पोखराको मुख्य पानीको मुहान मर्दीखोला शुद्धिकरण परियोजना सुरु, ६ ठाउँमा शवदहन गृह र शौचालय बन्ने

Share:

पोखरा, १३ चैत-
पोखराको मुख्य पानीको स्रोत मर्दीखोला शुद्धिकरण परियोजना सुरु भएको छ । परियोजना अन्तर्गत पोखरामा आउने पानीको मुख्य मुहान माथि शैदी घट्टा, सिदिङ्ग, लुम्रे, घलेल,खोराकोमुख, रिभानमा महिला÷पुरुषका लागि सार्वजनिक शौचालय, कपडा धुने ठाउँ र शव दहन गृह बनाइने भएको छ । ती संरचना निर्माणपछि पोखरा आउने पानीमा मुहानमा लास जलाइने छैन भने साबुन पानी, लेदो र फोहरको पनि सोझै पानीमा मिसिने छैन ।

पोखरा उद्योग वाणिज्य संघ, पोखरा लेखनाथ महानगरपालिका र नेपाल खानेपानी संस्थानको सहकार्यमा यो परियोजना सुरु भएको हो । परियोजनाका लागि करिब ९० लाख रुपैयाँ विनियोजन गरिएको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले जानकारी दिनुभयो । आउँदो असार मसान्तसम्म परियोजना सम्पन्न हुने उहाँको अनुमान रहेको छ ।

संघले सामाजिक गतिविधीलाई प्रदान गर्ने सहयोग रकम खानेपानी शुद्धिकरणमा खर्चने निर्णय गरेको उहाँले बताउनुभयो । खानेपानी शुद्धिकरण परियोजनाले त्यस क्षेत्रका जनताको तत्कालको आवश्यकता परिपूर्ति तथा जनचेतना अभियानलाई प्राथमिकता दिइएको उहाँले जनाउनुभयो । शुद्धिकरण र जनचेतना अभियान दीर्घकालीन हुने पनि उहाँले प्रष्ट पार्नुभयो ।

उहाँका अनुसार संघले सो परियोजनालाई प्राथमिकता दिँदै संघका कार्यसमिति सदस्य यदुनाथ अधिकारीलाई संयोजक नै तोकेर काम अघी बढाएको हो । अधिकारी पानीको मुहान क्षेत्रमा पर्ने धम्पुस गाउँका बासिन्दा हुनुहुन्छ । सो क्षेत्रका ६ ठाउँमा बन्ने शौचालय, कपडा धुने ठाउँ, शव दहन गृहको बिस्तृत परियोजना रिपोर्ट ( डिपिआर) र डिजाइन तयार तथा निर्माणमा सक्रिया अधिकारीका अनुसार निर्माण कार्य हुने सबै ठाउँमा स्थानीय सरोकार समिति समेत गठन गरिएको छ ।

अधिकारीका अनुसार ६ वटा सरोकार समितिमध्ये सैदीघट्टमा टेकबहादुर श्रेष्ठ, रिभानमा जुमबहादुर गुरुङ, लुम्रेमा कृष्ण दवाडी, घलेलमा गुप्तबहादुर गुरुङ, खोराको मुखमा डण्डपाणि चापागाईँ र सिदिङमा यमबहादुर तामाङ सदस्य रहनु भएको छ । सरोकार समितिलाई आवश्यकता अनुसार सदस्य मनोनयन गर्ने अधिकार समेत प्रदान गरिएको समितिका सह संयोजक तथा संघका कार्यसमिति सदस्य कमल बस्नेतले जनाउनुभयो ।

परियोजनाको अनुगमन पोखरा लेखनाथ महानगरपालिकाले गर्नेछ । महानगरपालिकाका सिनियर इञ्जिनियर सारदामोहन काफ्लेका अनुसार स्थानीय सरोकार समितिहरुले गुणस्तर कायम गर्दै तोकिएको डिजाइनमा निर्माण सम्पन्न गर्नेछन् । समुदायलाई परिचालन र जनचेतना अभिवृद्धिको लागि गर्नको निम्ति फरक ठाउँको कामको जिम्मेवारी त्यही ठाउँका जनतालाई दिइएको उहाँले बताउनुभयो ।

जापानी सहयोग नियोग ( जाइका ) ले करीब ४ अर्व ५२ लाखको सहयोगमा पोखराको खानेपानी परियोजना सुदृढिकरण परियोजना सुरु हुँदै गर्दा यो शुद्धिकरण अभियान सुरु भएको हो । जाइकाको सहयोगमा सुरु हुने परियोजनाले समेत पोखराबाट करिब ११ किलोमिटर टाढा रहेको मर्दीको पुरानै बाँधबाट पानी ल्याउने भएपछि मुहानभन्दामाथिको क्षेत्रमा शुद्धिकरण अभियान चलाइएको हो । पोखरामा आउने पानीको मुख्य मुहानमाथि शैदी घट्टा, सिदिङ्ग, लुम्रे, घलेल, खोराकोमुख, रिभान लगायतका गाउँहरु छन् ।

कमेन्ट गर्नुहोस्
Share: