
पोखरा, २० माघ-
पोखरा रंगशाला भित्र झण्डै २१ वर्ष देखिको गाडी सिक्ने थलो विहिवारदेखि पूर्ण रुपमा हटाइएको छ । रंगशालाको जमिन जिल्ला खेलकुद विकास समितिसँग भाडामा लिएर बर्षौदेखि ड्राईभिङ ट्रेनिङ सेन्टरको रुपमा प्रयोग गरिदै आएको थियो ।
विहिवार सो क्षेत्रमा सवारी प्रशिक्षणका लागि बनाइएका सम्पूर्ण संरचना डोजर लगाएर भत्काइएको क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले बताए । रंगशालाबाट सवारी प्रशिक्षण नहटाउन आएको दवावलाई वास्ता नगरी संरचना भत्काइएको हो ।
यसअघि सातौ राष्ट्रिय खेलकुद अन्तर्गत टेनिस प्रतियोगिता पोखरामा आयोजना गरिए पछि १५ दिनका लागि बन्द गरिएको प्रशिक्षण पुन सुरु भएको थियो । ड्राईभिङले धुलो उडाउने भए पछि टेवुल टेनिस खेल्ने खेलाडीलाई असर गरेको भन्दै विरोध भएको थियो ।
ड्राईभिङ स्कुल संघ गण्डकीले जिल्ला खेलकुद विकास समितिसँग सम्झौता गरी मासिक करिब ५० हजार भाडा तिरेर सो स्थानलाई ड्राईभिङ ट्रेनिङ सेन्टरको रुपमा प्रयोग गर्दै आएको थियो । सम्झौता आगामी २०७५ असार मसान्त सम्म भए पनि हटाइएको पौडेलले बताएका छन् ।
सो स्थानमा शनिवार वाहेक अन्य दिन विहान पाँच देखि साझ ६ बजेसम्म ५० भन्दा वढी मोटरसाइकल र ३० वटा कारले निरन्तर सवारी प्रशिक्षण गराउदै आएका थिए । रंगशाला भित्र झण्डै २६ वटा व्यवसायिक ड्राइभिङ सेन्टरले प्रशिक्षण गराउने गरेका थिए ।
