
पोखरा लेखनाथ महानगरपालिकाको उपप्रमुख पदमा नेकपा एमालेका तर्फबाट मञ्जु (देवी) गुरुङ चुनावी मैदानमा छिन् । २०१८ साल मंसिर १६ गते पञ्चमुल, सिरुवारी स्याङ्जामा जन्मिएकी गुरुङ २०५० सालमा अखिल नेपाल महिला संघमा आबद्ध उनी २०५५ सालदेखि संगठित सदस्यका अनवरत क्रियाशील छिन् । २०३८ सालमा वैवाहिक जिवनमा प्रवेश गरेकोमा उनका श्रीमान् मेखबहादुरको ११ वर्षपछि नै निधन भएपनि एक छोरा र एक छोरी हुर्काउँदै उनी राजनीतिमा सक्रियतापूर्वक लागिरहिन् । एकल महिला गुरुङलाई पार्टीले उपप्रमुख पदमा अघि सारेको छ । दुई कार्यकाल एमाले पोखरा ८ वडा सदस्य, जिल्ला कमिटी आर्थिक विभाग सदस्य, क्षेत्र नं. ३ सचिवालय सदस्य, अनेम संघ नगर समिति सल्लाहाकार सदस्य, दुई कार्यकाल सचिव, अनेमसंघ जिल्ला कोषाध्यक्ष, नेपाल लोकतान्त्रिक आदिवासी जनजाती महासंघ कास्की कोषाध्यक्ष, अन्तर पार्टी महिला सञ्जाल कास्की जिल्ला कोषाध्यक्ष भएर काम गरिसकेकी छिन् । हाल उनी जिल्ला कमिटि बैकल्पिक सदस्य, अनेमसंघ केन्द्रिय विदेश विभाग सदस्य तथा जिल्ला अध्यक्ष, अन्तर पार्टी महिला सञ्जालको दस्य हुन् । विभिन्न सामाजिक संघसंस्थाहरु अर्थर डाँडाखर्क कोने परिवार, सोपाँल तमु समाज, गोर्खा कम्युनिटी गु्रप पोखरा, पन्चकोशी तमु समाज पोखरा, तमु धिं नेपाल, पर्वत मिलन समाज पोखरा, बौद्ध अर्घौं सदन, गोर्खा भू.पु महिला संघ गण्डकी, शैक्षिक समाज सहकारी संस्थामा आबद्ध उनी दि विज्डम कास्की ईं.वो.स्कुलकी संस्थापक हुन् । विभेदमुक्त, महिला तथा बालबालिकामैत्री समृद्ध महानगर मूल मन्त्रका साथ उनी उपप्रमुखको प्रतिष्पर्धामा उत्रिएकी छिन् ।
………………………………
पोखरा लेखनाथ महानगरपालिका अन्तर्राष्ट्रिय शहरको रुपमा विकास गर्ने जिम्मेवारी हाम्रो काँधमा आएको छ । अब जसरी पूर्वाधार विकास हुन्छ त्यही दिशामा हामी अघि बढ्ने हो । यो चुनौतिको घडीमा हामी संयमित भएर दीर्घकालीन सोचका साथ अघि बढ्न जरुरी छ । महानगरबासीलाई महानगरको अधिकार र दायित्व बुझाउन आवश्यक छ।
अब गाँस बास कपासको कुरा मात्र होईन शिक्षा, स्वास्थ्य रोजगार लगायतको व्यवस्था नैसर्गिक अधिकारमा परिसक्यो । अन्तर्राष्ट्रिय नगरीका रुपमा फड्को मार्नुपर्ने बेलामा हामी पोखरा लेखनाथबासी अब सचेत हुन अवाश्यक छ । समृद्ध र समुन्नत सहर जहाँ महिला चौबिसै घण्टा सुरक्षित होउन्, शान्ति सुव्यवस्था चुस्त हुन् । सडक तथा श्रमिक बालबालिका मुक्त क्षेत्र होस् । यो ठूलो लगानी तथा लामो समय खर्चने योजना विना नै नीतिगत व्यवस्थाअनुसार सुधार हुने कुरा हुन् । यसलाई एक वर्षभित्रै महानगरबासीले अनुभूति गर्न सक्ने गरी सुधार ल्याउन सक्नेछु । महानगरपालिका कार्यालयसँगै हरेक वडामा महिला तथा बालबालिका डेस्क बन्नेछन् ।
बालबालिका र गर्भवती महिलाका लागि निशुल्क स्वास्थ्य सेवाको प्रबन्ध गरिनुका साथै गर्भवती महिलालाई पौष्टिक आहारका लागि भत्ताको व्यवस्था गरिनेछ । आधारभूत स्वास्थ्य सेवा, भ्याक्सिन र खोपहरू निशुल्क दिइनेछ । नागरिकहरूको स्वास्थ्य बिमाको क्रार्यक्रमलाई अनिवार्य र प्रभावकारी रूपमा लागु गरिनेछ । पोखरा लेखनाथ सबैका लागि स्वास्थ्य सेवा उपलब्ध भएको महानगरमा रूपान्तरित हुनेछ र औषधिहरू सरल र सुलभ रूपमा पदान गरी औषधि पसलहरूलाई नियमन गरिनेछ ।
सहरी सुरक्षा जोखिम न्यून गर्न मुख्य सहरी क्षेत्रभित्रका टेलिफोन तार हटाई अप्टिकल फाइबर जडान गरिनेछ भने बिजुलीका तारहरूलाई अन्डरग्राउन्डेड गर्ने कामलाई प्राथमिकता दिइनेछ । महानगरका सबै ३३ वडाहरूलाई एकआपसमा स्तरीय सडक सञ्जालबाट जोडिनेछ । वैकल्पिक मार्गको सम्भाव्यता अध्ययन गरी निर्माण गरिनेछ । महानगरका सडकमा सौर्यबत्ती जडान गर्नुका साथै आवश्यक स्थानमा शौचालय, पिउने पानीसहितका सर्बिस स्टेसनको निर्माण गरिनेछ । बस, ट्रक, आदिको पार्किङ व्यवस्थालाई प्रभावकारी बनाई महानगरभित्र आवश्यक ठाउँमा सी.सी.क्यामरा जडान गरी ट्राफिक व्यवस्थित गरिनेछ । सेवा निवृत र भू.पू. हरूको ज्ञान र सिपको भरपुर उपयोग गरिनेछ । प्रमुख बस्तीहरूमा सुपथ सहकारी पसल सञ्चालन गरिनेछ ।
एकीकृत सहकारी विकास कोषको व्यवस्था गरिनेछ । महानगरमा भर्चुअल पुस्तकालय सुविधा उपलब्ध गराउनुका साथै बस टर्मिनल, विमानस्थल जस्ता निश्चित सार्वजनिक स्थलमाहरूमा निशुल्क इन्टरनेट सुविधा प्रदान गरिनेछ । सडक, खानेपानी, बिजुली, सञ्चार, फोहर व्यवस्थापन, ढलनिकास आदि आवश्यकीय स्थानीय सेवाको प्रवाह एकीकृत ढंगले अधिकार सम्पन्न प्राधिकरणमार्फत गरिनेछ ।
महानगरभित्र पर्याप्त मात्रामा सार्वजनिक शौचालयको निर्माण र सञ्चालन गरिनेछ ।
विकासका पूर्वाधार सम्बन्धमा पार्टीको घोषणापत्र बमोजिम नै सबै काम हुनेछन् । कुरा होईन हामी काम गर्ने गरी अघि बढेका छौं । सुखी नेपाली, समृद्ध नेपालको मूल नारासहित स्वाधीन, समुन्नत तथा समाजवाद उन्मुख अर्थतन्त्र सहितका समृद्ध नागरिकको अभिभारा पूरा गर्न आवश्यक भएकाले मुलुककै सबैभन्दा ठुलो महानगरमा हाम्रो पार्टीको नेतृत्व आवश्यक छ । हाम्रो नेतृत्वको स्थानीय सरकारबाट मात्र सामाजिक न्यायसहितको लोककल्याणकारी राज्ययन्त्रद्वारा पोखरा लेखनाथ महानगरपालिकालाई समृद्ध, वैभवशाली र अन्तर्रा्ष्ट्रिय स्तरको सहर बनाउन सकिन्छ । उत्पादनशील, रोजगारी र न्यायपूर्ण वितरण सहितको तीव्र आर्थिक सामाजिक विकासामार्फत यसलाई विश्वकै सवैभन्दा सुखी र समृद्धशाली नागरिकहरूको सहरमा रूपान्तरण गर्न सकिनेछ।
प्रस्तुतिः रञ्जन अधिकारी
