
रञ्जन अधिकारी पोखरा, २० माघ / काठमाण्डौं बुढानिलकण्ठ स्थित भ्याली पब्लिक स्कूलले १० कक्षामा अध्ययनरत विद्यार्थीलाई लुम्बिनी भ्रमण लैजाने योजना बनायो । विद्यालयले विद्यार्थीलाई पहिले पोखरा घुमाएर लुम्बिनी लैजाने सोच गरेअनुरुप विहीबार बिहानै विद्यालयका कक्षा १० मा अध्ययन गर्ने ९४ जना विद्यार्थी र १० शिक्षक टोली तीन बसमा पोखरा हुईंकिए ।
विद्यालयका प्रशासकीय प्रमुख महेश अधिकारीका अनुसार पोखरा आएपछि टोलीले चमेरेगुफा भ्रमण ग¥यो । त्यसपछि उनीहरु पावरहाउस स्थित झरनामा पुगे र फोटो खिच्ने काममा ब्यस्त भए । ‘सबै जना पावरहाउसको सिढीं अनि झरना वरपर फोटो खिच्न ब्यस्त थिए । सात आठजना बाबुहरु खोलातिर पुगेछन्’ – अधिकारीले भने– ‘त्यसपछि हामी पनि खोज्दै गयौं । पानीमा खेल्दै थिए । बाहिर निस्कने क्रममा पेसल चाहिँ गहिरो भागमा एक्कासी डुबेछ । हामीले खोज्दा भेटेनौं ।’
कक्षाका साथीहरुसँग पोखरा हुँदै लुम्बिनी पुगेर रमाईलो गर्ने सपना साँचेका पेसल घिमिरे फुस्रेखोलामा बेपत्ता छन् । विहीबार दिउँसो साढे चार बजेको समयमा साथीहरुसँग पौडी खेल्ने क्रममा कक्षा १० का छात्र पेसल डुबेर हराईरहेका छन् । सात जना साथीहरुका साथ पानीमा पसेका १६ वर्षीय घिमिरे बाहिर निस्कने क्रममा केहि गहिरो ठाउँमा पुगेपछि हराएको प्रत्यक्षदर्शीले जनाएका छन् । घिमिरे काठमाण्डौ बाँसबारीका हुन् । जाडोको समय, चिसो पानीको परवाह नगरी उनीहरु खोलामा पौडी खेल्न थाले । जुन स्थानमा यसअघि पौडी खेल्ने क्रममा धेरैले ज्यान गुमाईसकेका छन् । उनको खोजी गरिएपनि फेला नपारेको र शुक्रबार बिहान पुनः खोजी गर्ने वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी निरीक्षक मोहनमणि अधिकारीले जानकारी दिए ।
प्रशासकीय प्रमुख अधिकारीले साह्रै दुःखद् घटना भएको भन्दै यसले विद्यालय परिवार अत्यन्त दुःखी भएको जनाए । ‘पेसलको खोजी गरेपछि अब काठमाण्डौं फर्कन्छौं । त्यहाँ झरना हेर्न पहिले पनि गएका हौं । यस्तो होला भन्ने लागेको थिएन । कृपया यस्तो घटना प्रचारप्रसार नगरिदिनुस् ।’ पेसल डुबेर बेपत्ता भएकोबारे प्रिन्सिपल कृष्णप्रसाद अधिकारी मार्फत अभिभावकलाई जानकारी गराईसकिएको छ ।

फुस्रेखोलामा वर्षेनी आधा दर्जन जतिको ज्यान जाने गरेको छ । केहि महिनाअघि प्रहरीले नै चेतावनीयुक्त बोर्ड राखेको थियो । फुस्रेखोलाको त्यो स्थानमा पौडिँदा ज्यान जानेबारे बेखबर रहेकाहरु पौडी खेल्ने क्रममा डुबेर अकालमा ज्यान गुमाउने गरेका छन् ।
