‘दल भन्दा बाहिरका व्यक्ति त यो देशमा बस्नै नसक्ने भयो’

Share:

रञ्जन अधिकारी पोखरा,७ बैशाख / ‘दल भन्दा बाहिरका व्यक्ति त यो देशमा बस्नै नसक्ने भएको छ ।’ – राजनीतिक विश्लेषक विश्व सिग्देलले अघि भने– ‘जहाँ पनि दलबाटै ग्रस्त छ । स्थानीय तहको नेतृत्वका लागि सम्भव भएसम्म दलबाहिरको हुनुपर्ने हो तर त्यो सम्भव भएन र छैन पनि ।’

नागरिक समाज पोखरा र पत्रकार महासंघ कास्की शाखाले बुधबार आयोजना गरेको ‘आसन्न स्थानीय तहको निर्वाचनमा कस्ता उम्मेदवार ?’ विषयक अन्तरक्रिया कार्यक्रममा सिग्देलले दलगत भन्दा पनि विकासको भिजन भएका व्यक्तिलाई बनाउन सके परिवर्तन अनुभूत गर्न सकिने उल्लेख गरेका हुन । दलका नेताहरुले पार्टीमा स्वच्छ छवि भएका व्यक्तिहरुलाई उम्मेदवार बनाए मतदातालाई पनि छान्न सहज हुने भन्दै उनले नो भोटको व्यवस्था कार्यान्वयन हुन नसकेकोमा तीतो समेत पोखे । सिग्देलले पार्टीको सिफारिस र भनसुनबाट जित्नेहरु जनता भन्दा पनि पार्टीतर्फ नै बढि वफादार हुने उल्लेख गरे । प्रधानमन्त्री, राष्ट्रपति भन्दा पनि गाउँ नगर प्रमुख बन्न कठिन हुने उनले सुनाए ।

कार्यक्रममा कास्कीका दलहरुले स्थानीय तहको निर्वाचनमा उम्मेद्वार छान्दा दल भन्दा माथी उठेर योग्य र सक्षम नेतृत्व चयन गर्ने प्रतिबद्धता पनि जनाएँ । आफू समेत पोखरा लेखनाथ महानगरपालिकाको मेयरको आकांक्षी रहेका नेपाली कांग्रेसका नेता रामजी कुँवरले पार्टीमा सकृय तर भिजन भएको र मिसनमा काम गर्नसक्ने लोकप्रिय व्यक्तिलाई कांग्रेसले उम्मेद्वार बनाउने बताए । उनले पैसा लिएर टिकट नपाईने भन्दै महिला र युवालाई समेटेर काँग्रेस अघि बढ्ने बताए ।

नेकपा एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले पार्टीमा निरन्तर कृयाशील, ईमान्दार, जनतामा स्थापित व्यक्तिलाई एमालेले उम्मेदवार बनाउने बताए । उनले पोखराको माग अनुसार नै, जनभावना अनुसार नै एमालेबाट उम्मेदवार उठ्ने र अधिकांश युवालाई स्थान दिईने बताए । कास्कीका चार गाउँपालिका मध्ये तीनमा युवा अनुहार नै रहेको उनको भनाई थियो ।

नेकपा माओवादी केन्द्रका पोलिट्ब्यूरो सदस्य बालकृष्ण काउछा मगरले जनमुखी, जनसेवक, योग्य, क्षमतावान, भुगोल बुझेको ईमान्दार र स्वच्छ छवि भएको व्यक्तिलाई उम्मेदवार बनाउने बताए । राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीका अध्यक्ष जयलाल पुनले चुनावमा पैसा खर्च गर्नेलाई बहिष्कार गर्नुपर्ने बताउँदै पैसा खर्चेर जितेपनि भ्रष्टाचारमा संलग्न हुने बताए । उनले क्रियाशील र योग्य व्यक्तिलाई पार्टीले उम्मेदवार बनाउने बताए ।

राष्ट्रिय जनमोर्चाका गण्डकी धौलागिरी ईञ्चार्ज शंकर बरालले पार्टीलाई नै सर्वोपरी ठानेर उम्मेदवार बनाउने चलन अहिलेपनि जारी रहेको बताए । उनले जहाँ रांगो ढालिन्छ, जाँडरक्सीको खोलो बगाईन्छ उनीहरु नै चुनाव जित्ने गरेको आरोप पनि लगाए ।

नयाँ शक्ती पार्टी कास्कीका संयोजक हेमबहादुर थापाले आफ्नो पार्टीलाई दलीय चुनाव चिन्ह दिएको खण्डमा मात्र चुनाव लड्ने बताउँदै त्यस्तो अवस्थामा ८० प्रतिशत युवालाई उम्मेदवार बनाउने बताए । उनले नत्र चुनाव हुनै नदिने चेतावनी समेत दिए ।

कार्यक्रमको अध्यक्षता समेत गरेका पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले विकासको स्पष्ट भिजन भएका व्यक्तिहरुलाई उम्मेदवार बनाउनुपर्ने बताए । सहभागीहरुले महिलालाई स्थान दिईनुपर्ने, युवा सहभागितामा जोड दिनुपर्ने, दल भन्दा माथि रहेकालाई ल्याउनुपर्ने धारणा राखे । नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेलले दलहरुलाई नागरिक खबरदारीका लागि यो प्रयास थालिएको बताए ।

क्षेत्रीय निर्वाचन कार्यालय पोखराका प्रमुख गंगालाल सुवेदीले स्थानीय तह निर्वाचन ऐनको दफा १३ ले व्याख्या गरेको उम्मेदवारको अयोग्यतासम्बन्धी चर्चा गरे । उमेर २१ वर्ष पूरा नभएको, नेपाली नागरिकता नभएको, चुनाव लड्ने गाउँपालिका वा नगरको मतदाता नामावलीमा नाम समावेश नभएको वा कानूनले अयोग्य ठर्हयाएको व्यक्ति चुनाव लड्न नपाउने उनले बताए ।

त्यसैगरी सरकारको नियन्त्रणमा रहेको वा सरकारबाट अनुदानप्राप्त संस्थाबाट पारिश्रमिक पाउने गरी पदमा बहाल रहेको व्यक्ति पनि चुनाव लड्न पाउँदैन । कर्मचारी, शिक्षक वा राजनीतिक नियुक्ति खाइरहेका व्यक्तिले चुनाव लड्नुपरेमा राजीनामा दिनुपर्ने हुन्छ ।

कुनै स्थानीय तह वा त्यसको अनुदानबाट चलेको संस्थामा तलब खाइरहेको व्यक्ति पनि चुनाव लड्न पाउँदैन । अर्थात, गाउँपालिका, नगरपालिका वा जिल्ला समन्वय समितिको कर्मचारी आदिले पनि चुनाव लड्न पाउँदैनन् । जबरजस्ती करणीमा सजायँ पाएको व्यक्तिले कहिल्यै चुनाव लड्न पाउँदैन । त्यस्तै भ्रष्टाचारमा अन्ति सजायँ पाई त्यस्तो फैसला अन्तिम भएको व्यक्तिले पनि कहिल्यै चुनाव लड्न पाउँदैन ।

कमेन्ट गर्नुहोस्
Share: