
श्यामशितल परियार
लमजुङ, १९ फागुन-
सुन्दरबजार नगरपालिका ५ पाउँदीका व्यावसायिक गाईपालक किसान धु्रव पोख्रेलले दूध बिक्रीबाट मासिक ३ लाख बढि आम्दानी गर्दै आएका छन् । एउटा गाईबाट शुरु भएको उनको जगतमाया गाई फार्ममा अहिले साना ठुला गरी ५४ भन्दा बढि उन्नत जातका गाई रहेका छन् । दुहुना गाई २१ वटा र ब्याउने गाई ४ वटा छन् । अन्य बाच्छाबाच्छी रहेका छन् ।
उनको फार्ममा जर्सी क्रस र होलेस्टेन क्रस जातका गाई रहेका छन् । आधुनिक गाईगोठ निर्माण र गाई खरिदमा मात्रै ३१ लाख खर्च भएको उनले बताए । उनको गाई फार्मवाट हाल दैनिक २ सय लिटर बढि दूध उत्पादन हुन्छ । उनले प्रतिलिटर ५० रुपैयाँका दरले दूध बिक्री गर्छन् । दूध बिक्रीबाट उनले दैनिक १० हजार आम्दानी गर्छन् ।
उनले फार्मबाट उत्पादित दूध गोर्खास्थित पालुङटारमा रहेको एब्नम डेरीलाई बेच्दै आएका छन् । गाईफार्मममा ३ जनाले प्रत्यक्ष रोजगारी समेत पाएका छन् । गाईगोठमा धु्रवसंगै उनकी श्रीमति जानुका तिवारी पनि हरदम खटिरहन्छिन् । ‘दूध बिक्रीबाट मासिक ३ लाख बढि आम्दानी हुन्छ,’ उनले भनिन् ।
गाईलाई दाना चोकर हाल्नुभन्दा घाँस खुवाएर पाल्न सजिलो हुने गाईपालक कृषकहरुको अनुभव छ । उनका अनुसार अहिले घाँसको अभाव छ ।
