
चैत्र १०, पोखरा-
पोखरा लेखनाथ महानगरपालिका कार्यालयले टोखा नगरपालिका काठमाडौंमा सरुवा भएका पोखरा लेखनाथ महानगरपालिकाका कार्यकारी अधिकृत नवराज ढुङ्गानाको बिहिबार एक कार्यक्रमको आयोजना गरि विदाई गरेको छ । ढुङ्गानाको गत चैत्र ४ गते सरुवा भएको थियो ।
गत असोज १९ गते साविक पोखरा उप–महानगरपालिका कार्यालयको कार्यकारी अधिकृतका रुपमा पोखरा आएका कार्यकारी अधिकृत ढुङ्गानालाई तालुक मन्त्रालयले लेखनाथ नगरपालिका कार्यालयको समेत जिम्मेवारी सुम्पिएको थियो । नेपाल सरकारको गत फागुन २७ गतेको निर्णय अनुसार स्थानिय तह कार्यान्वयनमा आएपछि महानगर बनेको पोखराको पहिलो कार्यकारी अधिकृतको रुपमा फागुन ३० गतेदेखि ढुङ्गानाले कार्य गर्दै आएका थिए ।
विदाई समारोहमा बोल्दै महानगरका योजना महाशाखा प्रमुख ई. शारदामोहन काफ्लेले चैत्रभित्रै योजनाका ९० प्रतिशत कार्यहरु सम्पन्न गरेर ढुङ्गानाले नगरपालिकाको इतिहास कायम गरेको बताए । कार्यक्रममा सहभागी नगरस्तरिय राजनीतिक दलका प्रमुख एवम् प्रतिनीधिहरुले ढुङ्गानाले कार्यकारी अधिकृतका रुपमा पोखरा रहँदा राइट अफ वे क्लियरेन्स, प्लाष्टिक मुक्त घोषणा, समयभित्रै योजनाको कार्यान्वयन, कार्यालयको आन्तरिक पूर्वाधारको सूधार, राजश्व संकलनमा कडाई तथा बढोत्तरी जस्ता सुधारका कार्यहरु गरेर छोटो समयमा नै पोखरेलीको मन जितेको बताए ।
विदाई समारोहमा बोल्दै कार्यकारी अधिकृत ढुङ्गानाले आफ्नो कार्यकाल अवधिमा सहयोग गर्ने सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, पत्रकार, समाजसेवी तथा कर्मचारी लगायत सम्पूर्ण नगरवासीमा धन्यवाद ज्ञापन गरे । सामाजिक विकास महाशाखा प्रमुख बरिष्ठ अधिकृत ओमराज पौडेलले ढुङ्गाना कुशल प्रशासक भएको र सोका कारण छोटै समयमा सवै नगरवासीहरुको मन जित्न सफल भएको धारणा राखे । कार्यक्रममा नागरिक समाजका संयोजक, नगर महिला समन्वय समितीका संयोजक आदीले मन्तव्य राखेका थिए ।
सामाजिक विकास महाशाखा प्रमुख ओमराज पौडेलको सभाध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन प्रशासन महाशाखा प्रमुख बरिष्ठ अधिकृत अनन्त प्रसाद कोइरालाले गरेका थिए ।
