सूर्यबहादुर केसी
आदरणीय पोखरा लेखनाथ महानगरबासी विकासप्रेमी नागरिक समाज, स्वास्थ्य, एवं, शैक्षिक क्षेत्रमा संलग्न विज्ञहरु, साहित्य तथा लोक संस्कृति, कला एवं लोक नृत्य लोकधुन तथा वाद्यवादन आदिको संरक्षण संबद्र्धनमा लाग्नु भएका महानुभावहरु, उद्योग वाणिज्य र पर्यटन व्यवसायमा संलग्न हुनु भएका समादरणीय व्यक्तित्वहरु, वरिष्ठदेखि कनिष्ठ तहसम्मका राष्ट्रसेवक कर्मचारी वर्ग, कानुनविद एवं न्यायकर्मी मित्रहरु, ब्रिटिस सेना, भारतीय सेना, नेपाली सेना सशस्त्र प्रहरी बल जनपथ प्रहरी सेवामा कार्यरत एवं सेवा निवृत्त सबै तहका आदरणीय महानुभावहरु,
देशको बिग्रँदाे अपत्यारिलो माहोलले चिन्तित सुनौलो भविष्यको आशा गर्दै विगत २० वर्षदेख आफ्नो सुनौलो स्थानीय जनप्रतिनिधि रोज्न अवसरबाट वञ्चित–जीवनयापनको अधिकतम अवसर आफ्नै देशमा सिर्जित होस् भन्ने आकांक्षा राख्दै अवसर नपाएका दाजु भाउजु, दिदी बहिनी बाध्यतापूर्वक विदेशिनु पर्दाको पीडा भोग्दै देशको विकासले गति लिएको योग्यता र अनुसारको रोजगारीको आशा बोक्नु भएका युवा वर्ग ।
संसारको एउटा मात्र हिन्दु राष्ट्र नेपाल, भगवान बुद्ध–सीता जनकको जन्मभूमि एवं हिन्दु बौद्ध धर्मालम्वीहरुको मजबुद गहिरो समन्वय भएको देशबाट ८०–८५ प्रतिशत ओमकारवादी सनातन धर्मालम्वी हुँदा हुँदै पनि जवरन संविधानबाट हिन्दु राज्य हटाइएको बाट पीडा पोख्दै व्यथित बनेका सनातन धर्मालम्बी ओमकार परिवार सहित हिन्दु राज्यको पुनः संविधानमा समावेश गरिनुपर्ने आशा राखी अत्यन्त पिडा महसुस गर्नुभएका धर्मानुरागी विद्वतवर्ग सामाजिककर्ता एवं अनुरागीहरु, विभिन्न समाजसेवाको बृहत हितका लागि संलग्न समाजसेवी संघ, संस्था र महानुभावहरु, मजदुर वर्ग, किसानवर्ग, भद्र महिला एवं सज्जन बृद्ध, पत्रिका एवं सञ्चार जगतमा संलग्न आदरणिय वरिष्ठ पत्रकार एवं पत्रपत्रिका जगतः
१.सर्वप्रथम त सम्पूर्ण महानुभावहरुमा नयाँ वर्ष २०७४को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
२.आज देशले नयाँ संविधान प्राप्त गरेपछि करिब २० वर्षको अन्तरालमा स्थानीय तह निर्वाचनको संघारमा आइपुगेको छ । कुनै भवितव्य आइनपरेमा चुनाव निश्चितरुपले हुनेछ । विगत दुई दशकको अवधिबीचमा भएको जनयुद्धबाट भएको क्षति, दुईपटकको संविधानसभाको निर्वाचन, भूकम्पले गराएको ठूलो जनधनको क्षतिले आफन्त र घरबार गुमाउनुको पीडाबाट गुज्रिरहेको समयमा संविधानको घोषणा हुने बित्तिकै करिब ६ महिना लामो दक्षिण छिमेकीको नाकाबन्दीले ग्रस्त समस्या पार गर्दै स्थानीय तहको निर्वाचनबाट आफ्ना स्थानीय समस्या हल हुने, विकासले गति लिने, देशले अत्यन्त ठूलो फड्को मार्ने आशा र उत्साहका साथ चुनावमा सहभागी हुँदै नतिजा आफ्नो पक्षमा पार्ने कसरतमा पोखरा महानगरबासी लागी पर्नु भएको छ । चुनाव निर्विघ्न, निरपेक्ष शान्त र मैत्रीपूर्ण भावबाट सुसम्पन्नताका लागि हार्दिक शुभकामना दिन चाहन्छु ।
३.देशमा आज सक्रिय ठूला र चर्चामा रहेका सक्रिय पार्टीहरुको तर्फबाट जारी आकर्षक घोषणापत्रद्वारा सपनाका पुलिन्दा बाड्ने सम्भव र असम्भव महत्वकांक्षा बढाउने र राष्ट्रिय ढुकुटीबाट कनिका छरे झै स्रोत साधनको प्रयोग उपलब्धीमूलक विकासनिर्माण र सामाजिक लगानी भन्दा बढी तपाईं हामीले तिरेको करको प्रयोग देश हित र जनहितभन्दा पार्टीको भोट बैंक बनाउन खर्चिने प्रवृत्ति बढ्दै गएको छ । तसर्थ विगत दुई दशकदेखि प्रस्तुत हुँदै आएका सबै घोषणापत्र र अध्ययन गरी त्यसबाट प्राय सधैंजसो पार्टीको ठूलो दलको नेता सत्ता र प्रतिपक्षमा रहँदा उपलब्धि अवस्था कति प्रतिशत छ ? चेतनशील महानगरबासी दाजुभाइहरुबाट विश्लेषण हुनु अत्यावश्यक भइसकेको छ । अन्यथा भ्रमको खेतीले पछि पछुताउनुपर्ने हुन्छ ।
४.विगत दशकौं वर्षको अनुभवबाट र ठूला पार्टीका प्रधानमन्त्री, माननीय मन्त्री, माननीय लगायत राष्ट्रसेवक, पूर्व राष्ट्रसेवक एवं विश्लेशक र आर्थिक विज्ञहरु अन्तर्राष्ट्रिय संघ संस्था ट्रान्सपेरन्सी इन्टरनेसनल समेतको विश्लेषणमा आरोप र प्रत्यारोपण सुन्दा र अवगत हुँ दा मुलुक अत्यन्त डरलाग्दो, उदेक लाग्दो, घिनलाग्दो भ्रष्टाचारको दलदलमा फसेको, अत्यन्त इमान्दार र राम्रा मानिसहरुको सहभागिता प्रत्येक पार्टीमा हुँदाहुँदै पनि नेतृत्व वर्गकै कमजोरी र असक्षमताले गर्दा नै भन्नु पर्दछ भष्ट्राचार नियन्त्रण हुनुको सट्टा झनै मौलाउँदै जानु सम्पूर्ण देशवासीको चिन्ताको विषय हो । अधिकतम जनहितका लागि स्थापित सरकारी कार्यालयहरुमा केन्द्रदेखि जिल्ला सबै तहसम्म सेवाग्राहीलाई कुनै कुनै अंकुश लगाएर अड्चन पैदा गरेर सेवा विलम्ब गरेर आर्थिक लाभ लिने परिपञ्चबाट सबै जनता आजित छन् । दुखदिने राष्ट्रसेवकको पृष्ठभूमि पत्ता लगाउँदा कुनै न कुनै बलियो पदका मानिस र दलकै कार्यकर्ता नेतृत्व तहबाटै संरक्षित पार्टीकै संघ संगठनको कार्यकर्ता हुने भएकाले कारबाही गर्न उजुरी दिन सेवाग्राही आँट गर्दैनन् । सबै ठूला तथा चर्चित पार्टीमा असल नियत, राष्ट्रिय भावनाले ओतप्रोत आर्थिक अुशासनका हिमायती, राष्ट्रिय भावनाले ओतप्रोत व्यक्तिहरुको अभाव छैन तर पनि या–त यस्ता व्यक्तिहरु कुण्ठित छन् । बोलेमा चलखेलबाट बक्रदृष्टि – कोपभाजनमा परिन्छ कि ? भन्ने भावनाबाट त्रसित छन् त्यसैले मुकदर्शक शिकार भैरहेको कारणले गर्दा नेतृत्व तहको विरोधमा बोल्न चाहँदैनन् । सबैले महसुस गरेकै विषय हो ।
४ सम्पूर्ण पोखरेली नागरिक समाज, समाजका सबै तप्का र तहका आदरणीय महानगरवासी प्रबुद्ध व्यक्तित्वहरुसँगको छोटो भेटघाटमा चर्चा परिचर्चा गर्दा कमसेकम हाम्रो पोखरा लेखनाथ महानगर पालिकाका मेयर-उपमेयर वडा अध्यक्ष र सदस्यहरुको चयन गर्दा निष्पक्ष इमान्दार, निर्भिक विद्वत, अनुभवी कुशल क्षमताशील राष्ट्रिय भावनाले प्रेरित, धर्म र संस्कृतिको रक्षा गर्दै, विकास निर्माणमा तिव्रता लिन सक्ने सबैलाई मिलाएर महानगरको बागडोर चलाउने व्यक्तित्व र टिमको अपेक्षा महानगरबासीको रहेको पाएँ । तर अफसोच ठूला दल र जित्ने सम्भावित दलका अधिकांश उम्मेदवारहरु हेर्दा अधिकतम इमान्दार, सरल र अनुशासित पनि हुनुहुन्छ होला । तर क्षमता कार्यकुशलता विकास निर्माणलाई गतिशीलता प्रदान गर्न सक्ने अत्यन्त सुुझबुझ भएको राष्ट्रिय भावनाले ओतप्रोत एवं अनुभवी महानगरबासीका सबै तह र तप्काका कुरा बुझी रोजगार सृजना र प्रदान गर्न सक्ने ठूला साना दीर्घकालीन र अल्पकालीन विकास आयोजना तर्जुमा गरी तिव्र गति प्रदान गर्न सक्ने उच्च मनोबल र महत्वकांक्षा धारणा गर्ने नेतृत्व प्रस्तुत प्राय पार्टीका उम्मेदवारमा छैन कि भन्ने धारणा सुनिन थालेको छ । राम्रो मानिसभन्दा आफ्ना मानिसलाई टिकट दिने सोचबाट प्रेरित भएको भन्ने गुनासा हामी अनुभवी र नगरको अनुभव हासिल गरेकालाई जबरजस्त पछाडि पारियो भन्ने गुनासा र पीडा नयाँ अत्यन्त कार्यक्षत्र भिन्दै लिई महानगरको अनुभवहीन व्यक्तिलाई टिकट दिइएको गुनासा धेरै महानगर र नगरहरुमा चर्चा परिचर्चा हुन थालेका छन् । यस्ता किसिमका चर्चा परिचर्चाबाट महानगरबासी मतदाता महाचिन्तित छन् । महानगरबासीका लागि यति ठूलो उत्साह र उमंगमा २० वर्षपछि पाएको आफ्नो महानगरका लागि र दलका कार्यकर्ता शुभचिन्तकलाई सर्वसाधारण मतदाता समेत चित्त बुझे पनि नबुझे पनि आफ्ना पार्टीलाई सघाउनुपर्ने बाध्यता भएको छ । वर्तमान अवस्थाको प्रतिस्पर्धामा निर्णयक मत स्वतन्त्र बुद्धिजीवी र स्वतन्त्र तप्काका निश्पक्ष विश्लेषक गर्ने नागरिक समाज र सामाजिक चिन्तन गर्नेहरुबाट बुद्धिमतापूर्ण तरिकाले उम्मेदवारहरुबाट महानगरपालिका प्रतिका विकास निर्माण र भावी अल्पकालीन दीर्घकालीन नीति तपाईंहरुको के छ ? कसरी जनहितका कार्य गर्नुहुन्छ ? महानगरबासीलाई सेवा सुविधा राहत कुन प्रकारले पुर्याउनु हुन्छ ? योजना बाँडफाँड, लागत विश्लेषण, ठूला मझौला र साना आयोजना के के हुन् ? कसरी बालहित वृद्ध नागरिकहरुको हित, एकल महिलाको हित स्वास्थ्य, शिक्षा, विज्ञान र प्रविधि क्षेत्रमा साहित्य धर्म र संस्कृतिको रक्षा, बालहितमा के कस्ता परियोजना ल्याउने विचार गर्नु भएको छ ? युवा बेरोजगारी कसरी हटाउनु हुन्छ ? उद्योग र पर्यटकीय विकासको अवधारणा कस्तो रुपमा अगाडि ल्याउनुहुन्छ ? खेलकुदको विकास खानेपानी, सडक सञ्जाल, कृषि उत्पादकत्व, रोजगारमूलक तालिम, सिप विकास बारेको योजना बारे के कस्तो कार्यक्रम गर्नुहुन्छ भन्ने प्रश्न सवाल जवाफ गरी– उपयुक्त र सटिक कार्यक्रम दिनसक्ने नेतृत्व छनोट गर्न उपयुक्त हुने हुँदा सबैले ध्यान पुर्याउन आग्रह गर्दछु ।
५. देशका विभिन्न ठूला दलहरुले पटकपटक कुनै न कुनै रुपमा सत्तामा अधिकांश मन्त्रालयहरु सहित सत्तामा बस्ने अवसर पाएर पनि आफ्ना घोषणपत्रमा प्रतिबद्ध व्यक्त गरेका कामहरु अत्यन्त न्यून भएको छ । उपलब्धि र समय अवधिको विश्लेषण गर्दा एकदम ठूलो अन्तर छ । त्यसैले दलका घोषणापत्रप्रति अविश्वास बढेको र पत्याउनेको संख्या न्यून हुँदै गएको छ । चर्का नारा र खोक्रा आश्वासनले विकास हुँदोरहेनछ । विकास घोषणापत्रले हैन पद प्राप्त गर्नुको क्षमता, इमान्दारी, लगनशीलता र कार्यकुशलताबाट हुँदोरहेछ भन्ने सबैले बुझेको विषय हो ।
६.विगतको पन्ध्रौ (१५) वर्षको अवधिमा प्रायजसो हाम्रा नगरहरुको नेतृत्वको बागडोर राज्यले राष्ट्रसेवक कर्मचारीलाई सुम्पियो । अत्यन्त धेरै नराम्रा, थोरै राम्रा अमिला अनुभवहरु सेवाग्राही नगरबासीहरुले महसुस गर्यौं । विकास निर्माणका गति अत्यन्त मन्द रह्यो । सेवाग्राहीले अत्यन्त विसंगति महसुस अनुभव गर्यौं । साधनस्रोतहरुको भागबन्डाको प्रवृत्ति रह्यो । योेजनाका लागि धेरै ठाउँमा आयोजनाका रकम मिलेमतो गरी गच्छे अनुसार दलहरुका कार्यकर्ताहरुको भागबण्डा गरी आयोजनामा न्यून रकम खर्च गरेको चर्चा देशभर रह्यो । विज्ञहरुद्वारा सार्वजनिक रुपमै यस्ता आरोप लगाइयो । यस्तो प्रवृत्तिबाट हाम्रा जिल्ला गाउँनगरहरु पनि अछुत रहन सकेनन् ।
६.भावी दिनमा कमसेकम पनि भागबण्डा गरी दुरुपयोग गर्ने, कनिका छरेजस्तो उपलब्धिविहीन कार्यका लागि रकम खर्च गर्ने प्रवृत्ति शून्य हुनु पर्दछ भन्नेमा सजक र सचेत रहौं । यही आग्रह पनि गर्दछु ।
७.ठूला महत्वकांक्षा बाँड्ने तर उपलब्धि हालजस्तै न्यून भएमा वर्तमान गणतन्त्रले अंगीकार गरेको पद्धति प्रति नकारात्मक दृष्टिकोण त पर्ने नै छ । जनता आजित भई यस पद्धति प्रति वितृष्णा पैदा भई कालान्तरमा विद्रोह पैदा समेत गर्न सक्दछ । हामी सचेत नागरिक सदैव सतर्क हुनु पर्दछ ।
८.वर्तमान नेतृत्व तह सम्भावित विजयको प्रतिस्पर्धामा रहेका पार्टीका नेतृत्व तह मेयर- उपमेयर ज्युका उम्मेदवारहरु –हाल अनुभव कम वा अनुभवविहीन नै हुनुहुन्छ भने पनि जिम्मेवारी बोधले पाएको जिम्मेवारीलाई बुद्धिमतापूर्वक पलपल सजक, सहज, इमान्दारी र महानगरबासी प्रति निष्ठापूर्वक म गर्छु र गर्न सक्छु मन वचन र कर्मले (ईश्वर साक्षी राखी) जनताप्रति र महानगरप्रति बफादार प्रतिबद्धता रहन्छु भन्ने बाचा सार्वजनिक रुपमा नै असल नियतले विविध विषयका विज्ञ राखी परामर्श गरी अधिक से अधिक उपलब्धिमूलक नतिजा दिन सक्छौँ भन्ने विश्वास महानगरपालिकालाई दिलाउनु पर्दछ । साथै चुनाव जितेपछि पार्टीको नभई महानगरबासीको मेयर-उपमेयर वडा अध्यक्ष र सदस्य हुन सक्नु पर्दछ । ठूलो उपलब्धि हासिल गर्न सक्ने मेयर-उपमेयर-अध्यक्ष अधिकतम विकास र सेवाका उपलब्धिले अवश्य पनि पार्टीको साखको मूल्यांकन जनताले महत्व साथ गर्ने हुन, भन्ने सबैलाई अवगत हुनुपर्ने नै विषय हो । राम्रो र उपलब्धिमूलक सफलताले जस त आखिर पार्टीलाई दिलाउने हो । व्यक्तित्व उपलब्धि हासील गर्नेको नै उचाइमा पुग्ने हो । यसमा विजयी उम्मेदवारले गम्भीर सोच्नुनै हुनेछ ।
९. हाम्रो महानगरपालिकाको करिब पाँच लाख जनसंख्या पुगेको छ । संसारको अति मनोरम हिमश्रृंखला तालतलैया या बान्की परेका पहाड, सौरम्य छटा भएका डाँडाकाँडा थुम्की भन्ज्याङ देउराली एवं गाउँ बस्ती र नागवेली झैँ बगेका नदीनालाहरु अत्यन्त मनोरम दृश्यले भरिएका भूभाग अनि हरित फाँटहरु एवं अत्यन्त धान, मकै, गहँु, कोदो, फापर, हरिया सागपात, स्ट्रेबरी, नास्पती, केरा, सुन्तला, भुइँकटहर, रुखकटहर, अष्ट्रेलियन–जापनिज क्युबी र कटुस, काफल, ऐसेलु, चित्रो, लिची, चिउरी जस्ता पौराणिक प्रांगगारिक फलफूलहरुको उत्पादन हुने भूभागहरु, मस्त्यपालन पशुपक्षी पालन गर्न सकिने भुभागहरु समेत भएको ईश्वरीय प्रकृति वरदान संसारमा विरलै पाइन्छ । अलिकति मेहनत गरे आधुनिक र पौराणिक विकासको नमुनालाई सन्तुलित गर्न सक्ने, मूर्तिकला, काष्टकला, हस्तकला अधिकतम विकास गर्न सके ठूलो जनसंख्यालाई रोजगारी बढाउन सकिन्छ, विगतमा निकै प्रयास पनि भए तर सन्तुलन रुपमा उत्पादन, संरक्षण र विक्री वितरणको व्यवस्थापन गर्न नसक्दा आशा गरेअनुसारको सफलता प्राप्त गर्न सकेनाै ।
विश्वको चर्चित हिमशृंखला र मनोरम पर्यटकीय संसारको परिचित पर्यटन स्थल हुँदाहुँ दै पनि होटल, ट्रेकिङ, ट्राभल व्यवसायमा निजी क्षेत्रले राम्रै फड्को मारेको भए पनि, यहाँ आएर घुमिसकेपछि आफ्नो देशमा उपहारको रुपमा र व्यवसायको रुपमा लाने सामानको रुपमा स्थानीय उत्पादनको अंश कति न्यून छ । भारतीय बजारका उत्पादनहरु वर्षेनी अर्बौंको रुपमा खपत हुने गरेको विषयलाई गम्भीर रुपमा सोची कार्यक्रम बनाई दक्ष जनशक्तिको माध्यमबाट बिक्री योग्य सामानको उत्पादनलाई प्रसस्त टेवा दिई पर्यटकको रुपमा आउने व्यक्तिहरु व्यावसायिक पनि हुनसक्छन् । सानो परिमाण बिक्री मात्र भएकोले पर्यटकीय रुचिका उच्च स्तरका कलात्मक वस्तुलाई, हस्तकला बुनेका स्तरीय ईम्र्बाईटी पहिरनहरु निकासी योग्य पनि बनाउन सके अत्यन्त ठुलो रोजगारी सिर्जना हुने निश्चित छ ।
९.ख) पोखरा लेखनाथ महानगरपालिकामा (४) दशक अघिदेखि चर्चामा रहेको अन्तर्राष्ट्रिय स्तरको विमानस्थल निर्माण सुरु भएको छ । अब सचेत औद्योगिक घरानाहरु, नेतृत्वतहमा कार्यरत जनप्रतिनिधीहरु, उद्योग वाणिज्य संघ, सचेत नागरिक सबैको ध्यान बस्दा दायाँबायाँबाट सुन्दर बृक्षहरु फूलका बोटहरु सम्भव भएसम्म हरियो दुबो र सिजनल फूलले शोभायमान देखिने बगैंचाहरुको निर्माण अत्यावश्यक भइसकेको छ ।
बोलीचाली र व्यवहारमा अतिशिष्टता, मिठासपन, मुस्कुराउने प्रकृति, बस र भाडाका सवारी चालकहरुको बोल्ने, तौरतरिका र व्यवहारमा अत्यत उत्कृष्ट स्वभाव पर्यटक देख्ने वित्तिकै, मुस्कुराएर वेलकम कम टु पोखरा र र मे आई हेल्प यु, यात्रुलाई पुर्याइसकेपछि थ्याङ्कयु, फर्कने बेलामा प्लिज कम अगेन जस्ता सभ्य शब्दको प्रयोग गर्दा पनि प्रफुल्ल मनले फर्कने र चाँजोपाँजो मिल्दा पुन पोखरा आउन लालायित हुनेछन् । भने उद्योगी व्यवसायीले अब हाम्रो पोखरामा पर्यटकको बसाई लम्बाउने कार्यक्रममा टेवा पुग्ने उद्योगहरु खोल्न जरुरी भएको छ । जनप्रतिनिधीत्वको ध्यान, सुन्दर सफा, हरित, स्वभायमान र आकर्षक विकासका दृष्टिले अति उत्कृष्ट कसरी बनाउने ध्यान दिन जरुरी भइसकेको छ ।
मेरो २०४१ देखि ४६ सालसम्मको अनुभवबाट केही प्रेरणा प्राप्त हुन्छ कि ? हुनेसके गौरवान्वित महसुस गर्ने थिएँ । नभए क्षमाप्रार्थी छु ।
१०.आदरणीय पोखरा लेखाथ महानगरबासी जनसमुदायज्यूहरुः
मध्य ४० वर्ष उमेर पार गर्नुभएका २०४१÷०४६ सालमा युवा उमेरको संघारमा रहनुभएका वा पार गर्नुभएका तत्कालीन अवस्थामा पोखरा नगरबासीका रुपमा रहनु भएका सम्पूर्ण नागरिकले मेरो व्यक्तिगत जीवन र काम गर्ने शैली र उक्त समय पञ्चायतको अन्त हुँदाको अवस्थाका बारेमा पोखरा नगरका, भद्र महिला, तथा सञ्जनवृन्दज्यूहरुमा प्राय अवगत भएकै विषय हो । २०४१ सालको पोखरा नगर पञ्चायतको नेतृत्वले अत्यन्त अनुशासनहीन, अपारदर्शी बल प्रयोगबाट नगर पञ्चायतका सभा र आफूसँग सहमत असहमत नगरबासीलाई डरधम्कीको प्रयोगबाट त्रास पैदा गर्ने आर्थिक अयिमितता आदिको कारण देखाई बोर्ड र नगर सभासँगको तिव्र विरोध पश्चात सम्पूर्ण नगर पञ्चायत बैठक र नगरसभा भंग भएको थियो । त्यस कठित परिस्थितिमा पोखराका तत्कालीन अवस्थाका प्रतिबन्धित पार्टी नेपाली कांग्रेस र कम्युनिष्ट पार्टीका विभिन्न घटकहरु, सुधारवादी पञ्चहरु, पोखराका उद्योग व्यवसायी घराना, बुद्धिजीवी, पत्रकारज्यूहरुको म सूर्यबहादुर केसी (सीताराम) लाई उम्मेदवार बनाई म मात्र २५–२६ वर्ष मात्र पुगेको एउटा राजनीतिमा नलागेको, उद्योग व्यवसाय, निर्माण व्यवसाय र समाजसेवामा १४ वर्षको उमेरदेखि नै संलग्न भएकोलाई-उम्मेदवार बनाउनुमात्र भएन दुईपटक अत्याधिक मतले विजयी गराई पोखरा नगरको बागडोर सुम्पनुभयो ।
प्रायजसो राजनीतिकर्मी, प्रायसबै समाजिक कार्यकर्ता प्रायसबै औद्योगिक घराना सानाठूला सबै व्यवसाय गर्ने, व्यक्तित्वहरु प्राय सबै युवावर्ग, साहित्यवर्ग, कलाकर्मी संस्कृतिविद्, विभिन्न धार्मिक संघसंस्थाहरु, किसान, बुद्धिजीवी, शिक्षक वर्ग तथा शिक्षाविद् र विद्यार्थी सबैको सद्भाव र सहयोग सल्लाह र सुझावबाट अत्यन्त हौसला र प्रेरणा प्राप्त गरी करिब साढे पाँच वर्षको दुईपटक अवधिमा २०१७ सालदेखि २०४१ मार्ग मसान्तसम्म जम्मा २७–२८ लाख अल्झिएको अवस्थालाई सबै प्रथमत आर्थिक क्रियाकलापलाई सुधार गरी नरम हिसाबले तत्कालीन नगर पञ्चायतको करको दायरलाई सरल सहज तर फराकिलो पारी सबै ठाउँमा नगर पञ्चायतको सेवा क्षेत्र र विकासका काममा बढी से बढी उपभोक्ता समूहलाई बलियो र जिम्मेवारी बहन गर्न मानसिकरुपले तयार पार्न विस्तार गर्दै जाने निती लियौं ।
१० फलस्वरुप साँढे पाभ्च वर्षको दुईपटकको छोटो कार्यकालको आम्दानी २७-२८ लाखलाई करिब ५ करोडभन्दा बढी पुर्याउन सफल भयौं । एउटा पावर टेलरले सफाई कार्यलाई ४–५ वटा ट्याक्टर सात जना सफाइकर्मी करिब ३–४ दर्जन सफाई कर्मचारी व्यवस्था गर्यौं, जुद्ध शमशेरको पालाको चल्न छोडेको वारुण यन्त्रलाई मर्मत गरेर चलाउन योग्य बनाउनका साथै आफ्नै स्रोतबाट जर्मनी वारुण यन्त्र मैले खरिद गर्यौं, भैलो खेलेर कोष बनाई, रेडक्रसमा बुझाएपछि तत्कालीन रेडक्रस केन्द्रका अध्यक्ष प्रिन्सेस हेलन शाहसँग मागी एम्बुलेन्स सेवाको सुरुवात गर्यौं । बैदाम पर्यटक क्षेत्रलाई छुट्टै सफाई ट्याक्टर साधन र सफाई कर्मचारीको व्यवस्था गर्यौं । शिक्षा क्षेत्रमा नगद क्षेत्रका प्राय सबै ५० विद्यालय स्तरोन्तरि नगर पञ्चायतबाट तत्कालीन अवस्था बनेको एक किमि पक्की सडकलाई विभिन्न वडाका ठाउँहरुमा विस्तार गरी करिब सयौं किमिभन्दा बढी निर्माण गर्यौं । विन्धवासिनी मन्दिरमा, तालबाराही मन्दिरमा, भद्रकाली मन्दिरमा थप निर्माण कार्य र मन्दिर प्रांगणमा, व्यापक जनसमुदायको सक्रिय सहयोगमा राममन्दिर, कालिका मन्दिर, कृष्ण मन्दिर, विश्वकर्मा मन्दिरमा निर्माण एवं स्तरोन्तरी ग¥यौं । प्राय सबै वडाहरुमा २० औं नयाँ मन्दिर बनाउनका साथै पुराना मन्दिरहरुको जीर्णेद्धार पनि गर्यौं । ढलहरुको निर्माणको लागि सुरु गर्यौं । अफसोच हाल कतिपय पार्कहरु, हरित क्षेत्रहरु, नासिए, मासिए मर्मत सम्भार भएनन् भने कतिपय अन्य उद्देश्यका लागि प्रयोग गरिए । पुस्तकालय र दशौँ ठाउँमा पार्कहरु र चिल्डेर्न पार्कहरु बनायौँ ।
पहिलो पब्लिक क्याम्पस (पोखरा बहुमुखी क्याम्पस) को स्थापना गर्यौँ । सयौँ किमि नयाँ पिच सडक तथा करिब ५ सय किमि ग्राभलसडक विभिन्न वडामा बनायौं । सार्वजनिक जमिन अतिक्रमण रोक्न, जग्गा संरक्षण कार्यहरु गरी स–साना आयोजनाहरुलाई भारतीय नाकाबन्दी करिब एक वर्षका बाबजुद, अतिरिक्त चन्दा उठाउने व्यवस्था मिलाई, जग्गा समेत व्यवस्था गरी पोखराको पहिलो सभागृह हल निर्माण गरी तत्कालीन राजा वीरेन्द्रबाट सम्उद्घाटन गरियो । (अफसोच हाल सभागृह हल मर्मतसम्भारविहीन अवस्थामा छ ) । नगर पञ्चायतको आफ्नै स्रोत आधा रकम र केन्द्रबाट आधा रकम जुटाई महेन्द्रपुल निर्माण गर्यौँ । तत्कालीन राजा वीरेन्द्रबाट उद्घाटन गर्ने कार्यक्रम थियो नगर पञ्चायतको विकासको कामले खुशी भएर उहाँको हुकुम बमोजिम तत्कालीन राष्ट्रिय पञ्चायत अध्यक्ष, मन्त्रिगणहरु, मान्यज्यूहरु, पोखराबासी आदरणीय पोखराबासी जनसमुदायका सामु हामीले उद्घाटन अवसर पायौँ ।
राममन्दिर नजिकबाट वडा नं ९ र ११ जोड्ने सानो सेती नदी पुलको निर्माण, प्राय जसो प्रत्यक वडाको उपयुक्त पायक पर्ने ठाउँमा बस बिसाउने निर्माण दुई दशकदेखि पुरानो हवाई मैदानबाट विस्थापित गरी नयाँ ठाउँमा सारिएका पीडितलाई स्थायी सिफारिस दिई करमुक्त गर्यौँ । वडा वडामा स्वास्थ्य स्वयम् सेवक सेविका र प्रसूति सेवा गराउने महिलाह परिचालन, किसान संगठन र जिल्ला कृषि कार्यालय र विज्ञहरुलाई परिचालन गरी उत्पादन बढाउन रवि बाली, र फलफूल एवं सागपात उत्पादनलाई अगुवा कृषक तालिम बिउबिजन भण्डार केन्द्र, कृषि औजार सहयोग गरी आयातित सागपात वा आयातित अण्डालाई विस्थापित गर्न युवक संगठको परिचालनबाट नगरमा २४– २५ पोल्ट्रीफर्म व्यवसायबाट २०० भन्दा बढी पोल्ट्री व्यवसायहरुको संरक्षण ग¥यौँ । हरियो सागपातमा उत्पादन बृद्धी गरी पोखरा नगरमा बाहिरी निर्भरता कम गर्न उत्पादन वृद्धि गर्ने लक्ष्य लिई बैदाम, मासवार, मालेपाटन, बाँझापाटन चाउथे छिनडाँडा, बाटुलेचौर लगायतका वडाहरुमा कृषि कार्यक्रममा सघायौँ साथै हिमपाईप मार्फत सिँचाई व्यवस्था मिलायौँ ।
ढुवानी खर्च व्यहोरी बिक्री केन्द्रहरु पनि बनायौँ । अफसोच यो कार्यक्रमले थप निरन्तरता पाउन सकेन । दुग्ध उत्पादनका लागि क्षेत्रीय पवि निर्देशनालयको प्राविधिक सहयोग उपलब्ध गराई पोखरामै पहिलोपटक जर्सी गाई, होलस्टेन गाई (१०–१२ देखी २५ लि. दुध दिन सक्ने) जातका गाईहरु भित्रायौँ । पहिलो गाई पाल्न पोनपा वडा नं ११ निवासी बृटिस आर्मीका सेवा निवृत क्या. जितबहादुर गुरुङद्वले व्यावसायिक रुपमै सफलतापूर्वक उक्त व्यवसाय धेरै वर्ष अपनाउनु भयो । अन्य केही व्यक्तिहरुले सुरु गरे तर व्यवसायिक रुपमा निरन्तरता दिन सकेनन् । तैपनि केही हदसम्म सानो नश्ल सुधार भएकाले हाल दुग्ध उत्पाद बढेको छ र तर कृषि तथा पशुपालन व्यवसायमा नयाँ पिढी जति उत्साहित हुुनुपर्ने हो त्यति हुन सकेको छैन ।
विदेशबाट केही फर्केका केही युवा दम्पतीहरु र केही स्थायि व्यक्तिहरु पनि थोरै संख्यामा भएपनि व्यवसायिकरुपमै सफलतापूर्वक भैँसी पालन गरी दुग्ध व्यावसाय गर्ने, ट्राउट तथा मक्षपालन गर्ने, बङ्गुर तथा कुखुरा पाल गर्ने, टनेल बनाई बेमौसमी तरकारी उत्पादन गर्ने कार्यमा सफलतापूर्वक लागिपरेका छन् । यस्ता कृषकहरुलाई म मेरो व्यक्तिगत तर्फबाट मनैदेखि विशेष अभिवादन गर्दछु । यसको देखासिकी बेरोजगार युवायुवतीहरुले गर्नसके त्यसमा स्थायिय ईकाइले तालिम तथा प्रोत्साहनका लागि विउ, प्रांगारिक मल, ससाना औजार सहयोग गरी बिक्री केन्द्रहरुको स्थापना वा बजार व्यवस्थापनको लागि मध्यस्थकर्ताको भूमिका खेल्न सके ठूलो संख्यामा रोजगारी वृद्धि हुने र आफ्नै देशमा स्वाभिमानपूर्वक आफ्नै परिवारजनमा रमाउने अवसर प्राप्त हुन सक्दछ ।
११. विद्युतीकरण, सौर्यऊर्जाद्वारा महानगरका मुख्य सडकहरु, बस्ती भएका ठाउँका शाखा र साना सडकहरुमा सुरक्षाको दृष्टिकोणले समेत सकड बत्ती, महानगरपालिकाका सबै क्षेत्रमा पुर्याउनुपर्ने आजको आवश्यकता हो । महानगरबासिले न्यूनतम पनि उज्यालोमा बस्न पाउनुपर्ने स्वच्छ पिउने पानी पाउनुपर्ने, गरिब कम आयश्रोत भएका किसान, मजदुर वर्ग, सबैले सरकारी विद्यालयहरुबाट स्तरिय शिक्षा पाउनु आशा गर्नु स्वाभाविक हो । तर अधिकतम शिक्षकहरुको स्तर राष्ट्रिय औसत शिक्षा प्रदान गर्न सक्ने क्षमता छैन । राजनीतिक पार्टीका र विद्यालय व्यवस्थापन समितिका सदस्यहरु र कमजोर प्रधानाध्यापक कारणले राजनीतिक दबाबमा दलका योग्यता नपुगेका शिक्षकहरुको संख्या अधिकतम छ । तसर्थ निजी विद्यालयको तुलनामा केही विद्यालय अपवाद बाहेक शैक्षिक स्तर खस्कँदो छ । यो कमजोरीले उच्च मनोबल इच्छा शक्ति भएका विद्यार्थीहरु उत्पादनमा प्रत्यक्ष असर पुर्याएको छ । नतिजा चिन्ताजनक छ । वाध्य भएर रिन धन गरेर भए पनि निजी विद्यालयहरुमा पढाउन पाए हुन्थ्यो भन्ने अभिलाशा बोकी निजी विद्यालयप्रति आकर्षण बढ्दो छ र यो राष्ट्रिय शिक्षा नीतिको लागि घातक सावित भएको छ । यस विषयमा अव हुने निर्वाचित जनप्रतिनिधिले सोच्नु पर्ने हुँदा गम्भिर रुपमा ध्यानाकर्षण गराउँन चाहन्छु ।
विद्युत सुविधा सबै वडाका वस्तिहरुमा अनिवार्य रुपमा पु¥याउनु पर्दछ । र यी सामान्य सुविधाहरुको प्राप्ती बिना महानगरबासी आफूलाई महानगरबासी महसुस गर्न सक्दैनन । हाम्रो नगरका छिमेकी उत्तरी भेगका गाउँपालिका वा जिल्लाहरुमा विशेष गरी प्रदेश नं ४ क्षेत्रमा ठूलो मात्रामा विद्युतीय ऊर्जा उत्पादन गर्ने प्रशस्त स्थानहरु छन् । निजी क्षेत्रसँग सहकार्य गरी छिमेकी राष्ट्रहरु र विभिन्न देशका सहयोगिदाताहरुको ध्यानाकर्षण गराई उपयुक्त प्राविधीकबाट प्रस्ताव बनाई नेपाल सरकारको सहमति लिई आयोजना करिब १०० मेवा निर्माण सम्पन्न गर्न सके र कयात यिबल मा गर्न सके ब्याज किस्ता र सञ्चालन संवाद खर्च कट्टी गरी वार्षिक कम्तीमा डेर अर्ब रुपैयाँ बचत गरी विकास निर्माण कार्यलाई तिब्र गति दिन सकिन्छ । र उक्त रकम अन्य दिर्घकालिन आयोजनामा लगानी गर्न सकिन्छ । स्थानीय बैंकहरुबाट कर्जा लिएर काम गर्दा पनि न्यूनतम वार्षिक एक अर्ब रकम संचित गरी विकास निर्माणमा प्रयोग गर्न सकिन्छ । यसको दृढ ईक्षाशक्ति, महत्वकांक्षा र दक्ष तथा विज्ञ सल्लाहकारको नियुक्ति गरी प्रतिबद्ध गर्ने आँट गर्न सक्नुपर्दछ । नियमित स्रोतलाई नचलाईकन छुट्टै स्रोत परिचालन गर्न सकिन्छ । इच्छा शक्ति भए निर्वाचित मेयर-उपमेयरले म लगायतसँग परामर्श गर्न चाहनुभएमा उचित सल्लाह सुझाव दिन तत्पर भएको व्यहोरा आग्रह गर्दछु ।
मेरो २०४१÷२०४६ देखि अनुभवले आदरणीय नगरबासीले गर्नुभएको विश्वासले सिक्न पाएको पाठले मेरो जिवनमा ठूलो परिवर्तन ल्याएको व्यहोरा निवेदन गर्दै पञ्चायतकालमा दुई पटक निर्वाचित गरी नगरबासीहरुको सेवा गर्ने अवसर दिई केही काम देखाउने र धेरै सिक्ने अवसर प्रदान गर्नुभएकोमा फेरि उक्त व्यहोरा स्मरण गर्दै तत्कालिन नगरपञ्चायत वोर्ड, नगरसभा, तत्कालीन व्यापार संघ, औद्योगिक व्यवसायी मित्रहरु, तत्कालिन पत्रकार महानुभावहरुहरु, साहित्यकारहरु साथै सम्पुर्ण नगरवासिहरु तत्कालीन छिमेक गाविस मित्रहरु सबैमा हार्दिक कृतज्ञता व्यक्त गर्दै धन्यवाद व्यक्त गर्दछु ।
११ त्यसबेलामा ब्लड बैंकको स्थापना, परिवार नियोजन भवनको निर्माण विभिन्न ठाउँमा रेडक्रस भवनको निर्माण, विभिन्न ठाउँ धेरै क्लबको स्थापना (लायन्स क्लब, सिद्धार्थ युवा क्लब, लगायत विभिन्न युवा क्लबहरुको काममा प्रत्यक्ष, अप्रत्यक्ष सहयोग गर्न पाउँदा सबै संघसंस्था तत्कालीन सबै सदस्य महानुभावहरुप्रति तत्कालीन समयको स्मरण गर्दै आभार व्यक्त गर्दछु ।
११. तत्कालीन श्री ५ को सरकार, तत्कालीन अवस्थाको जापान सरकार, नेदरल्याण्ड सरकार र त्यहाँका स्थानीयबासीहरुबाट क्रमश एक माउण्टेन म्युजियमको लागि करिब १०० रोपनी जग्गाको व्यवस्था, नेदरल्याण्ड सरकार र त्यहाँका जनताको सहयोगबाट पोखरा आँखा अस्पतालको निर्माण, जापान सरकारको तर्फबाट क्षयरोग निवारण क्षेत्रीय अस्पताल निर्माणमा विशेष भूमिका खेल्न पाएको थिएँ । सबै सम्बन्धित दाताहरुप्रति प्रत्यक्ष र अप्रत्यक्ष सहयोग गर्नेहरुप्रति तत्कालीन कुराको स्मरण गर्दै आभार व्यक्त गर्न चाहन्छु । यस बाहेक धेरै कामहरु गरिएको छ । तर ती प्राय सबै कुराहरु उल्लेख गर्न समसामायिक नहोला ।
टाउन डेभलपमेन्ट फन्डको प्राविधिक सहयोगमा पोखराको व्यवस्थित ढल निकास र फोहोरमैला व्यवस्थापन प्रारम्भिक आयोजना विश्लेषण गरी कार्य सुरु भएको थियो, त्यसकै आधारमा पछि एसियाली विकास बैंकको ऋण सहयोगमा पर्यटकिय पुर्वाधार विकास कार्यक्रम अन्तर्गत पक्की ढलक निकास निर्माण कार्यक्रम र पोखराको भैरहेको एयरपोर्टको टर्मिनल भवन र पक्की रनवे निर्माण कार्यक्रम र पर्यटकीय सूचना केन्द्रको निर्माण भएको हो । तर अफसोच ढल निर्माण भए पनि ढलको व्यवस्थित मर्मतसम्भार हुन नसकेकाले दुखी छौँ ।
……………….
भावी पोखराका सम्भावित मझौला तथा ठूला दीर्घकालीन आयोजनाहरु । आम पोखरेलीबासी समेतको चाहना अनुसार मेरो सुझावः
१२(क) सनातन धर्म र संस्कृतिको रक्षाका निमित्त हिन्दु सनातन धर्मालम्वी र बौद्ध धर्मालम्वी समेत बौद्ध धर्म सम्बन्धी ग्रन्थहरु, पाठ्य पुस्तकहरु अहिलेसम्म भएका स्रोत पत्रहरु अध्ययन र अनुसन्धानका विषयहरु छापिएका पुस्तकहरु समेतको पूर्ण जानकारी गर्ने गराउने उद्देश्यले एउटा क्षेत्रीयस्तरको आधुनिक पुस्ताकालय एवं ई. पुस्ताकलय स्थापना गरी विभिन्न भाषामा पर्यटकहरुलाई पनि अध्ययन गर्न सक्ने गरी बैदामको केदारेश्वर मन्दिर नजिक वा भद्रकाली मन्दिरको समथर जमिनमा मन्दिर व्यवस्थापन समितिको समेत सहकार्यमा स्तरिय अध्ययन अनुसन्धान केन्द्र बनाउनु पर्ने ।
ख) पोखरा वडा नं १६ को सुरथेश्वर शिव मन्दिर प्रांगणमा स्थानीय समाजसेवीहरु र मन्दिरका जग्गादाता केसी परिवारका समेतसँग र केदारेश्वर मन्दिरका पिठाधीशसँग समन्वय गरी करिब ४०० जना बस्न सक्ने अत्याधिक अपांगमैत्री वृद्धाश्रमको निर्माण, यस्तै वडा नं १७ महतगौंडास्थित समाजसेवी आदरणीय वसन्तकेशव पराजुलीज्यूको नेतृत्वमा सञ्चालित वृद्धाश्रमलाई थप सय कोठाको भवन अत्याधिक आधुनिक अपांगमैत्री ज्येष्ठ नागरिक वृद्धाश्रम निर्माण हुनुपर्ने, वडा नं १४ लामपाटन पुछारको सेती किनारमा अवस्थित अपांग मैत्री वृद्धाश्रम निर्माण गरी क्षमता वृद्धि गर्नुपर्ने । साविक लेखनाथ हाल पोखरा लेखनाथ महानगरपालिकाका १० वटा वडाका उपयुक्त दुई ठाउँमा १००–१०० कोठाका दुई ठाउँमा वृद्धाश्रम निर्माण गरी सेवा उपलब्ध गराउनुपर्ने आवश्यकता । विन्दवासिनी मन्दिरका गुरुको नेतृत्वमा लेखनाथ कालिकास्थित स्थानीयले उपलब्ध गराएको जमिनमा आधुनिक बगैंचासहितको नेपालका सबै जातिका आमाको संस्कृति र भेषभूषा झल्कने गरी नेपाल आमा मन्दिरको निर्माण गर्ने ।
ग) भवितव्य, घटना, दुर्घटनाका कारणबाट आफ्ना अभिभावक गुमाएर र सडकमा वेवारिसे अवस्थामा फेला परेका बालबालिकाका लागि एस्ओएस् बालग्रामको कमसेकम थप २०० जनाको क्षमता अभिवृद्धि गर्ने । अन्य यस्तै उद्देश्ले स्थापित संघ संस्थाहरुलाई पनि सहयोग गर्ने । जनसंख्याको आधारमा सम्भव भएसम्म प्रत्येक वडामा आधुनिक पूर्वाधार सहितको बालपार्क निर्माण हुनुपर्ने ।
घ) वयस्क नागरिक र ज्येष्ठ नागरिकहरुको व्यायामको निमित्त जगिङ पथ र व्यायम केन्द्रहरु प्रत्येक वडाहरुमा निर्माण हुनुपर्ने ।
ङ)प्रत्येक वडामा ६५–७० वर्ष नाघेका ज्येष्ठ नागरिकहरुलाई दिन बिताउनको लागि रोग र व्यथालाई न्यूनीकरण गर्नको विभिन्न धार्मिक संस्था समाजसेवामा संलग्न ईच्छुक क्लबहरु तमुधि, तमुछोजधी, मगर समाज नेपाल, ब्राम्हण समाज, क्षेत्री समाज नेपाल, केदारेश्वर मन्दिर विन्दवासिनी मन्दिर, भद्रकाली मन्दिर, नेपाल परोपकार महासंघ जस्ता संघसंस्थाहरु, नेवाछे आदि जस्ता प्रत्यक्ष समाजसेवा संलग्न संघसंस्थाहरुलाई पूर्वाधार विकासका लागि आर्थिक टेवा दिई इच्छुक जनशक्तिलाई तालिमको व्यवस्था गरी पूर्वाधार बनाई दिवासेवा केन्द्र स्थापना गर्ने ।
च)पढ्दा पढ्दै विविध कारणबस आफ्नो शिक्षा पूरा गर्न नसकेका, विदेश जाने पनि अवसर नपाएका, रोजगारीको अवसर नपाएका युवा जनशक्तिको प्रत्यक वडाको संख्या पत्ता लगाई सिकर्मी, डकर्मी, मार्वल र टायल लगाउने, बत्तीको वाइरिङ गर्ने, पाइप तथा बाथरुमको काम गर्न सक्ने वागवानी नर्सरीको बिरुवा तयार पार्ने, सिप सिकाउने, साना व्यवसाय सफा सग्घर रही पकाउने सिप र तालिम लिई मम, अमलेट, चाउमिन, नेपाली विभिन्न परिकारहरु सेलरोटी, हलुवा, जेरी, पुरी वा यस्ता परिकारहरु बनाउने सिप सिकाई रोजगारी पाउने अवस्था सिर्जना गर्ने वा सानो सानो साइजका फुड स्टलहरु स्थापना गरी रोजगारिमा वृद्धि गर्ने ।
छ) विगत करिब २-३ दशकौंदेखि देशबाट ठूलो संख्यामा वर्षेनी लाखौं युवा तथा वयस्क जनशक्ति(महिला तथा युवा) स्वदेशमा रोजगारीको अभाव महसुस गर्दै विदेशिनेको संख्या दिनप्रतिदिन बढिरहेको छ । सक्ने युरोप, अमेरिका, जापान, अस्ट्रेलिया जाने नसक्ने मलेसिया एवं अरवियन मुलुकहरुमा अत्यन्त चर्को तापक्रम सहँदै आफू र परिवारजनको सुन्दर भविष्य खोज्दे पलायन भइरहेको अवस्था छ, चिकित्सक, प्राविधिक इन्जिनियर र प्राय शिक्षित, शैक्षिक योग्यता कम भएका, सबैको दृष्टिकोणमा देशमा बसेर उपलब्धि गर्न सकिन्न भन्ने सोचाइले प्राय ग्रस्त भएको पाइन्छ । सरकार यो समस्यालाई संवेदनशील रुपमा हेर्नु भन्दा पनि नेपाली श्रमिकबाट भित्रिने विदेशी मुद्रा विप्रेषण भित्रिएकोमा सन्तुष्ट छ । यसबाट गाउँका गाउँ युवा तथा वयस्क जनशक्ति रित्तिएको विगतमा, कृषि उत्पादन निर्यात गर्ने मुलुक ८० प्रतिशत त किसान भएको मुलुक आज वार्षिक खर्बाै रुपैयाँ कृषि उपज र पशुपक्षी आयात गरिरहेको छ ।
यो बाहेक ४० औँ लाख युवा जनशक्ति भारतका विभिन्न बजारहरुमा असाध्यै न्यून स्तरको काम गरेर परिवार पाल्न बाध्य छन् । यस्तो लाग्छ सरकारको जनताप्रति कुनै जिम्मेवारीको वोध छैन ।
युवा जनशक्ति पलायन, कृषि उपजमा पनि परनिर्भता बढ्नु देशको लागि लाजमर्दो परिस्थिति हो । स्थानीय जनप्रतिनिधिहरु, देशको युवा जनशक्ति पलायन हुनबाट कसरी रोक्ने भन्ने विषयमा गम्भीर भई विभिन्न रोजगार मुलक कार्यक्रम दिई केन्द्रीय सरकारको नेतृत्वलाई पनि दवाब दिन सक्नु पर्दछ ।
यति मात्र होइन युवा दम्पतीको विछोडले कतिपय पारिवारिक समस्या र सामाजिक समस्या वृद्धि भएका छन् । विदेशबाट लामो समय काम गरी जीर्ण र थाकेको शरीर लिएर फर्किने समस्या केही वर्षपछि देशले भोग्नु पर्नेछ । त्यसैले उपरोक्त कारणहरुले गर्दा देशका नेतृत्व तहमा बस्ने नेतागण, नीति निर्माणकर्ताहरु अहिलेदेखि नै सर्तक भई भावी देशमा रोजगारी सम्बन्धी कार्ययोजनाहरुलाई कार्यान्वयन गर्नुपर्ने अवस्था छ ।
१३. पोखरा लेखनाथ महानगरपालिका भित्रमा गर्नुपर्ने दीर्घकालीन विकास निर्माण आयोजनाहरुका बारेमा यहाँका प्रबुद्ध व्यक्तिहरुको रायसमेतको आधारमा केन्द्रले गर्ने सुझावका सम्बन्धमाः–
विकासको सम्बन्धमा महानगरपालिका भित्र पर्ने केन्द्रीय स्तरका आयोजनाहरु सडक, दुरसञ्चार, पिउने पानी, ढलनिकास, विद्युत प्राधिकरण जस्ता सम्बन्धित विभागहरुका समन्वय नभएको कारणबाट ठूलो आर्थिक क्षति र बेलाबखतमा जनधनको क्षति समेत हुने गरेको छ उदाहरणको लागि हालको काठमाडौँ महानगरपालिको वर्तमान अवस्था, त्यस्ता समस्याहरु हाम्रो पोखरा लेखनाथ महानगरमा नदोहोरिन बेलैमा सम्बन्धित निकायहरुमा समन्वय गराई महत्वपूर्ण भूमिका खेल्न सक्नुपर्ने हुन्छ ।
१४. हाम्रो महानगरपालिका भित्रमा गर्नुपर्ने दीर्घकालीन विकासका बारेमा सर्वप्रथम योजना सुरु गर्नुभन्दा अगावै विगतका कमिकमजोरी विश्लेषण गरी भावी रणनीति, कार्यनीति तय गरिनुपर्दछ । काम सुरु गर्नुभन्दा अगाडि सो कामको गुणस्तर कस्तो गर्ने आयोजना कम्तीमा कति वर्ष खप्ने बनाउने हो स्पष्ट हुनु पर्दछ । जस्तै खानेपानी, ढल, सडक, अनि विद्युत लाईन विस्तार आदिको सेवा प्रदान गर्नु अगाडी हालको जनसंख्याको अवस्था हेरी भावि दुईतिन दशक पछिको उपभोक्ताको अवस्था के हुने भन्ने पूर्वानुमान गरी क्षमता विचार गर्नुपर्ने हुन्छ । जसले गर्दा एउटा काम दोहोर्याई–तेहर्याई गर्न नपरोस् ।
क)पोखरा औषतमा विश्वमै बढी वर्षात हुने ठाउँ हो । पानी जम्ने खास समस्या पोखरामा नरहेतापनि पानीले गर्दा पिच सडकको लाइफ कमजोर हुन्छ तसर्थ, पोखरा महानगरपालिका भएपनि पोखराका प्राय सबै सडकहरु पिच भन्दा ढलान गर्न उपयुक्त हुन्छ । खोलानालाको स्रोत नजिक भएकोले गिटी बालुवा अन्य शहरको तुलनामा खासै महँगो छैन । लागत पनि पिचभन्दा साह्रै महँगो हुने देखिँदैन तर लाइफ चार पाँच गुणा बढी हुने देखिन्छ । उदारहणको लागि म नगरप्रमुख हुँदा पोखराका केही स्थानहरुमा साना क्षेत्रमा गरेको ढलान अहिलेसम्म केही भएको छैन । स्तरीय तरिकाले ढलान गर्न सक्यो भने २५–३० वर्ष खपेको पाइयो । तर पिच सडकहरु चारपाँच वर्षहरुमा फेरी मर्मत गर्नुपर्ने र स्तरीय काम नहुँदा एकै वर्षमा पनि विग्रेभत्केको पाइयो । यस्ता अवस्थाले गर्दा एउटै काम वर्षैपिच्छे पुनःनिर्माण गर्नुपर्दा जनताबाट उठेको करको सही सदुपयोग भएको भन्न मिलेन तसर्थ स्तरयुक्त ढलान गर्न उपयुक्त हुनेछ । अझै लङटर्म योजना बनाई पोखराका चार क्षेत्रका महानगरपालिको आफ्नै आश्यक संयन्त्रहरु स्थापना गरी काम गर्ने हो भने सडकको लगानि १५ देखि २० प्रतिशत बचाउन सकिन्छ ।
ख) विगतमा बनेका केही सडकहरुको अध्ययन गर्दा एउटै सडकलाई २० वर्षको अध्ययन मा ४–५ वर्षको अन्तरालमा पुननिर्माण गरेको पाइयो ।
ग) तीस वर्ष अगाडि कम भारबहन क्षमता भएका सवारीसाधन प्रयोग हुने बेलामा भएको सडकको स्तर हाल पनि उक्त डिजाइन नै प्रयोग भइरहेको हुँदा, उक्त डिजाइन परिवर्तन गर्नुपर्ने आवश्यकता देखिन्छ । कालोपत्रे सडकनै निर्माण गर्ने हो भने पनि बेसकोर्सको मोटाई अनि पिचको मोटाई र रोलरको कम्प्यासन क्षमता समेत बढाई निर्माण गर्नुपर्ने देखिन्छ । पिचको मोटाइ ठाउँ हेरेर कम्तीमा चारदेखि पाँच सेमी गर्नुपर्ने देखिन्छ ।
१५.अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक सभा, सम्मेलनकेन्द्रको निर्माण गर्नुपर्ने, करिब ३५–४० वर्ष अगाडि निर्माण भएको पोखरा सभागृह अहिलेको जनसंख्या, क्षेत्र विस्तार र प्रदेश नं ४ को सदरमुकामको हैसियतमा पनि पर्ने र राज्यको अतिसुन्दर महानगरपालिका भएको कारणले पनि केन्द्रीयस्तरका र अन्तर्राष्ट्रिय स्तरका राष्ट्रप्रमुखहरुको सभा सम्मेलन गर्नसक्ने गरी कम्तीमा ४००० क्षमता सिट भएको सभासम्मेलन केन्द्र निर्माण गर्न जरुरी भइसकेको छ । केन्द्रीय स्तरमा पनि यो विषयमा पटक पटक चर्चा भइसकेको हो । तापनी यसले मूर्त रुप लिन सकेको छैन । पोखरा तथा लेखनाथ क्षेत्र भित्रमा कम्तीमा फराकिलो बाटो जोड्न सकिने १०० रोपनी क्षेत्रफलमा हजारौँ गाडी पार्किङ क्षेत्र, गार्डन क्षेत्र आदि जस्ता पूर्वाधार बनाउन मिल्ने, त्रफल छुट्टाई राज्यसँग सहयोग लिई बनाउने वा राज्यलाई बनाउन लगाउने अत्यावश्यक भइसकेको छ ।
१६.पोखरा हावापानी र प्राकृतिक रुपमा रमणियताले भरिपूर्ण शहर हो । यो शहर स्वास्थ्य केन्द्रको रुपमा पनि विकास हुन सक्दछ र आजभन्दा ३० औँ अगाडि पञ्चालयतकालमा क्षेत्रीय स्तरको रुपमा निर्माण भएको अस्पतालले किरामीको चापलाई धान्न सकिरहेको छैन । निजी क्षेत्रको मणिपाल कलेजको अस्पतालले धेरै जनसंख्यालाई समेट्न नसकेको साथै पटकपटकको हडतालले जनतामाझ भइरहेको साख पनि गुमाइराखेको छ । त्यसैले महानगरपालिकाले आफ्नो नगरबासीको हितका निमित्त बालअस्पताल तथा मातृशिशु कल्याण केन्द्र, लगायत मुटु, कलेजो, किड्नी, न्युरो, हाडजोर्नी, अर्वुद रोग र सर्वसाधारणको सामान्य बिमारीको उपचारको लागि सबै सुविधा भएको २१ औं शताब्दी सुहाँउदो आधुनिक अस्पताल निर्माण गर्नुपर्ने देखिन्छ । अस्पतालको खर्च व्यवस्थापनका लागि युग सुहाउँदो मेडिकल कलेजको स्थापना अत्यावश्यक भइसकेको छ । महानगरपालिका परिसरमा स्रोतको कमि छ भने पनि २५ प्रतिशत लगानि महानगरपालिका र ७५ प्रतिशत निजी क्षेत्रलाई समन्वय गरेर लगानी गराई व्यवस्थापन गर्न सकिन्छ । सर्वसाधारणको लागि अति न्यून शुल्कपर्ने गरी उपचार हुन आवश्यक छ । यसमा नर्सिङ क्याम्पस लगायत अस्पतालको निमित्त प्रयोग हुने अन्य मझौला जनशक्तिको पनि तयार पार्न सकिन्छ ।
१७.पोखराका विभिन्न भेगमा कम्तीमा पनि अहिले निर्माण अवस्थामा बैदाम–सराङ्कोट केबलकार बाहेक पनि कम्तिमा चारपाँच ठाउँमा केबलकारको स्थापना गर्न सकिन्छ । जस्तै वेगनासताल आसपासबाट बेगनासतालको मनोरम दृश्य हेर्दै कालिका मन्दिरको अग्लो भुभागमा, १४ नं वडाको सिमानादेखि भरतपोखरी निर्मलपोखरकिो भेगमा, ठूलाखेत क्षेत्रको आसपास देखी पञ्चासे सम्म, आदि । यसमा पनि नगरपालिको न्यूनतम शेयर राखेर निजी क्षेत्रलाई प्रोत्साहित गरी लगानी जुटाउन सकिन्छ । यसबाट स्वेदेशी तथा विदेशी पर्यटकहरु आकर्षित हुने पर्यटकीय बसाई लम्बिने, स्थानिय रोजगारी अभिवृद्धि हुने ।
१८.पर्यावरणीय सन्तुलनको दृष्टिकोणले पोखराको हरित क्षेत्र बढाउनु पर्ने अति आवश्यक छ तर बढ्दो शहरीकरणले गर्दा वन जंगल क्षेत्र अतिक्रमण हुँदै गएको छ । तसर्थ सौर्य उर्जाको खपत र जलविद्युत उर्जाको खपतलाई प्रोत्साहित गरी डिजेल, पेट्रोल, आयातित ग्याँस खपतलाई निरुत्साहित गरी न्युनिकरण गर्ने हाम्रो शहरलाई आवश्यकता भइसकेको छ । एकातिर बढ्दो विदेशी उर्जाको निर्भरताले गर्दा हाम्रै शहरबासीको पेट्रोलियम पदार्थ खपत पनि खबौँ पुगेको छ । संचित विदेशी मुद्रा खर्च भइरहेको छ । तसर्थ हाम्रा सवारी साधनहरु प्रत्येक भान्सामा खपत हुने उर्जा हाम्रै देशको विद्युतको खपतमा आधारित हुनु पर्दछ । त्यसैले अधिकतम विद्युतको उत्पादन गरी आयातित उर्जालाई विस्तापित गरिनुपर्दछ र हाम्रा यातायातका साधनहरु बनोट विद्युत ऊर्जा खपतमा आधारित हुनु पर्दछ । यसकार्यले छिट्टै हाम्रो मुलुक आर्थिक रुपले सम्पन्नतातर्फ उन्मुख हुनेछ ।
१९) हेर्दा महोतोकांक्षी तर दृढ संकल्प इच्छा शक्ति हुने हो भने छिमेकी राष्ट्र चिन,भारत, विश्व बैंक तथा एसियाली विकास बैंकलाई दक्ष जनशक्ति प्राविधीकद्धारा स्तरिय प्रस्ताव बनाई प्रसतुत गर्ने हो भने गर्न सकिने छ । पोखराको बाटो पहाडी भूभाग हुदाहुँदै पनि चौडाइ पर्याप्त चौडाई भएको कारणले यो योजना सम्भव छः
– पोखरा ट्रलिबस आयोजना । कोत्रेखोला पुल देखी पृथ्वी राजमार्ग हुँदै वेगनास देखी राजमार्ग जोड्दै विजयपुर खोला तर्दै अमरसिंह, पृथ्वीचोक हुँदै विमानस्थलको सिमाना हुँदै मुस्ताङचोक, विरौटा , छोरेपाटन हुँदै फेरी विरौटा फर्किदैँ ड्यामसाईड,राष्ट्रबैंकचोक हँदै बसुन्धारा पार्कसम्म बैदामको कुनै एउटा बाटोबाट नारेश्वर, जरेबर हुँदै हल्लनचोकसम्म पुर्याई त्यहाँबाट फर्किैएर जिरो किमि हुँदै विन्धबासिनी तर्फबाट हेमजा हुँदै सुइँखेतसम्म पुगी फर्केर हेमजा हुँदै सिम्पानी चोकबाट भिमकालिपाटन, क्याम्पस गेट नदीपुरबाट फुलबारी, रानिपौवा टेलिकम हुँदै बौद्ध मन्दिर प्रांगण हुँदै भद्रकाली हुँदै बाँझापाटन निस्की आर्बाको सुनपँधेलीसम्म ट्रलीबस सञ्चाल निर्माण गर्न सकिन्छ । अमरसिंह देखी हस्पिटल हुँदै महेन्द्रपुलसम्म, जिरो किमिदेखि पृथ्वीचोकसम्म, सभाागृहचोकदेखि बिपीचोकसम्म सेवा दिन सकिन्छ । यो योजना कार्यान्वयन गर्न सकेको खण्डमा जनतालाई अधिकतंम सुविधा पुग्ने र पर्यावरणिय हिसाबले प्रदुषण न्यूनीकरण गर्नुका साथै रोजगार सिर्जना गरी आर्थिक रुपले सम्पन्नता हासिल गर्नुका साथै पेट्रोलियम पदार्थ खपतमा न्यूनीकरण आई वार्षिक रुपले खबौँ रुपैँया जोगिने छ ।
२०.महानगरमा खेलकुद विकासका सम्बन्धमा
क)भइरहेको स्टेडियममा केही संरचनाहरु निर्माणाधीन छन् । प्याराफिटको क्षमता बढाउनुपर्ने आवश्यकता, व्यवस्थित शौचालय निर्माण, स्थाई पर्खालहरु निर्माण गर्न अथित जरुरी छ । ईन्डोर गेमको लागि केही पुर्वाधार भए पनि पर्याप्त छैनन् । त्यसैले खेलकुद मन्त्रालयसँग समन्वय गरी पूर्वाधार विकासमा महानगरपालिकाले समन्वयार्थ भूमिका खेल्न सक्नु पर्दछ । पोखरामा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट स्टेडियम निर्माण गरी सञ्चालनमा ल्याउन सके उपयुक्त, अनुभवि देश र विज्ञ र व्यवसायिक संस्थाहरुको समन्वयबाट अन्र्तराष्ट्रिय स्तरका खेलहरु गराउन सकियो भने पर्यटकीय व्यवसायमा अतुलनिय योगदान पुग्नेछ । हिमश्रृंखलाका मनोरम दृश्य अवलोकन गर्दे क्रिकेट खेल्ने ठाउँहरु संसारमा विरलै छन् ।
ख)प्रत्येक वडाहरुमा सानासाना खेलमैदान जस्तै फुटबल मैदान, भलिबल मैदान, क्रिकेट मैदान आदि बनाई नगरस्तरीय खेलाडी तयार पारी कालान्तरमा राष्ट्रिय खेलाडिसम्म पुग्नेछ । यस्ता क्रियाकपालपमा बढी से बढी युवा क्लबहरु, खेलकुद सामाजिक संस्थाहरु र महानगरपालिकाबीच समन्वय हुनुपर्दछ ।
२१. हाम्रा महानगरबासीले तिर्नुपर्ने करदस्तुर र सेवा दस्तुरबारे छोटो सुझावः
क) करदस्तुर लागु गर्दा समान्यतय कुन सेवा, कुन प्रकारको महानगरपालिका बासीले प्रत्यक्ष प्रयोग गर्न पाउनुहुन्छ त्यसको आधारमा कर तिर्नुपर्दा पिडा महसुस गर्दैनन् । जस्तै सडक बत्ति सेवा, पर्याप्त पिउने पानीको सेवा, सफाई दस्तुरको सेवा । महानगरले सेवा पुर्¥याएको आधारमा लिने हो, एकीकृत घरजग्गा सम्पती कर लागु गर्दा सकभर पिडा महशुस नहुने गरी सहज रुपमा तिर्न सक्ने अवस्था बारे विचार पुर्याउनु पर्दछ । हरित क्षेत्र, बागवानी क्षेत्र, फलफूल कृषि क्षेत्रको लागि र वागवानिको लागि एवं बन र पर्यावरणमा सहयोग पुर्याउने किसिमका उत्पादन गर्ने जस्तै सुन्तला खेति, केरा खेती, नास्पती खेती जस्ता फलफूल खेतीहरु एवं पशुका लागि घाँस दाउराका लागि छुट्याइएका नगर क्षेत्रका भुभागहरुको सम्पत्तिकर तोक्दा मिनाह दिने वा न्यून शुल्क मात्र लगाउने नीति गर्नुपर्दछ । यस्ता नीतिले पर्यावरण जोगाउन, हावा शुद्धिकरण गर्न मद्दत गराउँदछ ।
ख) सामान्यतया दोहोरो कर लिइनु हुँदैन, प्रतिपरिवार पाँच रोपनीसम्मको जग्गा, २००० वर्ग फिट सम्मको आवास घरलाई करमुक्त गर्नुपर्दछ । ग्रामीण परिवेशमा भएका घरजग्गाको मूल्यांकन गर्दा, सम्पत्ति कर लिँदा, घर निर्माण गर्ने नक्सा पास दस्तुर तोक्दा अत्यन्तै विचार पुर्याउनु पर्दछ ।
ग)नक्सापास दस्तुर व्यवसाय कर आदि लगाउँदा व्यापारको किसीम हेरी धेरै तहमा वर्गिकरण गर्न जरुरी छ । जस्तै, मुख्यमुख्य व्यापारिक केन्द्र, अलिकम व्यापार गर्ने क्षेत्र, मध्यम व्यवसाय हुने क्षेत्र, अलिअलि व्यवसाय हुने क्षेत्र, अति कम व्यवसाय हुने क्षेत्र, अति विकसित आवासिय क्षेत्र, ठिक्क विकास भएका आवसिय क्षेत्र, कम विकास भएका क्षेत्र, विकासका पहुँच पुग्न बाँकी क्षेत्र, ग्रामीण परिवेश भएका क्षेत्रहरुमा अतिकम कर लगाईनु पर्दछ । नक्सापास दस्तुर पनि यही आधारमा वर्गिकरण गरी लगाईनु पर्दछ ।
घ) पोखरा पर्यटकीय स्थल हो । पर्यटन व्यवसायिमा लाग्ने व्यक्ति, कम्पनि संस्थाहरुलाई चिडिने गरी करको भार हदैसम्म लगाउने प्रवृत्ति राख्नु हुँदैन । सम्पति कर र व्यवसाय कर दुईवटै करको भारले थोपर्नु हुँदैन । प्राय होटल व्यवसाय कर लिँदा होटेलको स्तर, कोठा संख्या, वार्षिक कमाउन सक्ने क्षमता आदिलाई विचार गरी लगाउनु पर्दछ । करको दायर फराकिलो बनाउन सक्नु पर्दछ । कर तिर्नेले म महानगरपालिकाको करदाता हुँ भनेर गर्व गर्न सक्ने वातावरण बनाउनु पर्दछु । करतिर्ने होटलहरु, एग्रो रिसोर्टहरु, होमस्टेहरु, केबलकार उद्योग स्थापना गरी पर्यटन व्यवसायलाई सहयोग गर्नेहरु, प्याराग्लाईडिङ् कम्पनिहरु, बञ्जी जम्प, घोडसवार कम्पनिहरु, हर्स रेस कोर्स, ट्राभल ट्रेकिङ कम्पनी, हेलिकप्टर जस्ता सेवा प्रदायत कम्पनी स्थापना र सञ्चालन गर्न प्रोत्साहित गर्नु पर्दछ । महानगरपालिकाले तोक्ने कर दस्तुर हचुवा भन्दा प्रति ग्राहक दस्तुर लिनु उपयुक्त हुन्छ । यस्तै रेस्टुरेन्ट र बारमा सुहाउँदो व्यावसायिक कर लिन सकिन्छ । नेपाली संस्कृति झल्काउने नाट्यशालाहरुको कर दस्तुर न्यून लगाई प्रोत्साहित गर्नु पर्दछ ।
ङ) प्राइभेट हर्स रेस कोर्ट, केबलकारको सञ्चालन र व्यवस्थापन गर्ने कम्पनीहरु, निजी क्षेत्रले क्रिकेट स्टेडियम विकास गर्न चाहेमा त्यस्ता कम्पनिहरु, भेलेज रिसोर्ट र एग्रो रिसोर्ट खोल्ने कम्पनिहरु, गल्फ कोर्ट स्थापना गर्ने कम्पनिहरु लाई ठुलो लगानि गर्ने र प्रत्यक्ष पर्यटन व्यवसायलाई सघाउने काम गर्ने हुँदा यस्ता व्यवसायहरु र महानगरकै गहनाका रुपमा स्थापित हुने र पर्यावरण जोगाउन सहयोग पुग्ने हुँदा महानगरबाट प्रोत्साहन गरिनु पर्दछ , यस्ता आयोजनाले ठूलो संख्यामा रोजगारीको अवस्था सृजना गर्दछ । यिनीहरुको संभार र सञ्चालन अलि महँगो पर्दछ । त्यसैले पनि यस प्रकारका ठूला लागानीकर्तालाई दाहोरो कर लगाइनु हुँदैन ।
आदरणीय महानगरबासी महानुभावहरु स्थानीय प्रबुद्ध वर्ग सबै माथि उल्लेखित बुद्धिजीवीहरु, विभिन्न छलफलमा पाएका सुझावहरु र मेरो ४० देखि ४५ वर्ष अघिको अनुभव र त्यसपछी मेरो जिवनमा देखेभोगेका अनुभावहरु विभिन्न राजनीतिक परिवर्तन बाट सिकेका पाठहरु उद्योग र व्यवसाय जस्तै मेडिकल कलेज, इन्जिनिरिङ कलेज, आइटी कलेज, होटल म्यानेजमेन्ट कलेज, हाईड्रो पावरहरुको निर्माण, कर्मसियल बैंकको स्थापना, पब्लिक क्याम्पस स्थापनाको अनुभव विभिन्न धार्मिक संघसंस्थाहरुको संगत, विगतमा मान्य सभासद हुँदाको भोगाई आदिबाट ५२ चक्कर ५३ ठक्करबाट सिकेको पाठबाट नै यो सुझावपत्र प्रस्तुत गरी तपाईंहरु समक्ष पेश गरेको छु । यसबाट नवनिर्वाचित जनप्रतिनिधिज्यूहरुलाई केही न केही रुपमा विकासप्रतिको अवधारणा बनाई काम गर्न सक्नुहुन्छ कि ?? भन्ने आशा र भरोसा राखेको छु । यो सुझावपत्र पढ्ने सबै महानुभावहरुप्रति हार्दिक धन्यवाद दिन चाहन्छु । आम पोखरा महानगरबासी सबैलाई वडादेखि महानगर प्रमुख सम्म उठेका उम्मेदवार मध्ये उत्साह र उमंगका साथ मतदानमा भाग लिई उठेका उम्मेदवार मध्य योग्य ठान्नुभएको उम्मेदवारलाई मत दिई आफ्नो मतको सदुपयोग गर्नुहुन अनुरोध गर्दछु ।
धन्यवाद !
पोखरा लेखनाथ महानगरवासीमा सूर्यबहादुर केसीकाे अपिल
61 0Google +0
सूर्यबहादुर केसी
पाेखरा, २३ बैशाख: