
रञ्जन अधिकारी पोखरा, १३ वैशाख / पोखरा लेखनाथ महानगर पालिका २७, तालचोकमा भ्यान, ट्रयाक्टर र मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकल चालकको ज्यान गएको छ । बुधबार मध्यान्ह १२ः१० बजेतिरको समयमा पोखरा आउँदै गरेको ग १ च ८२२५ नम्बरको भ्यान र सोहि दिशातर्फ आउँदै गरेको ग ४ प ९७०८ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको ज्यान गएको हो भने पछाडी बस्ने घाईते भएका छन् ।
मोटरसाइकल चालक पोखरा लेखनाथ महानगरपालिका ३३, बागमाराका ३५ बर्षीय रामचन्द्र वाग्ले हुन् । दुर्घटनामा गम्भिर घाइते उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा ज्यान गएको क्षेत्रीय प्रहरी कार्यालय पोखराले जनाएको छ । सोहि मोटरसाइकलमा सवार पोखरा ३३ का २० बर्षीय श्रीराम भुषाल घाइते भएका छन् ।
मोटरसाइकल र भ्यान ठोक्किएपछि सोहि स्थानमा रहेको ग १ त ४३४५ नम्बरको ट्याक्टर पनि ठोक्किन पुगेको थियो । मोटरसाईकलले ओभरट्याक गर्ने क्रममा उक्त भ्यानको अगाडीको दाहिने साइडको टायरमा ठक्कर खाई मोटरसाईकल अनियन्त्रित हुन पुगेको र विपरित दिशातर्फको ग १ त ४३४५ नं. को ट्याक्टरमा ठोक्किन गई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने भ्यान र ट्याक्टरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनामा संलग्न तीन वटै सवारी प्रहरीको नियन्त्रणमा छ ।
