ्चको शक्ति छ ।’ उनले भने–‘फर्केर हेर्दा मलाई बिग एफएमको मञ्चले धेरै कुरा दिएको अनुभूत गर्दछु ।’ साजन केहि दिन अगाडि मात्रै बेलायतको साँगीतिक यात्रा गरेर फर्किसकेका छन् ।
यो पटकको बिग आइकन बिजेताले पुरस्कार स्वरुप १ लाख ८५ हजार रुपैयाँ बराबरको स्कुटरसहित बेलायतको साँगीतिक भ्रमण गर्ने अवसर प्राप्त गर्ने एफएमले जनाएको छ । त्यस्तै फस्ट रनरअपले ७५ हजार र सेकेन्ड रनरअपले ५० हजार रुपैयाँ प्राप्त गर्ने पत्रकार सम्मेलनमा जानकारी दिईयो ।
हालसम्म म्याग्दीका गगन पुन, पोखराका सुमन गौतम, सर्लाहीका नबिन काफ्ले, बिरौटाकी मुस्कान रानाभाट, मुस्ताङका कुन्साङ गुरुङ र चितवन पटिहानीका साजन आलेले बिग आइकनको उपाधी चुमिसकेका छन् । यी सबै बिग आइकन बिजेताहरु साँगीतिक फाँटमा क्रियाशिल रहेको बिग एफएमले जनाएको छ ।
यो पटक बिग आइकनको टाइटल स्पोन्सर सामसुङ ग्यालेक्सी जे टु सिक्सले गरेको छ । बिग आइकनको ईन एशोसियसन विथ टाइटलमा कान्साइ पेन्ट्स नेपाल, पावर्ड बाईमा स्यालुट गोर्खा ट्रेनिङ सेन्टर, सपोर्टेड बाईमा पोखरा ट्रेड मल, प्रोमोटेड बाइमा द ब्रिटिश कलेज थापाथली, ब्रट टु यु बाइमा रारा चाउचाउ, मेन–स्पोन्सरमा इम्पल्स इन्टरनेशनल इन्स्टिच्यूट, मिराइ इन्टरनेशनल एडुकेशनल कन्सल्टेन्सी रहेका छन् ।
प्रथम पुरस्कार ‘एमएडब्लू’ इन्टरप्राइजेज प्रालिले गरेको हो । त्यस्तै कार्यक्रमको स्पोन्सरमा यूनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (यूआरएल), को–स्पोन्सरमा पिपलडाली मसला र मिलिजुली डेकोरेशन, बैंकिङ पार्टनरमा ओम डेभलपमेन्ट बैंक, ट्राभल पार्टनरमा जिरो प्वाईन्ट ट्राभल्स एण्ड टुर्स प्रालि रहेका छन् । त्यस्तै आइटी पार्टनरमा कम्यूनिकेट टेक्नोलोजिस, ब्रोडकास्टिङ पार्टनरमा एभिन्यूज टिभी, हस्पिटालिटि पार्टनरमा होटल बाराही, भेन्यू पार्टनरमा रोयल पोखरा रेस्ट्रो एण्ड लाउन्ज बार, विज्ञापन पार्टनरमा परिचय एड्भरटाइजिङ, म्यागेजिन पार्टनरमा वेभ, मिडिया पार्टनरमा कान्तिपुर साप्ताहिक, अनलाइनखबर डटकम र समाधान दैनिक तथा अनलाइन पार्टनरमा जक्शन डटकमले सहकार्य गरेका छन् ।


