सातौं विग आइकनको ग्राण्ड फिनाले सुरु, रविन्द्र मिश्रले गरे उद्घाटन

Share:

पोखरा, १८ चैत सातौं सँस्करणको विग आइकनको ग्राण्ड फिनाले पोखरामा सुरु भएको छ ।

कार्यक्रमस्थल पोखरा सभागृहमा आयोजित समारोहको बिबिसि नेपाली सेवाका पूर्व प्रमुख रविन्द्र मिश्रले उद्घाटन गरे । मिश्र साझा पार्टीका परिकल्पनाकार समेत हुन् । कार्यक्रमस्थलमा अझैपनि विभिन्न अतिथिहरु प्रवेश गर्ने क्रम जारी नै रहेको छ ।

कार्यक्रम बिहान ११ बजे सुरु हुने भनिएपनि अतिथिहरु अझै आइनपुगेकाले केही ढिला सुरु भएको हो ।

ग्राण्ड फिनाले कार्यक्रम बिग एफएम, एभिन्यूज टेलिभिजन, फेवा टेलिभिजन र एफएमबिग डटकममार्फत लाइभ प्रशारण भैरहेको छ ।

५४ जिल्लाका १ हजार १ सय ५२ जना प्रतिस्पर्धीमध्येबाट छानिएर आएका ३ जना गायन प्रतिभाहरुले फाइनलमा प्रतिस्पर्धा गर्दैछन् ।

चितवनका सागर आले, लेखनाथका सुवास गुरुङ र पोखरा संगमटोलकी प्रिया गुरुङ यो पटक ग्राण्ड फिनालेमा भिड्दैछन् ।

यसअगाडि बिग आइकनको ग्राण्ड फिनालेमा प्रमुख अतिथि भएर मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, राजेश हमाल, करिश्मा मानन्धर, रेखा थापा लगाएतका सेलिब्रिटिहरु आइसकेका छन् ।

ग्राण्ड फिनालेबाट बिग आइकनसँगै फस्ट रनरअप र सेकेन्ड रनरअप छनौट हुनेछन् । यद्यपी बिग आइकनको ग्राण्ड फिनाले कार्यक्रममा भने उत्कृष्ट १० प्रतिस्पर्धीहरुकै प्रस्तुती रहने एफएमले जनाएको छ ।

यो पटकको बिग आइकन बिजेताले पुरस्कार स्वरुप १ लाख ८५ हजार रुपैयाँ बराबरको स्कुटरसहित बेलायतको साँगीतिक भ्रमण गर्ने अवसर प्राप्त गर्ने एफएमले जनाएको छ । त्यस्तै फस्ट रनरअपले ७५ हजार र सेकेन्ड रनरअपले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

कमेन्ट गर्नुहोस्
Share: