
रञ्जन अधिकारी पोखरा, १९ फागुन / स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनबाट पोखराका क्याम्पसहरुमा नेविसंघको प्यानल अगाडी देखिएको छ । बुधबारको चुनावमा जनप्रिय क्याम्पस, विन्दुबासिनी संस्कृत विद्यापीठ र चिकित्सा शास्त्र अध्ययन संस्थानमा नेविसंघको प्यानल बिजयी भएको छ भने वन विज्ञान अध्ययन संस्थानमा अनेरास्ववियुको प्यानल बिजयी भयो ।
जनप्रिय बहुमुखी क्याम्पस
जनप्रिय बहुमुखी क्याम्पसमा कोषाध्यक्षबाहेकका सबै पदमा नेवि संघको संयुक्त प्यानल विजयी भएको छ। नेवि संघ संयुक्त प्यानलबाट सभापतिमा छ सय ५० मतसहित आशीक गुरुङ विजयी भएका भए। उनका प्रतिद्वन्द्वी अनेरास्ववियुका विनोद भण्डारीले चार सय ९३ मत ल्याए। अखिल क्रान्तिकारीका विशाल तामाङ ६२, विप्लव निकट क्रान्तिकारीका हरि पौडेल रोहितले ३९ मत प्राप्त गरे।
सचिवमा संयुक्त प्यानलका ध्रुवराज अधिकारी छ सय ४७ मतसहित विजयी भए। उनका प्रतिद्वन्द्वी अनेरास्ववियुका सुनिल पोखरेलले चार सय ७५, अखिल क्रान्तिकारीका इश्वर पौडेलले ६४ र विप्लव निकट अखिल क्रान्तिकारीका उमा खत्रीले ४७ मत ल्याइन्।कोषाध्यक्षमा अनेरास्ववियुकी करुणा गुरुङले पाँच सय ७५ ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी संयुक्त प्यानलका सचिन रानाभाटले पाँच सय २०, अखिल क्रान्तिकारीका मनु थापाले ८५ र विप्लव निकट अखिल क्रान्तिकारीका सन्देश बरालले ४८ मत ल्याए।
सदस्यमा संयुक्त प्यानलबाट सविना तिमिल्सिना ५९१, सुशान्त बाटाजु ५९०, किशोर भण्डारी ६१५, सागर रेग्मी ६०८, नवीन पौड्याल ५९१, सुमित्रा पौडेल ५७१, सम्राट पौडेल ५३६ विजयी भए। सदस्यमा पराजित अनेरास्ववियुका सपना सुवेदी ५२७, प्रमिला आचार्य ५२२, विनय पराजुली ५२१, सविना विक ४९०, शिव पराजुली ४८३, राजु तिमिल्सिना ४७३ र एकराज आचायले ४५८ मत ल्याए।
अखिल क्रान्तिकारीका सन्देश श्रेष्ठ ९१, सन्देश गुरुङ ८९, शंकर क्षेत्री ७४, मेखबहादुर गुरुङ ७४, स्नेहा पौडेल ७४, राजेश वाइवा ६७ र रविन आचार्यले ६४ मत ल्याए। विप्लव निकट अखिल क्रान्तिकारीका सुजन राना ७२, दीपा गुरुङ ६४, अजयप्रताप गुरुङ ५९,सविन खड्का ५५, अनु राई ५१, सुष्मा पौडेल ४८ र सुजन गैहेले ४४ मत ल्याए। क्याम्पसमा पहिलो पटक भएको स्ववियु निर्वाचनमा दुर्इ हजार दुर्इ सय ८९ मतदाता रहेकोमा मतदान प्रक्रियामा एक हजार दुर्इ सय ७५ जनाले भाग लिएका थिए।
विन्दुवासिनी संस्कृत विद्यापीठ
प्राप्त मतपरिणाम अनुसार पोखराको विन्दुवासिनी संस्कृत विद्यापीठमा नेविसंघको प्यानल नै बिजयी भएको छ । सभापतिमा नेविसंघका केशव आचार्य ५९ मतका साथ बिजयी हुँदा उनका प्रतिद्धन्द्धी संयुक्त प्यानलका गोपाल गौतमले ३४ मत पाए । यस्तै सचिवमा तारा पराजुली र कोषाध्यक्षमा भरत पोख्रेल चयन भए । दुवैजना नेविसंघ प्यानलका हुन् । सचिव तर्फ पराजुलीले ६० मत प्राप्त गर्दा उनका प्रतिद्धन्द्धी सूर्यप्रसाद पौडेलले ३३ र कोषाध्यक्षतर्फ पोखरेलले ६१ मत प्राप्त गर्दा प्रतिद्धन्द्धी मिनराज पौडेलले ३२ मत पाए । सदस्यमा पनि नेविसंघ प्यानलका गोकर्ण अर्याल, दिनेश वाग्ले र देवेन्द्र उपाध्याय क्रमशः ६२, ६१ र ६२ मत प्राप्त गर्दै बिजयी भएका छन् । संयुक्त प्यानलबाट सदस्यमा उम्मेदवार बनेका अमृत पौडेलले २९, डानिश्वर न्यौपानेले ३३ र पुरुषोत्तम खतिवडाले २८ मत प्राप्त गरेका थिए ।
समानुपातिकतर्फ नेविसंघले ६२ र संयुक्त प्यानलको ३२ मत छ । समानुपातिक मत परिणाम अनुसार नेविसंघले २ सदस्य र संयुक्त प्यानलले ३ सदस्य थप गर्न पाउने निर्वाचन अधिकृत आनन्दमणी रिमालले जानकारी दिए । संस्कृत विद्यापीठमा अनेरास्ववियु, अखिल क्रान्तिकारी र प्राज्ञिक विद्यार्थी परिषद्ले संयुक्त प्यानल खडा गरेका थिए भने नेपाल विद्यार्थी संगठन एक्लै सहभागी भएको थियो । १ सय २ मतदाता भएको संस्कृत बिद्यापीठमा ९४ मत खसेको थियो । यस अघिका ७ वटै चुनावमा नेविसंघले नै जीतेको थियो ।
चिकित्सा शास्त्र अध्ययन संस्थान
यस्तै ११ पटकसम्म एकछत्र राज गरेको अनेरास्ववियुको निरन्तरतालाई भंग गर्दै चिकित्सा शास्त्र अध्ययन संस्थानमा पनि नेविसंको प्यानलले जीत हात पारेको छ । नेविसंघकी अनामिका राज्यलक्ष्मी बस्नेत १ सय २८ मतका साथ बिजयी हुँदा प्रतिश्पर्धी अनेरास्ववियुका विष्णु देवकोटाले १ सय १८ मत प्राप्त गरेका थिए । सचिवमा बर्षा भुजेलको १ सय २७ मत आउँदा एलिश राना १ सय १८ मतमा चित्त बुझाउन बाध्य भए । कोषाध्यक्ष तर्फ पनि आरती जिसीले १ सय ३२ मत ल्याउँदा संगीता भट्टराईको १ सय ११ मत आयो । सदस्यहरुमा दीक्षा कोइराला (१२६), अनिता बस्नेत (१४१), दर्शना माकाजु (१२८), सुनिता तामाङ (१२७) र जेसिका सिजापति (१२२) बिजयी भए । अनेरास्ववियुको प्यानलबाट सदस्यमा उम्मेदवार बनेका ममता शर्मा (११६), दीक्षा कुवँर (११५), एलिशा श्रेष्ठ (११२), पुष्पा थकाली (१२०) र सुदिपा रिजाल (१०७) पराजीत भए । समानुपातिक तर्फ नेविसंघले १ सय २८ मत प्राप्त गर्दा अनेरास्ववियुले १ सय १६ मत पायो ।
वन विज्ञान अध्ययन संस्थान
उता वन विज्ञान अध्ययन संस्थानमा अनेरास्ववियुको प्यानल बिजयी भयो । अनेरास्ववियुका विशाल अर्यालले १ सय ४० मत पाउँदा उनका निकटतम प्रतिद्धन्द्धी रमेश बोगटीले १ सय १९ र अखिल क्रान्तिकारीका रोहितराज झाले ६८ मत ल्याए । सचिवमा अनेरास्ववियुकै सञ्जय तामाङले १ सय ४० मत पाए भने नेविसंघका क्षितिज पौडेलले १ सय २० र अखिल क्रान्तिकारिका योगेश पन्तले ६६ मत प्राप्त गरेका छन् । १ सय ३८ मतका साथ अनेरास्ववियुकी प्रतिभा जिसी बिजयी हुँदा नेविसंघकी विनिता कार्कीले १ सय १६ र अखिल क्रान्तिकारीकी सोनम भट्टराईले ७० मत ल्याईन् ।
सदस्यहरुमा प्रबेश अधिकारी (१३९), साधना रानाभाट (१४०), सुस्मीता गौतम (१२६), भरत रेग्मी (१४७) र सुरज भट्ट (१३७) बिजयी भए । नेविसंघका प्रशान्त श्रेष्ठ (११२), सुनिल सुवेदी (१२३), प्रज्ञा खनाल (११२), देवेन्द्र ढकाल (१२१) र सुजित खनाल (१२४) मत प्राप्त गरेपनि बिजयी हुन सकेनन् । उता अखिल क्रान्तिकारीबाट सदस्यमा उम्मेदवार बनेका निरञ्जन पौडेलले ६९, आभास पौडेलले ६३, भूमी थारु ८०, बालकृष्ण पण्डित ५८ र समिक्षा अर्यालले ६९ मत प्राप्त गरिन् ।३ सय ४८ मतदाता रहेको वन विज्ञान अध्ययन संस्थानमा ३ सय २७ मत खसेको थियो । यसअघिका १२ चुनाव मध्ये १० पटक अनेरास्ववियु र २ पटक नेविसंघले नेतृत्वमा कब्जा जमाएको थियो । क्याम्पसमा २०४८ देखि चुनाव हुन थालेको हो ।
बुधबारको चुनाव शान्तिपूर्ण रुपमा सकिएको निर्वाचन अधिकृतहरुले जनाएका छन् । आफ्ना उम्मेदवारलाई हौसला बढाउने काम गरेपनि विपक्षी विरुद्ध कसैले पनि असभ्य ब्यवहार नदेखाएका उनीहरुले बताए । चुनाव अबधीभर सबै विद्यार्थी संगठनका माउ पार्टीका नेता कार्यकर्ताहरु पनि क्याम्पस पुगेर उम्मेदवारलाई सघाएका थिए ।
यसैबीच, चिकित्सा सास्त्र अध्ययन संस्थानमा नेविसंघको प्यानल बिजयी भएपछि निस्किएको ¥यालीमा ढुंगा प्रहार हुँदा एकजना घाईते भएका छन् । घाईते हुनेमा पृथ्वीनारायण क्याम्पसका स्ववियु परिचालन प्रचार प्रसार समिति संयोजक सागर सापकोटा घाईते भएका नेविसंघ केन्द्रिय सदस्य भानु ढकालले जानकारी दिए ।
पश्चिमाञ्चलकै सबैभन्दा ठूलो क्याम्पस पृथ्वीनारायण क्याम्पसमा पूर्व निर्धारित बुधबारको स्ववियु चुनाव हुन सकेन । अखिल क्रान्तिकारीको अवरोधले रोकिएको चुनाव फागुन २५ गते हुने भएको छ । विज्ञान संकायका विद्यार्थीको परिचयपत्र चोरी भएको भन्दै अखिल क्रान्तिकारीले क्याम्पसमा तालाबन्दी गरेपछि क्याम्पस प्रशासनले सूचना जारी गरी चुनाव स्थगित भएको जानकारी गराएको थियो । चुनावको मुखमा कुनै संगठनले क्याम्पसमै तालाबन्दी गरेपछि चुनाव गर्न सक्ने स्थिती नभएकाले स्थगित गरिएको क्याम्पस प्रमुख प्रा. डा. देवेन्द्रबहादुर लामिछानेले जानकारी दिए । अखिलले आइतबारदेखि क्याम्पसमा तालाबन्दी गरेको थियो । तालाबन्दी बुधबार खुलेपछि त्रिविले बैठक बसेर २५ गते चुनाव हुने गरी नयाँ मिति सार्वजनिक गरेको हो । पिएन क्याम्पसमा अनेरास्ववियू, नेविसंघ र नयाँ शक्ति विद्यार्थीको संयुक्त प्यानल, अखिल क्रान्तिकारीका साथै अनेरास्ववियू क्रान्तिकारी (विप्लव) र राष्ट्रिय जनमोर्चा निकट अखिल छैटौं पनि उम्मेदवार मनोनयन गरिसकेका छन् । क्याम्पसमा आठ हजार १६ मतदाता छन् । यसअघिका सबै २३ पटकको निर्वाचनमा अनेरास्ववियूले नेतृत्वमा कब्जा जमाएको छ ।
नेरास्ववियूले पृथ्वीनारायण क्याम्पसमा सरिता पुरीलाई स्ववियू सभापतिको उम्मेदवार बनाएको छ । पृथ्वीनारायण क्याम्पसमा काँग्रेस निकट नेवि संघ र नयाँ शक्ति पार्टी अन्तर्गतको विद्यार्थी यूनियन संयुक्त प्यानलमा राजेश हमाल (रेशम) सभापतिमा उठेका छन् । अखिल (क्रान्तिकारी) ले स्ववियू सभापतिको उम्मेदवारका रुपमा प्रविणा अधिकारीलाई उभ्याएको छ । विप्लव नेतृत्वको नेकपा माओवादी निकट अनेरास्ववियू क्रान्तिकारीले मिलन राईलाई सभापति बनाएको छ । अखिल छैटौंका तर्फबाटसभापति पदमा प्रताप पौडेल चुनावी मैदानमा छन् ।
