पोखरा, १८ चैत-
सातौं विग आइकनको ग्राण्ड फिनाले केहीबेरमा सुरु हुँदैछ । कार्यक्रमस्थल पोखरा सभागृहमा हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भैसकेको छ भने अतिथिहरु कार्यक्रमस्थलमा प्रवेश गर्ने क्रम सुरु भएको छ । कार्यक्रम बिहान ११ बजे सुरु हुने भनिएपनि अतिथिहरु अझै आइनपुगेकाले केही ढिला भएको छ ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा यो पटक चर्चित व्यक्तित्व रवीन्द्र मिश्र आउँदैछन् । साझा पार्टीका परिकल्पनाकार समेत रहेका मिश्रले लामो समय रेडियोकर्म र समाजसेवामा बिताएका छन् ।
५४ जिल्लाका १ हजार १ सय ५२ जना प्रतिस्पर्धीमध्येबाट छानिएर आएका ३ जना गायन प्रतिभाहरुले फाइनलमा प्रतिस्पर्धा गर्दैछन् ।
चितवनका सागर आले, लेखनाथका सुवास गुरुङ र पोखरा संगमटोलकी प्रिया गुरुङ यो पटक ग्राण्ड फिनालेमा भिड्दैछन् ।
यसअगाडि बिग आइकनको ग्राण्ड फिनालेमा प्रमुख अतिथि भएर मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, राजेश हमाल, करिश्मा मानन्धर, रेखा थापा लगाएतका सेलिब्रिटिहरु आइसकेका छन् ।
ग्राण्ड फिनाले कार्यक्रम बिग एफएम, एभिन्यूज टेलिभिजन, फेवा टेलिभिजन र एफएमबिग डटकममार्फत लाइभ प्रशारण पनि हुनेछ ।
ग्राण्ड फिनालेबाट बिग आइकनसँगै फस्ट रनरअप र सेकेन्ड रनरअप छनौट हुनेछन् । यद्यपी बिग आइकनको ग्राण्ड फिनाले कार्यक्रममा भने उत्कृष्ट १० प्रतिस्पर्धीहरुकै प्रस्तुती रहने एफएमले जनाएको छ । ग्राण्ड फिनालको सम्पूर्ण तयारी पूरा भएको एफएमले जनाएको छ ।
यो पटकको बिग आइकन बिजेताले पुरस्कार स्वरुप १ लाख ८५ हजार रुपैयाँ बराबरको स्कुटरसहित बेलायतको साँगीतिक भ्रमण गर्ने अवसर प्राप्त गर्ने एफएमले जनाएको छ । त्यस्तै फस्ट रनरअपले ७५ हजार र सेकेन्ड रनरअपले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
