
लेखनाथ, २५ वैशाख । नेपाली काँग्रेसका लोकप्रिय नेता स्वर्गीय रामजी पौडेल बादलका दाजु राममणि पौडेल सहित पौडेल परिवारएमालेमा प्रवेश गरेको छ । वि.सं. २०७२ साउन २८ गते नेपाली काँग्रेस कै कार्यकर्ताद्वारा हत्या गरिएका बादलको हत्यारा पत्ता लगाउन त कता हो कता उल्टै पार्टीले संरक्षण गरेर राखेको भन्दै एमालेमा प्रवेश गरेका एमालेले जनाएको छ ।
कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय सल्लाहाकार परिषदका उपाध्यक्ष तथा पूर्वमन्त्री खगराज अधिकारी, पोखरा लेखनाथ महानगरपालिकाको एमालेका तर्फबाट मेयरका उम्मेदवार मानबहादुर जिसी र उपमेयरका उम्मेदवार मञ्जु गुरुङ लगायतले पौडेल परिवारलाई एमालेमा स्वागत गरेका थिए ।
दाइ प्रभु पौडेल, भाइहरु ज्ञानेन्द्र पौडेल, गोपीराज पौडेल, अपिल पौडेल लगायतले काँग्रेसले न्याय नगरेको र उम्मेदवारको हल्ला फिजाएर पनि अन्तिम अवस्थामा आएर चन्द्रावती पौडेललाई टिकट नदिएको भन्दै काँग्रेसप्रति आक्रोश व्यक्त गरेका थिए । नेकपा एमालेको राष्ट्रियताको अभियानमा योगदान पु¥याउने पौडेल परिवारले प्रतिबद्धता व्यक्त गरेको छ । पौडेल परिवारका साथै उनका आफन्तहरु वाग्ले र लामिछाने परिवार पनि एमालेमा प्रवेश गरेका हुन् ।
पोखरा लेखनाथ महानगरको वडा नम्बर २७ का अध्यक्षका उम्मेदवार कुमार गुरुङ र २८ का अध्यक्षका उम्मेदवार निर्मल दियाली सुनार लगायतले उक्त अवसरमा बोलेका थिए । रामजी पौडेलको जन्म गाउँ अर्घौं अर्चलेमा कार्यक्रम भएको हो ।
रामजी पौडेलको शालीक एमालेले बनाउने
रामजी पौडेलको जन्म गाउँ अर्घौं अर्चलेमा स्वर्गीय नेता रामजी पौडेलको शालीक नेकपा एमालेले बनाउने प्रतिबद्धता व्यक्त गरेको छ । पौडेल परिवारको भावनालाई सम्बोधन गर्दै एमालेले शालीक बनाउने प्रतिबद्धता व्यक्त गरेको हो । एमालेको तर्फबाट वडा नं. २७ को अध्यक्षमा उम्मेदवारी दिएका कुमार गुरुङले रामजी पौडेलको शालीक निर्माण गरेर पौडेल परिवारलाई सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । हत्याको छानविन गरी हत्यारा पत्ता लगाउन पनि सहयोग गर्ने उनले बताए ।
बरु म मरेर जाउँला कांग्रेस छोड्ने छैन : चन्द्रावति पौडेल (भिडियो सहित )
स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल कांग्रेस पार्टी नछोड्ने घोषणा गरेकी छिन् । सोमवार लेखनाथका पौडेल परिवार सबै एमालेमा प्रबेश गरेको खबर सार्वजनिक भएपनि उनले आफु कांग्रेस भएरै मर्ने बताइन् ।
स्वर्गीय पौडेलका दाजु राममणि पौडेल सहित ३५० पौडेल परिवार एमालेमा प्रवेश गरेको खबर सार्वजनिक भएपनि उनी आफुले कांग्रेस पार्टी नछोड्ने प्रतिबद्धता जनाएकी हुन् । ‘ म रामजी वादलको सपनालाई साकार पार्छु, नेपाली कांग्रेसलाई मैले गर्न सक्ने त्याग तपस्या जे सक्छु गर्छु ’ , उनले भनिन्, ‘बरु म मरेर जाउला नेपाली कांग्रेस छोड्ने छैन । ’ आफुले नेपाली कांग्रेस भन्दा अन्य पार्टी पनि नदेखेको उनले बताइन् । उनले थपिन्,‘ जो जो थिए एमालेमा तिनैको नाम लेखिएको छ, अविर लाइयो भन्दैमा हुदैन । ’
आफ्नो पतीलाई सम्झदै उनले भनिन्, ‘ म उहाँको रगत पोखिएको ठाँउबाट नेपाली कांग्रेसकै इमान्दार कार्यकर्ताको रुपमा निस्कन्छु । ’ आफुले अहिले टिकट नपाएपनि पार्टीको तर्फबाट तोकिएका उम्मदवारलाई सघाउने प्रतिबद्धता पनि उनले जनाइन् ।
