देश घुम्दै ‘पैताला’

469
0
Share:

अमृत सुवेदी  पोखरा, २१ जेठ  / गनेस पौडेलद्वारा लिखित उपन्यास ‘पैताला’को देशका विभिन्न सहरमा छलफल तथा परिचर्चा यात्रा जारी छ । गएको शनिबार काठमाडौंमा उपन्यास लोकापर्ण भएको हो ।

पैताला उपन्यास बजारमा ल्याएका लेखक पौडेल सोमबार पोखरामा गृह लोकार्पण गरेर मंगलबार बागलुङमा छलफलका लागि पुगे । शनिबार बुटवलमा छलफल भईसक्यो भने आइतबार चितवन मा कार्यक्रम रह्यो । अब कोहलपुर, दाङ, धनगढी, हेटौंडा, धरान, विराटनगर, इटहरी, झापा लगायतका ठाउँमा पुस्तक यात्रा जारी रहने प्रकाशक संस्था बुक हिलले जानकारी दिएको छ । नेपाली उपन्यासमा फरक र नयाँ विषयमाथि लेखिएको दावी गरिएको ‘पैताला’को छलफल र परिचर्चा देशका विभिन्न सहरमा जान लागेको प्रकाशक बुक हिलका निर्देशक भूपेन्द्र खड्काले जानकारी दिए ।

‘यो नेपाली उपन्यास जगतमा नयाँ विषय र स्वादमा लेखिएको उपन्यास हो,’ खड्काले भने, ‘काठमाडौं, पोखरा, बागुलङ, बुटव र चितवनमा कार्यक्रम गरिसकेका छौं । यो ‘पैताला’ यात्रा देशका विभिन्न सहरमा हुनेछ ।’

औपचारिक र अनौपचारिक रुपमा विभिन्न छलफलबाट उत्साहजक प्रतिक्रिया आएको लेखक पौडेलले बताए । ‘नयाँ विषय र नयाँ धारबाट पैताला उपन्यास आएको हो । धेरैलाई नौलो र परम्परागतभन्दा बाहिरबाट आएकाले पाठकका फरक फरक प्रतिक्रिया आइरहेका छन्,’ लेखक पौडेलले भने, ‘प्रतिक्रियाले उत्साह थपेको छ । सामाजिक सञ्जाल, विभिन्न सम्पर्क माध्यमबाट प्रतिक्रिया आएका छन् । नपढी चर्चा हुनुभन्दा पढेर आउने हरेक प्रतिक्रिया स्विकार्य छ ।’

पैतालामाथिको बहस तथा परिचर्चामा लेखक पौडेलले उपन्यास लेखनको उद्गम र यसले उठाएको विषयमाथि पाठकलाई बुझाउने कोसिस गरिरहेका छन् ।

उपन्यासमा पैतालाको दर्शनलाई तन्त्र, मन्त्र र यन्त्रले निर्माण गरेको पौडेल बताउँछन् । ‘पूर्वीय दर्शनमा तन्त्र, मन्त्र र यन्त्र छ । तन्त्र भनेको विधि, मन्त्र भनेको शब्द वा ध्वनि र यन्त्र भनेको साधन वा ज्यामिति हो,’ पौडेलले स्पष्ट पारे, ‘मन्त्रलाई विधिपूर्वक भनियो भने मात्र त्यसले असर देखाउँछ । यी २ को प्रयोग कसरी गर्ने भन्ने जुन तरिका खोजिन्छ नि, त्यो तन्त्र हो । कथालेखन पनि एउटा विधि त हो नि ! मैले पैतालाको दर्शनलाई तन्त्र, मन्त्र र यन्त्रले निर्माण गरेको छु । यो तान्त्रिक उपन्यास हो ।’

पैताला’ कथावाचन र सत्यको बिम्ब हो भन्ने कुरा आफूलाई लागिरहेकै कारण उपन्यास पैताला जन्मेको उनले बताए । देशका विभिन्न ठाउँमा पुगेर कथाका पात्र तयार पारेको र कथा बुनोट गरेको पौडेल बताउँछन् । ‘पैताला’ परम्परागत उपन्यासभन्दा फरक भएकाले पाठकले नयाँ स्वाद पाउने विश्वास उनको छ ।

लेखक कुमार नगरकोटीका अनुसार परम्परागत नेपाली उपन्यासमा पाठकको सम्बन्धविच्छेद हुने क्रम बढ्दै गइरहेका बेला पौडेलले नेपालमा अहिलेसम्म नलेखिएको नयाँ कथा लेखेको छन् । नयाँ लेखन शैली, कथा, पात्रलाई पढ्दै जाँदा छुट्टै संसारमा पुगेको अनुभूति आफूले गरेको नगरकोटी बताउँछन् । पोखराका पौडेलले देशका प्रमुख पत्रिकामा कला, साहित्य, संगीत र विभिन्न समसामयिक विषय तथा विभिन्न खोजमूलक लेख लेख्दै आएका थिए । पौडेल ‘पैताला’ मार्फत उपन्यासकार रुपमा नेपाली साहित्यमा दर्ज त भएका छन् तर कत्तिको सफल हुन्छन्, समयले बताउँनेछ । ३ सय ६३ पृष्ठको ‘पैताला’को मूल्य ४ सय रुपैयाँ राखिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: