
पर्वत, २० माघ-
प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादबले स्थानिय तह वा स्थानिय निकायको निर्वाचन गर्ने भन्ने बारेमा आयोग अन्यौलमा परेको बताएका छन् ।
सरकारले स्थानिय निकायको निर्वाचनको मिति घोषणा गर्ने तयारी गर्दैगर्दा स्थानिय तह वा निकायका बारेमा आयोग अन्यौलमा रहेको उनले बताए । बुधवार पर्वत सदरमुकाम कुश्माबजारमा आयोजित प्रमुख निर्वाचन आयुक्तसँग सरोकारवालाहरुबीचको अन्तरक्रिया कार्यक्रममा डाक्टर यादबले सरकारले निर्वाचनको मिति घोषणा गर्न नसक्दा आयोग अन्यौलमा परेको बताए । निर्वाचन आयोग, सांसद र आम जनता समेत कुन निर्वाचन हुन्छ भन्नेमा अन्यौलमा रहेका छन् यस्तो अवस्था रहिरहनु हुँदैन उहाँले भने ।
अहिले निर्वाचन गर्ने सुनौलो मौका आएको छ उनले भने–‘यस्तो अवस्थामा पनि दलहरुबीच सहमति हुन नसक्नु र निर्वाचनको मिति घोषणा हुन नसक्नु मुलुककै लागि दुर्भाग्य हो । उनले जेठपछि निर्वाचन गर्न समस्याहरु आइपर्ने बताउँदै वैशाख मसान्तभित्रै चुनाव गर्नेगरी मिति घोषणा गर्नुपर्नेमा पनि जोड दिएका छन् ।
उहाँले निर्वाचन गराउनका लागि एक सय २० दिन आवश्यक पर्ने भएपनि सरकारले मिति घोषणा गरेमा ९० दिनमै तयारीगर्न आयोग तयार रहेको उनले ठोकुवा गरे । आयोग स्थानिय तह वा निकाय जुनसुकै निर्वाचन गर्न पनि तयारी अवस्थामा रहेको बताउँदै सरकारको मिति घोषणालाई पर्खिरहेको पनि उनले बताए । स्वच्छ, र निष्पक्ष निर्वाचनको व्यवस्थापन गर्नका न्यूनतम एक सय २० दिन आवश्यक पर्छ, यदि सरकारले ढिलोगरी मिति घोषणा गरेमा पनि हामी ९० दिनभित्रमा पनि सवै तयारी गर्न सक्छौ उनले भने । यद्यपी छोटो समय भयो भने केहि समस्याहरु हुने उनको भनाई थियो ।
आगामि निर्वाचनमा आयोगको आचारसंहिता पालनामा शुन्य सहशिलता अपनाउने बताए । कुनै पार्टी वा उम्मेदवारले आचारसंहिताको उल्लंघन गर्न नदिनका लागि आयोगले आवश्यक व्यवस्थापन गरिसकेको र यदि आचारसंहिताको उल्लंघन गरेको पाइएमा आयोगले आवश्यक कारवाहि प्रकृया अघि बढाउने उनले भने ।
कार्यक्रममा सांसद अर्जुनप्रसाद जोशीले सरकार निर्वाचनको मिति घोषणा गर्ने तयारीमा रहेको बताए । उनले स्थानिय तहकै निर्वाचन गर्नुपर्ने अहिलेको आवश्यकता रहेको बताउँदै सकेसम्म संविधान संशोधन गरेर सहमतिमै निर्वाचनको मिति घोषणा हुने बताए । सो अवसरमा जिल्लामा दल दर्ता गराएका १६ वटा दलका प्रमुख तथा प्रतिनिधि, कर्मचारी, नागरिक समाज तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।
