पोखरामा कुलमान घिसिङले भने- अर्को वर्ष प्राधिकरण नाफामा जान्छ

Share:

पोखरा, १७ माघ –

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अबको एक वर्षमा विद्युत् प्राधिकरणलाई नाफा कमाउने अवस्थामा पुर्‍याउने बताएका छन् ।

पोखरामा आयोजित नेपाल साहित्य महोत्सवमा घिसिङले अर्को आर्थिक वर्ष सम्ममा प्राधिकरणलाई घाटाबाट निकालेर नाफा कमाउने संस्थाको रुपमा परिणत गर्ने प्रतिबद्धता व्यक्त गरे । त्यही हिसाबले अहिले काम भइरहेको जानकारी दिँदै उनले भने, ‘प्राधिकरणको अहिलेको वार्षिक १२ अर्ब रुपैयाँको घाटा र कुल ३७ अर्बको घाटालाई शून्यमा झारेर यसलाई अझ नाफामा पुर्‍याउने लक्ष्यका साथ काम अगाडि बढिरहेको छ ।’त्यसै क्रममा पहिले विद्युत् चुहावट नियन्त्रणलाई अभियानको रुपमा अगाडि बढाएको घिसिङले बताए ।

अहिले पिक समयमा भारतबाट तीन सय ४० मेगावाट बिजुली आयात भइरहेकोमा बिस्तारै आयात न्यून गराउँदै जाने पनि उनले बताए । तर, कम मूल्यमा आयात भइरहेको अवस्थामा ठूलो लगानी गरेर तत्काल विद्युत् उत्पादन गर्नतिर एकैचोटि जान नसकिने उनले उल्लेख गरे ।

साथै घिसिङले आफू नेतृत्वको प्राधिकरणमा सबै गलत मान्छेहरु मात्र नभएको उल्लेख गरे । मातहतका कर्मचारीलाई कसरी परिचालन गर्ने र कसरी काम गर्ने भन्ने कुरा लिडरसिप र व्यवस्थापनमा पनि निर्भर रहने तर्क गरे । उनले चार महिनाअघि आफू प्राधिकरणमा आएपछि कर्मचारीहरुलाई सबैले राम्रो पर्फमेन्स दिन आग्रह गर्दै पर्फमेन्सकै आधारमा पुरस्कार र दण्ड दिने कुरा बताएको र अहिले सबैले राम्रो काम गरिरहेको बताए ।

कमेन्ट गर्नुहोस्
Share: