पृथ्वीनारायण क्याम्पसमा स्ववियु चुनावको रन्को, बिहान अनेरास्ववियूभित्र कुटाकुट, दिउँसो नेविसंघबीच नै तनाव

Share:

रञ्जन अधिकारी पोखरा, २८ माघ / पृथ्वीनारायण क्याम्पसमा नेवि संघ एकाई सभापति छनौट गर्ने विषयमा विद्यार्थीबीच झडप भएको छ । दुवै पक्षले आफ्नो हुनुपर्ने जिकिर गरेपछि बिहीबार दिउँसो झडपकै अवस्था आएको हो । पटकपटक हात हालाहालको अवस्था उत्पन्न भएको थियो ।

क्याम्पस गेट नजिकै एक होटलभित्र र बाहिर दुई पक्ष विवादमा उत्रेका हुन् । देउवा पक्षका नेविसंघ केन्द्रिय सदस्यहरु देवकृष्ण पराजुली, गोपाल गुरुङ सहित भानु ढकाल क्याम्पस गेट पुगेर एकाई सभापति घोषणा कार्यक्रम गर्ने बेला तनाव भएको हो । बिहान अखिलका विद्यार्थीहरु नै कुटाकुटमा उत्रँदा ८ जना घाईते भएका थिए ।

पछिल्लो पटक कार्यबाहक सभापति समेत बनेका बालकृष्ण सापकोटा, दिनेश शर्मा लगायतले विधिसम्मत् ढंगले सभापति चुनिनुपर्ने अडान लिएपछि वातावरण असहज बनेको थियो । सापकोटा रामचन्द्र पौडेल पक्षधर हुन् ।

केन्द्रिय सदस्यहरु ढकाल, पराजुली, गुरुङ र पुनम भट्टले निर्णय गरेर क्याम्पस एकाई सभापतिमा दिपक शर्मा वाग्लेलाई चयन गरेको जानकारी गराएका थिए । क्याम्पस गेटमा एक कार्यक्रमबीच नै वाग्लेलाई सभापतिको जिम्मेवारी दिईएको पत्र हस्तान्तरण गरिएको थियो । वाग्लेलाई कुनै हालतमा सभापति नमान्ने भन्दै रामचन्द्र पौडेल पक्षधरले विरोध जनाएका छन् ।

यसैबीच, पौडेल पक्षधर केन्द्रिय सदस्यद्वय रामप्रसाद अधिकारी र मिलन आले, नेवि संघ जिल्ला सभापति परशुराम बस्नेत र विद्यार्थी नेता पशुपति भट्टराई सहितले कार्यवाहक सभापति पनि भएको भन्दै बालकृष्ण सापकोटालाई सभापतिको जिम्मेवारी दिएका छन् ।

सापकोटाले विहीबार दिउँसो केन्द्रिय सदस्य ढकालबाट दुव्र्यवहार भएको, ज्यानमार्ने धम्की दिईएको र पोखराबाट धपाउने भन्दै धम्क्याएकोले जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएको जानकारी दिएका छन् । उनले सभापतिको आकांक्षी मात्रै ६१ जना भएको बेला यसरी खल्तीबाट सुटुक्क एकजनालाई बनाईएको गुनासो पनि गरे ।

यस सम्बन्धमा केन्द्रिय सदस्य ढकालले भने दुई वर्ष देखि नै कार्यसमिति नभएको अवस्थामा कार्यवाहक कोहि पनि नरहेको, जिल्ला समिति पनि खाली रहेकाले बस्नेत पनि जिल्ला सभापति नभएको भन्दै केन्द्रिय सभापतिको निर्देशामा कास्कीका चार केन्द्रिय सदस्यलाई जिम्मेवारी दिईए बमोजिम आधिकारीक रुपमा वाग्ले चयन गरिएको बताए ।

ढकालले सापबोटा पिएनमा भर्ना पनि नभएकाले उनी त्यहाँको विद्यार्थी नेता हुन नसक्ने भन्दै स्ववियू सभापति टिकट दिँदा सबै पक्षसँग छलफल गरिने र व्यक्तिगत लान्छनाको कुरा आफू जस्तो जिम्मेवार मान्छेले नगर्ने बताए । उनले २४ घण्टाभित्रै यो समस्या हल गर्ने पनि जनाए ।

कमेन्ट गर्नुहोस्
Share: