
पोखरा लेखनाथ महानगरपालिकामा सरकारको नेतृत्वकर्ता नेकपा माओवादी केन्द्रबाट प्रमुख पदमा उम्मेदवार छैनन् । सत्ता साझेदार नेपाली काँग्रेससँग केन्द्रिय सहमति अनुसार नै तालमेल भएपछि प्रमुख पदका उम्मेदवार विश्वप्रकाश लामिछानेले उम्मेदारी फिर्ता लिए । उपप्रमुखमा भने तालमेलको सहमति नभएकाले दुवै पार्टी आआफ्नो हिसाबले अघि बढेका छन् । माओवादी केन्द्रबाट उपप्रमुख पदकी उम्मेदवार हुन् गोमा ढकाल । राजनीतिभन्दा सामाजिक क्षेत्रमा आफूलाई स्थापित गरेको नाम हो गोमा ढकाल । वि.सं. २०४२ सालदेखि विद्यार्थी राजनीतिमा संलग्न भई वामपन्थी आन्दोलनमा होमिएकी उनी २०४६ सालदेखि नेपाल कम्युनिष्ट पार्टी सदस्यता लिईन् । तत्कालिन समय एमाले निकट अखिल नेपाल महिला संघ कास्कीको विभिन्न पदको जिम्मेवारी पूरा गर्दै अध्यक्षको कार्यभार समेत सम्हालिन् । पछि अखिल नेपाल महिला संघ क्रान्तिकारीको केन्द्रिय सदस्य बनिन् । उनी हाल नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य हुन् । २०२१ साल फागुन ९ गते पोखरा लेखनाथ ६ बैदाममा जन्मिएकी उनी सामाजिक सेवामा तल्लिन छिन् । बालगृहहरुको महासंघ नेपालका पूर्व उपाध्यक्ष, बालगृह सञ्जाल कास्कीका पूर्व अध्यक्ष, पोखरा उद्योग वाणिज्य संघ कार्यसमिति सदस्य, उद्योग व्यापार संगठन केन्द्रिय सदस्य एवं केन्द्रिय महिला विभाग प्रमुख, गैरसकारी संस्था महासंघ कास्कीका पूर्व कोषाध्यक्ष, सामुदायिक जिल्ला समन्वय समिति पूर्व अध्यक्ष, सामुदायिक सेवा केन्द्र बैदामकी पूर्व अध्यक्ष पनि हुन् । उनको पर्यटन क्षेत्रमा पनि उत्तिकै योगदान छ । फेवाताल संरक्षण तथा फुट ट्रयाक निर्माण समितिमा रहेर सक्रिय भूमिका खेलेकी थिईन् । माओवादीको प्रमुख नआउने पक्का भएपछि उपप्रमुख जितेको खण्डमा आफूले घोषणा गरेबमोजिम काम गर्न सकिन्छ त ? भन्ने प्रश्नमा ढकाल भन्छिन्– ‘ सबै काम प्रमुखको मात्र हुने भए उपप्रमुख पद किन राख्ने त ? समन्वय गरेरै अघि बढ्ने हो । विकासमा सबै साझेदार भएर अघि बढ्ने हो ।’
………………………
पोखराको बारेमा धेरै चर्चा गर्न जरुरी छैन । पोखरा विश्वकै सुन्दर स्वर्गको टुक्रा हो । लेखनाथ सहित ग्रामिण वडाको मिलनपछि मुलुककै ठूलो महानगरपालिका बनेको छ । अब यसको विकास गर्ने जिम्मा हाम्रो हो । यहाँको समस्या के छ ? महानगरबासीलाई थाहा छ । समाधानका लागि सबै मिलेर अघि बढ्ने हो । पोखरा पर्यटकीय शहरसँगै प्रदेशको राजधानी पनि हो । त्यसका लागि संरचना निर्माण अहिलेदेखि नै थालिने छ
मुख्यतः हामी आफै सबल हुनुपर्छ । यहाँको उत्पादनमा विशेष जोड दिँदै आत्मनिर्भर महानगर बन्ने गरी अघि बढ्ने मेरो भिजन छ । रोजगारमुलक उत्पादनशिल क्षेत्रमा लगानी प्रोत्साहन गर्ने, शिक्षित बेरोजगार युवालाई तालिमको ब्यवस्था गरेर रोजगारी प्रदान गर्नेछु । ब्यापक आधार र दायरा समेट्ने गरी एकीकृत कर संहिता मार्फत एकद्धार प्रणालीमा कर संकलन गरिनेछ ।
पोखरा लेखनाथ महानगरमा स्याटलाईट सिटी देखि केवुलकार निर्माणसम्मका योजना हाम्रो छ । विकेन्द्रित शहर निर्माण गर्ने गरी बागमारा, जनताको चौतारा, मोहरिया, कसेरी, पुरुञ्चौर, हेमजा र विरौटा गरी ७ ठाउँलाई स्याटलाईट सिटीको रुपमा स्थापित गर्ने योजना सफल बनाउनेछु ।
बजारक्षेत्रदेखि सडक समेत नपुगेको बिकट गाउँ यहाँ छ । चक्रपथ मार्फत जोडेर मुख्य शहरी केन्द्रसम्म दु्रत सडकसँग पहुँच स्थापित गरिनेछ ।सबै ठाउँको सम्भाब्यता अध्ययन गरेर कृषि, पशुपालन, तरकारी, पहाडी तथा हिमाली जडिबुटी, फलफुल खेती सम्बन्धि प्रशोधन, प्याकेजिङ तथा उत्पादन उद्योग स्थापना गर्ने तयारी छ । यस्तै अर्चले, पुम्दीभुम्दी, सराङकोट, निर्मलपोखरी र पूरानो राखीलाई सुविधासम्पन्न पर्यटकीय नगरका रुपमा विकास गरिनेछ ।
उपप्रमुख हुनेबित्तिकै उच्चस्तरीय पोखरा लेखनाथ महानगर शहरी विकास आयोग गठन गरेर बृहत गुरुयोजना निर्माण गर्ने मेरो पहिलो प्राथमिकता हुनेछ । वातावरणमैत्री पोखरा चक्रपथ, तिब्बतदेखि काठमाण्डौं हुँदै पोखरा रेलमार्ग, पर्यटकीय डाँडामा केबुलकार, गाउँ र विद्यालयमा फ्रि इन्टरनेट, तीन बर्षमा अन्तराष्ट्रिय विमानस्थल, प्रदेश स्तरीय प्राविधिक विद्यालय, पञ्चासेमा पर्यटन उद्योग, माझठानामा आधुनिक कृषि उत्पादन केन्द्र, कृषक पेन्सन र नगरभरी विशेष कृषि उत्पादन क्षेत्र, सांस्कृति संग्राहलय, आधुनिक रंगशाला, अन्तराष्ट्रिय क्रिकेट मैदान, चिडियाखाना र सुविधायुक्त नाट्यशाला बन्नेछन् ।
पोखरा जोड्ने पृथ्वी राजमार्ग, भूपी शेरचन राजमार्ग र सिद्धार्थ राजमार्गलाई चार लेनको सडक विस्तार गर्ने, महानगरबाट प्रभावित कास्की तथा नजिकका जिल्लाहरुलाई तीन लेनको सडक सञ्जालले जोड्ने प्रतिबद्धता जनाउन चाहन्छु । महानगरले सुविधायुक्त बस सञ्चालन गर्ने, सौर्य उर्जालाई प्रोत्साहन गरिनेछ । माध्यमिक स्तरसम्मको निशुल्क शिक्षा, पोखरा विश्वविद्यालयलाई केन्द्रिय विश्वविद्यालय बनाउने, पृथ्वीनारायण क्याम्पसलाई विश्वविद्यालयको अवधारणामा विकास गर्ने, खेलकुद, ट्राभल र टुरिजम सम्बन्धि आंगिक कलेज स्थापना गर्ने, अपाङ्गता भएकालाई विशेष शिक्षाको ब्यवस्था गर्ने, आधारभुत विद्यालयमा मातृभाषा मार्फत अध्ययन अध्यापनको ब्यवस्था मिलाउनेछु । प्रत्येक स्वास्थ्य चौकीमा जनस्वास्थ्य विज्ञको ब्यवस्था गर्ने, आयुर्बेदिक तथा प्राकृतिक अस्पताल स्थापना, सार्वजनिक शौचालय निर्माण र ब्यवस्थापनका विषय मेरो प्राथमिकतामा रहनेछन् ।
पोखरामा हुने प्रदुषण नियन्त्रण र बैकल्पिक ल्याण्डफिल्ड साईट ब्यवस्थापनलाई जोड दिनेछु । सूचना प्रविधीलाइ बढवा दिँदै प्रत्येक गाउँमा निशुल्क इन्टरनेटको ब्यवस्था गर्ने, महानगरमा रेडियो, टेलिभिजन र पत्रपत्रिकाको प्रकाशन र प्रशारणमा जोड दिने नीति ल्याउनेछु । पोखरालाई नमूना विज्ञान शहरको रुपमा परिकल्पना गरेको छु । म आफै महिला र बालबालिका अधिकार क्षेत्रमा लामो समय काम गरेको अनुभवका आधारमा महिला तथा बालमैत्री नगरका रुपमा विकास हुनेमा त कुनै शंका नै छैन । महिला तथा अभिभावकविहीन बालबालिकाले व्यहोर्नुपरेको समस्या, झण्झट अब ब्यहोर्नुपर्दैन । नेतृत्व तहमा पु¥याउनेमा म विश्वस्त छु ।
प्रस्तुतिः रञ्जन अधिकारी
