
पोखरा, १० चैत-
जिम्बाब्बेको साना तथा मझौला उद्यम र सहकारी मन्त्री सिथेम्बिसो न्योनीको नेतृत्वमा आएको प्रतिनिधीमण्डलसँग विहीबार पोखरा उद्योग वाणिज्य संघले स्वागत तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाली साना तथा मझौला उद्यम तथा सहकारीको प्रगतिबारे जानकारी लिन संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको एक्सचेन्ज कार्यक्रम अन्तर्गत आएको प्रतिनिधीमण्डललाई स्वागत गर्दै संघका अध्यक्ष विश्वशंकर पालिखेले पोखराको समग्र आर्थिक अवस्था र पोखरा उद्योग वाणिज्य संघका गतिविधीबारे प्रकाश पार्नुभयो ।
पोखरा उद्योग वाणिज्य संघले साना तथा मझौला व्यवसायको उत्थानको लागि तालीमका अलावा नीतिगत पैरवी गर्दै आएको बताउँदै अध्यक्ष पालिखेले ‘सामाजिक उत्तरदायित्व सहितको व्यवसाय’ को अवधारणा नै पोखराबाट सुरु भएको बताउनुभयो । जिम्बाब्बेले पछिल्ला दिनमा आत्मसात गरेको साना व्यवसाय प्रवद्र्धनको अवधारणाबाट नेपालले पनि लाभ लिन सक्ने उहाँको भनाई थियो ।
कार्यक्रममा बोल्दै जिम्बाब्बेकी साना तथा मझौला उद्यम र सहकारी मन्त्री सिथेम्बिसो न्योनीले स्थानीय उत्पादनलाई विश्व बजारमा पु¥याउन नसके देश सधैँ गरिब रहने बताइन् । ‘स्थानीय उत्पादन पनि अन्तर्राष्ट्रिय खेलाडी बन्न सक्छ, त्यसको लागि हामीले योजनागत रुपले काम गरिरहेका छौँ’, उनले भनिन्,‘ महिला सहभागिता सहितको समावेशी अर्थतन्त्रले मात्र यो सम्भव छ भन्ने हामीले सोचेका छौँ ।’
साना उत्पादनहरुसँग ठूलो बजारमा हराउन सक्ने वा सानो तर सुन्दर बनेर चम्कने दुबै सम्भावना रहेको उनको टिप्पणी थियो । अर्थतन्त्रमा ठूलो उतार चढाव व्यहोरे पनि जिम्बाब्बेले पछिल्लो समयमा समावेशी अर्थतन्त्र निर्माणको बाटोमा अगाडि बढेको बताउँदै उनले साना तथा मझौला व्यवसायले जिम्बाब्बेमा रोजगारी सृजनाका साथै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सघाएको जानकारी दिइन् ।
पोखरा उद्योग वाणिज्य संघका उपमहासचिव अर्जुन पोखरेलले संचालन गर्नु भएको कार्यक्रममा जिम्बाब्बेको प्रतिनिधीमण्डलमा सहभागि तथा पोखरा उद्योग वाणिज्य संघका पदाधिकारी, कार्यसमिति सदस्य एवं युनडिपी जिम्बाब्बेका सल्लाहकार हिमा खड्का लगायतले आ–आफ्ना धारणा राख्नुभएको थियो ।
