‘युवा शक्ति नेपाल’ पार्टी पोखराबाट घोषणा

408
0
Share:

रञ्जन अधिकारी
पोखरा, १३ चैत-
नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईलाई गत मंसिरमा पोखरामा विरोध गरेको घटनाबाट चर्चामा आएका सञ्जिव भट्टराईले ‘युवा शक्ति नेपाल’ पार्टी घोषणा गरेका छन् । नयाँ शक्ति विद्यार्थीले पृथ्वीनारायण क्याम्पस परिसरमा आयोजना गरेको कार्यक्रममा भट्टराईमाथि जुत्ता प्रहार गरेको भनेर समाचार बाहिर आएको थियो । उनै भट्टराईले डा. भट्टराईकै पार्टीसँग मिल्दोजुल्दो नामको आईतबार पत्रकार सम्मेलन नै गरी पार्टी घोषणा गरे ।

पार्टीका संस्थापक भनेर दुई युवा सहित पत्रकार सम्मेलन गरेका भट्टराईलाई साथ दिन मुस्किलले डेढ दर्जन मात्र युवा उपस्थित भएका थिए । भट्टराई स्वयं स्नातकोत्तर दोस्रो वर्षका विद्यार्थी हुन् । उनले क्याम्पसमै अध्ययनरत लक्ष्मण रोक्का र देवेश राई र हिमाल राईलाई अगुवाका रुपमा चित्रित गरे ।

राष्ट्रिय पार्टी गठन गर्ने योजना सहित भन्दै उनले पार्टीको विधानलाई मोटामोटीरुपमा पत्रकारमाझ प्रस्तुत गरे । एक व्यक्ति एक पद, दुई कार्यकाल, ६० वर्ष उमेरहद, विदेशी सेनामा भर्ती रोक, वैदेशिक रोजगारीमा कमी, भारतसँगको सीमा बन्द लगायतका महत्वाकांक्षी र लोकप्रिय नारा उनले अघि सारेका छन् । राष्ट्र र राष्ट्रियताको संरक्षण, देश विकास नै मूल एजेण्डा रहेको उनले सुनाए ।

पत्रकारमाझ घेरिएका भट्टराईले आफ्नो पार्टी पुरानो ढर्राको नहुने र युवाले चाहेको र खोजेको जस्तै पार्टी हुने बताए । राजनीति र पुराना नेताहरुप्रति आफूजस्तै वितृष्णा नेपाली युवाहरुलाई भएको भन्दै एक दिन ठूलो पार्टी बन्ने भन्दै उनले सकारात्मक सोच्न आग्रह गरे । केहि समयमै पार्टीलाई दर्ता गर्ने उनको भनाई छ। कैलाली टीकापुर घर भई पोखरा पढ्दै आएका भट्टराईले फुलबारीमा मासु पसल सञ्चालन गर्दै आएको बताए । उपस्थिति कम भएको, आधार विना नै राष्ट्रिय पार्टी गठन गर्ने घोषणा गरेकोमा पत्रकारले एक घण्टासम्म भट्टराईलाई प्रश्न तेर्साएका थिए ।

कमेन्ट गर्नुहोस्
Share: