बच्चा बोक्दै चोर्दै, यसरी पक्रिए

Share:

रञ्जन अधिकारी पोखरा, १२ वैशाख / गत माघ १८ गते बागलुङ बसपार्कमा रहेको ह्याप्पी कस्मेटिक्स एण्ड फेन्सी स्टोर्सबाट कपडा बेच्ने क्रममा पैसा नै गायब भयो । सञ्चालक नारायण पहारीले प्रहरीमा दुई लाख ५० हजार चोरी भएको उजुरी दिए । पसलमा कपडा किन्न भनेर आएका बच्चा बोकेका महिलाहरुले चोरेका थिए ।

त्यसअघि, रामबजारमा एक फेन्सीमा कुर्ता सलवार चोरी भयो । बच्चा बोकेका ति महिलाहरुलाई रंगेहात पसलेले पक्रिए । दुधे बच्चा बोकेका महिलाहरुसँग कुर्तासलवार फिर्ता लिए र यत्तिकै छाडिदिए ।

यस्तै प्रकृतिका घटना यही बैशाख ८ गते फेरि दोहोरियो । यसपटक प्रहरीले नै ति महिलाहरुलाई पक्राउ गर्न सफल भएपछि अगाडिका दुवै चोरीका घटनाको भेद खुल्यो । शुक्रबार दिउँसो दुई बजेतिर तीन युवती पोखरा लेखनाथ महानगरपालिका १, केआईसिंह पुल नजिकै विष्णुमाया अधिकारीको फेन्सी पसल छिरे । दुई जनाले एक वर्ष पनि नपुगेका आफ्ना बच्चा बोकेका थिए । अर्की उनीहरुभन्दा केहि उमेरकी युवती एक्लै थिईन् ।

कपडा छान्दै गर्दा एक महिलाले ४८ हजार रुपैंया राखिएको पर्स लिएर फरार भईन् । बच्चा बोकेका दुई युवतीलाई तत्काल पक्रियो । वडा प्रहरी कार्यालय बगरमा खबर गरेपछि कार्यालय प्रमुख प्रहरी निरिक्षक किशोर लम्सालले घटनास्थलमा टोली पठाउन ढिला गरेनन् । बिरौटामा भाडामा बस्ने २२ वर्षीया मनिषा लामिछाने र मालेपाटन बस्ने २० वर्षकी सुष्मा लामिछानेलाई पहिल्यै नियन्त्रणमा लिईसकेको थियो ।

प्रहरीले उनीहरुसँग पर्स लिएर भाग्ने साथीहरुबारे केरकार गरे । दुई जनाले आफूले राम्ररी नचिन्ने बताए । फेसबुकमा लिजा सुनार नाम भएको तर अरु कुरा थाहा नभएको भन्दै टार्ने कोसिस गरे । प्रहरी सामु उनीहरुको बहानाको जोड चलेन । अन्तमा उनी मालेपाटन नै बस्ने २६ वर्षकी पार्वती बिक रहेको खुल्यो । पार्वतीलाई भने नाटकीय शैलीमा प्रहरीले पक्राउ गर्न सफल बन्यो ।

मनिषा र सुष्माले प्रहरीले पक्रेकोबारे पार्वतीलाई फोनमा भनेपछि उनले पृथ्वीचोकस्थित एक मासुपसलमा पर्स छाडिदिईन् । प्रहरी पुगेर हेर्दा पर्समा ३८ हजार दुई सय मात्र भेट्यो । दश हजार लिएर उनी टाप कसिन् ।

सुष्मा र मनिषामार्फत फेरि मोबाईलमा सम्पर्क गरियो । प्रहरीलाई पनि अलिअलि रकम दिए छाडिदिन्छन्, डराउनुपर्दैन । सुष्माको सिक्री बेचेर छुट्दैछौं भनेपछि पार्वतीले आफू रहेको स्थान बताईन् । मनिषालाई लिएर प्रहरी पार्वतीको डेरा मालेपाटन पुग्यो । पार्वती पनि प्रहरी फन्दामा परिन् । उनको साथमा ९ हजार मात्र थियो । एक हजार ट्याक्सीमा खर्च गरिसकिछन् ।

प्रहरीका अनुसार पोखरामा श्रीमान्हरु ज्यामी काम गर्दै आएका छन् । पार्वती बिकको श्रीमान् कुमार बिक भने ज्यान मार्ने उद्योगमा पुर्पक्षका लागि जिल्ला कारागारमा थुनामा छन् । वडा प्रहरी कार्यालय बगर प्रमुख प्रहरी निरिक्षक किशोर लम्सालले बच्चा लिएर पसलमा जाने सहानुभूति बटुल्दै दाउ छोपेर चोर्ने गरेको बताए ।

‘कपडा पसलमा जाने, परिस्थितिले किन्नुपर्ने अवस्था आए सानो मूल्यका कपडा किन्ने पनि । जब कपडा निकाल्न पसले लाग्छन्, त्यसबेला पर्स, सेफ लिएर भाग्ने गरेको खुल्यो ।’ लम्सालले भने– ‘माया लाग्दो व्यवहार गरेपछि त्यही मौकामा फाईदा उठाउँदा रहेछन् ।’ लम्सालका अनुसार उनीहरु अरु घटनाबारे खुलेर कुरा गरेका छैनन् । तर, बाग्लुङ बसपार्कका पसलेलाई बोलाएर सनाखत गर्न लगाउँदा उनीहरु नै रहेको प्रमाणित भएको थियो । उनीहरुले दुई लाख ५० हजार नभई ५० हजार मात्र चोरेको बताएको लम्सालले बताए । बच्चा साथमा बोकेर चोरी गर्दै आएका तीनै जनालाई प्रहरीले नियन्त्रणमा लिएर कानुनानुसार कारबाही प्रक्रिया अघि बढाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: