रियल मड्रिड लगातार युरोपको च्याम्पियन, रोनाल्डोको २ गोल योगदानले च्याम्पियन्स लिग उपाधि

Share:

जेठ २१ / हालै स्पेनिस च्याम्पियन रियल मड्रिड १२ औं पटक युरोपको च्याम्पियन बनेको छ । जिनेदिन जिदानको प्रशिक्षणमा रियलको यो लगातार दोस्रो च्याम्पियन्स लिगको उपाधि हो। 

वेल्सको कार्डिफमा रहेको मेलिनियम रंगशालमा शनिबार राति भएको च्याम्पियन्स लिग फुटबलको यो सिजनको फाइनलमा इटालियन च्याम्पियन युभेन्टसलाई ४–१ ले हराउँदै लगातार दोस्रो तथा समग्रमा १२ पटक च्याम्पियन बनेको हो ।

च्याम्पियन्स लिगको नामबाट प्रतियोगिता भएदेखि लगातार दोस्रो वर्ष उपाधि जित्ने रियल मड्रिड पहिलो टिम बनेको छ ।यसअघि सन् १९८९ र १९९० मा एसी मिलानले लगातार उपाधि जितेको थियो ।

कार्डिफमा रियललाई जिताउन क्रिष्टियानो रोनाल्डोले महत्वपूर्ण भूमिका खेले । उनले २० र ६४ औं मिनेटमा गरी दुई गोल गरे । यस्तै ६१ औं मिनेटमा कासमेइरो र ९० औं मार्को एसेन्सिओले गोल गरे । युभेन्टसका लागि २७ औं मिनेटमा मारियो मान्जुकीले एक गोल फर्काए । ८४ औं मिनेटमा आन क्वाड्राडो दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि युभेन्टस १० खेलाडीमा सीमित भएको थियो । युभेन्टस यसअघि सन् १९९८ मा फाइनलमा रियलसँग १–० ले पराजित भएको थियो ।

चौथो सिजनमा तेस्रो पटक च्याम्पियन्स लिग च्याम्पियन बनेको रियल मड्रिडका क्रिष्टियानो रोनाल्डोले प्रतियोगितामा समग्रमा एक सय ५ गोल गरेका छन् । यो सिजन १३ खेलमा १२ गोल गरेका उनी सिजनका सर्वाधिक गोलकर्ता बनेका छन् । उनले ११ गोल गरेका बार्सिलोनाका लियोनल मेस्सीलाई पछि पारेका हुन् । यसैगरी च्याम्पियन्स लिगका तीन फरक फाइनलमा गोल गर्ने एक मात्र खेलाडी पनि रोनाल्डो बनेका छन् । उनले सन् २००८, २०१४ र २०१७ को फाइनलमा गोल गरेका हुन् ।

कमेन्ट गर्नुहोस्
Share: