
रञ्जन अधिकारी पोखरा, ६ बैशाख / पोखरा उपत्यका नगर विकास समितिको अध्यक्ष पदबाट प्रकाशमोहन खनालले राजिनामा दिएका छन् । आसन्न स्थानीय तह निर्वाचनमा कास्कीको रुपा गाउँपालिकाका अध्यक्षमा आकांक्षी खनालले मंगलबार पदबाट राजिनामा दिएका हुन् ।
खनालले पत्रकार सम्मेलन गरेर नै शहरी विकास मन्त्रीसमक्ष शहरी विकास तथा भवन निर्माण विकास डिभिजन कार्यालय कास्कीका प्रमुख एवं समितिका सदस्यसचिव किशोरलाल महाजुमार्फत राजिनामापत्र बुझाए । उनले आफ्नो राजिनामा तत्काल स्वीकृत गर्न आग्रह गर्दै पार्टीलाई समेत राजिनामाबारे जानकारी गराईसकेको जनाए ।
तत्कालिन प्रधानमन्त्री शुशिल कोईराला सरकारका शहरी विकास मन्त्री नारायण खड्काले २०७२ साउन २३ गते नियुक्त गरेपछि साउन ४ गते पदभार ग्रहण गरेका उनले कार्यकाल सकिन तीन महिना अगावै राजिनामा दिएका हुन् ।
परिवर्तित संघिय संरचना अनुसार अब समितिको हैसियत, कार्यक्षेत्रबारे अन्यौलता उत्पन्न हुने भएकाले राजिनामा दिएको उनले स्पष्ट पारे। नगर विकास ऐन २०४५ अनुसार गठित उपत्यका नगर विकास समितिको अधिकार नयाँ संरचनामा कस्तो हुने भन्नेबारे निर्धारण हुन सकेको छैन । भविष्यमा पोखरा उपत्यका विकास प्राधिकरणको रुपमा यसलाई अघि बढाउन सकिने उनको राय छ ।
आफ्नो २१ महिने कार्यकालमा खासै उल्लेखनिय काम गर्न नसकेको स्विकार्दै उनले मुख्य विषयहरुमा कामहरु अघि बढेको, केहि महत्वपूर्ण निर्णयहरु भएको उल्लेख गरे । पोखरा बसपार्क, कृषि उपज बजारको सञ्चालन, फेवाताल संरक्षण, बसुन्धरा पार्क, डेविड फल्सको ब्यवस्थापन लगायतका महत्वपूर्ण काम अघि बढेको उनले जनाए ।
खनालले नगर विकासको हैसियतका कारण काम गर्न नसकिने भएकाले राजिनामा दिएको बताएपनि स्थानीय तह निर्वाचनमा होमिनका लागि राजिनामा दिएको श्रोत बताउँछ । कास्कीको रुपा गाँउपालिका प्रमुखका लागि नेपाली कांग्रेसले उनले नाम पहिलो नम्बरमा सिफारिस गरेको छ ।
कास्कीको सबैभन्दा सानो गाउँपालिका रुपामा नेपाली काँग्रेसका तर्फबाट प्रमुखमा खनालसँगै नारायण श्रेष्ठ, नोयन्द्र गुरुङ, टेकनाथ घिमिरे, लक्ष्मण थापा मुख्य आकांक्षी छन् । यस्तै, सर्वसम्मत हुन नसकेपछि खेम गुरुङ, बलबहादुर आले, तिलबहादुर खड्का र आनन्द सुवेदीको नाम समेत छनौटका लागि काँग्रेस गाउँ समितिले क्षेत्रीय समितिसमक्ष सिफारिस गरेको छ । पार्टीले आफूलाई जुनसुकै जिम्मेवारी दिएपनि स्विकार गर्ने खनालले बताए ।
