पोखरा लेखनाथलाई मुलुककै उत्कृष्ट महानगर बनाउनेछु: प्रमुख पद उम्मेदवार गीता गुरुङ (राप्रपा)

Share:

पोखरा लेखनाथ महानगरपालिकाको प्रमुख पदमा चौथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टीले गीता गुरुङलाई अघि सारेको छ । प्रमुख पदका लागि १७ जना निर्वाचनमा होमिएकोमा दुई महिला उम्मेदवारमा गुरुङ पनि एक हुन् । २०३३ सालमा बुटवल सेतीदोभानमा जन्मिएकी गुरुङको सपरिवार यहाँ मावली गाउँ आए । काहुँडाडामै बाल्यकाल बिताएकी उनी हाल पोखरा १३ मा बस्छिन् ।

२०४९ सालदेखि राप्रपा पार्टीमा आबद्ध भएकी उनी २०६० सालदेखि सक्रियतापूर्वक लागिन् । राप्रपा नेपाल प्रवेश गरेसँगै उनी कास्की क्षेत्र नं. २ उपाध्यक्ष भईन् भने दुई कार्यकाल अध्यक्षमा निर्वाचित भईन् । पार्टीको जिल्ला सहकोषाध्यक्षको जिम्मेवारी समेत सम्हालिसकेकी उनी राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी वरिष्ठ सल्लाहकार समेत हुन् । अरुणोज्योति पुस्तकालय, पोखरा युनाईटेड क्लब लगायत सामाजिक संघसंस्थामा आजीवन सदस्यता लिएकी उनले आमा समूह, टोल विकास संस्थामा पनि सक्रिय सहभागिता जनाउँदै आएकी छिन् । महिला उम्मेदवार भएकाले पनि पोखरेलीले नेतृत्व तहमा महिलालाई चुन्नेमा विश्वस्त छिन् । पोखरालाई उत्कृष्ट महानगर बनाउन राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको जितको अपरिहार्यता औंल्याउँदै उनले सचेत र देशभक्त नागरिकले आफूलाई मत दिने दाबी गर्छिन् ।
…………………………………

पोखरा लेखनाथ महानगरपालिकाको महत्व अन्तर्राष्ट्रिय विमानस्थल निर्माणकार्यले पूर्णता पाएपछि झनै बढ्नेछ । त्यसैले राजनीतिक चेपुवामा पर्दै आएको विमानस्थल निर्माण प्रमुख विषय हो । पोखरामा बन्न लागेको अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माण कार्यलाई तीव्रता दिनेछु । साविक लेखनाथ लामिआहालमा अधिग्रहण गरी राखिएको जग्गालाई क्षेत्रीय बसपार्क बनाईनेछ । यसका साथै पृथ्वीचोक तथा बाग्लुङ बसपार्क र बेगनासताल बसपार्कलाई स्थानीय स्तरको सुविधा सम्पन्न बसपार्क निर्माणका साथै टुरिष्ट बसपार्क व्यवस्थित गरिनेछ ।

पोखरा साँच्चै पर्यटकीय राजधानीको रुपमा स्थापित गर्न आवश्यक पूर्वाधार तयार गरिनेछ । सम्भावित तथा ओझेलमा रहेका पर्यटकीय क्षेत्र पहिचान गरी विकास गरिनेछ । बढ्दो शहरीकरण चापलाई मध्यनजर गर्दै भवन निर्माण गर्दा अनिवार्य रुपमा अण्डरग्राउण्ड तला निर्माण गर्नुपर्ने नीति अवलम्बन हुनेछन् ।

मेरै कार्यकालमा ३३ वटै वडालाई जोड्ने गरी चक्रपथ निर्माणका लागि हरेक गाउँपालिकाको केन्द्रबाट वडा वडासम्म पक्की सडक सञ्जाल विस्तार गरिनेछ । नेपाली संस्कार सहितको शिक्षा, देश विकासको आधार, घरघरमा रोजगार भन्ने अभियानका साथ शिक्षालाई व्यवसायीक सिपमुलक र रोजगारमूलक बनाउन तथा दक्ष जनशक्ति निर्माण गर्नको लागि आवश्यक कदम चालिनेछ । प्लस टुसम्मको शिक्षा निःशुल्क बनाईनेछ
खानेपानी समस्या न्युनिकरण गर्न स्रोतहरुको खोजी गरी तिनीहरुको संरक्षण गर्दै वितरण प्रक्रियालाई प्रभावकारी बनाईनेछ ।

पोखरामा यातायात सवारी साधनहरुको चाप दिनानुदिन बढ्दै गएको छ । पोखराका विभिन्न स्थानमा आकाशेपुल निर्माण कार्य गरिनेछ । चोकचोकमा ट्राफिक लाइट, सिसि क्यामेरा जडान गरी अपराधमुक्त तथा भयमुक्त शहरुको रुपमा विकास गरिनेछ ।

बढ्दो शहरीकरणलाई वैज्ञानिकीकरण गरी प्रदुषणरहित वातावरणीय शहर बनाउन तथा स्वच्छ हराभरा शहरको रुपमा विकास गर्न सडकको दायाँबाया रुखहरु रोपी हरियाली बनाउने तथा फोहोर मैलालाई व्यवस्थित गर्न डम्पिङ साईटको व्यवस्थापन गर्दै अन्य स्थानमा विस्तार गरिनेछ ।

महानगर तथा गाउँपालिकाका सबै सांस्कृतिक धरोहरुको संरक्षण गरिनेछ भने जातिय विभेद पूर्ण बन्देज गराउन म लागिपर्नेछु । गौमाताको रुपमा मानिने राष्ट्रिय जनावर गाइको उचित संरक्षणको निम्ति विभिन्न स्थानमा गौशाला निर्माण हुनेछन् । बालबालिकामैत्री नगर, महिला सुरक्षित नगर बनाउनेछु । महिला दलित, जनजाति लगायत विपन्न वर्गहरुका निम्ति लक्षित गर्दै मानवीय विकास, आर्थिक विकास तथा सामाजिक विकाससँग सम्बन्धित कार्यक्रमहरुलाई तिब्रताका साथ विकास गरिनेछ । उद्योग कलकारखाना संचालन गरिनेछ र लोडसेडिंग मुक्त शहर बनाउन स्थानीय सरकार र जनताको साझेदारीमा हाइड्रोपावर निर्माण गरी आवश्यक बिजुली उत्पादन गरी आत्मनिर्भर बनाईनेछ ।

खेतीयोग्य भूमिलाई वर्गिकरण गरी दैनिक उपभोग गर्ने अर्गानिक बस्तु उत्पादन गर्न कृषिलाई प्रोत्साहित गरिनेछ । स्वास्थ्य उपचारका लागि सुविधासम्पन्न अस्पतालका लागि पहल सुरु गरिनेछ । पोखरा लेखनाथ पर्यटकीय शहर भएकाले भ्यु टावरहरु निर्माण गर्नेछु । अतिक्रमित जग्गा पुनः सरकार मातहतमा ल्याउन पहल गर्नेछु । बेगनासतालको एक सय मिटर मापदण्ड परिवर्तन, नमिलेका गाउँपालिकालाई महानगरपालिकामा मिलाउन सक्दो प्रयत्न गर्नेछु ।

पार्टीको एजेन्डा अनुसार पोखरालाई स्मार्ट सिटीको रुपमा स्थापना गराउने छु । सबै क्षेत्रलाई समेटेर अघि बढ्ने छु। सबैको सल्लाह, सुझाव र साथ जुटाएर म पोखरालाई उत्कृष्ट शहर बनाउने छु। पोखराको विकासका निम्ति कुनै कमी, कमजोरी हुन दिने छैन। यसपटक मेरो पार्टीले महिलाले गर्न सक्छन् भनेर मलाई अघि सारेको छ। समग्र महिलाको प्रतिनिधित्व गर्दै म ठाउँमा पुग्नेछु ।

प्रस्तुतिः रञ्जन अधिकारी

कमेन्ट गर्नुहोस्
Share: