
रञ्जन अधिकारी पोखरा, ३० असार / स्वतन्त्र विद्यार्थी युनियन, ईञ्जिनियरिङ अबध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पसमा तालाबन्दी गरिएको छ । अखिल क्रान्तिकारी र नेबिसंघले विभिन्न पाँच बुँदे माग राख्दैे संयुक्त रुपमा शुक्रबार तालाबन्दी गरेका हुन् ।
क्रान्तिकारीका क्याम्पस कमिटि अध्यक्ष कृष्ण दाहाल र नेबिसंघका सचिव नबिन केसीले ताला लगाउनुपूर्व विज्ञप्ती जारी गरेका छन् । यद्यपी, स्ववियु सभापति इन्द्र पौडेलले भने १० बजेको अल्टिमेटम दिएर विज्ञप्ती भने साढे १० बजे आफूले देखेको प्रतिक्रिया दिए ।
पाँच बँुदे मागहरुमा स्ववियू निर्वाचनमा भएको तीन लाखको खर्च विवरण पारदर्शी हिसाबले सार्वजनिक गर्नुपर्ने, त्रिवि परिषद्ले बढाएको नियमित तथा पुनः परीक्षाको शुल्क फिर्ता गर्नका लागि सामूहिक रुपमा लाग्नुपर्ने, स्ववियू सभापतिले एमालेको भित्तेपात्रोमा शुभकामना सन्देश दिएकोमा छानविन तथा आत्मालोचना सहित लिखित माफी माग्नुपर्ने, होस्टलका शौचालयको सरसफाईका लागि विशेष पहल गर्दै शनिबार १० बजेभित्र सरसफाई भईसक्नुपर्ने र विद्यार्थीलाई आवश्यक पर्ने तालिम रोक्न नहुने माग प्रस्तुत गरेका छन् ।
‘क्याम्पस प्रशासनको दबाब, अत्याचार, ढिलासुस्ती र भ्रष्टाचार विरुद्ध लड्ने उद्देश्यका साथ विद्यार्थी हक हितका लागि लड्ने विद्यार्थीको संगठन भनिएको स्ववियू हरेक गम्भिर मुद्धामा मौन बसेकोमा हामी सशंकित छौं । स्ववियू विद्यार्थी हकहित भन्दा पनि आफ्नो स्वार्थका लागि उद्दत रहेको छ ।’ विज्ञप्तीमा उल्लेख छ – ‘यसै सिलसिलामा केहि समयदेखि स्ववियूले गरेका कामकारबाही र त्यसबाट देखिएको प्रभावले सम्पूर्ण विद्यार्थी वर्गमा निराश पैदा भएको छ ।’ स्ववियू कार्यालयलाई आफ्नो संगठनको कार्यालय जस्तै गरी संगठनका जिम्मेवार व्यक्तिलाई बोलाईएको आरोप पनि दुई संगठनले लगाएका छन् ।
स्ववियू सभापति पौडेलले भने १९ सदस्यीय स्ववियूमा दुवैतर्फका गरी बहुमत सदस्य भएकाले आफ्नो एकल निर्णय नहुने र स्ववियूको आलोचना गर्न नसुहाउने प्रतिक्रिया दिए । ‘क्रान्तिकारीका उपसभापति राजन अर्याल र दुई जना सदस्य , नेविसंघका सचिव विजय झा र कोषाध्यक्ष कमलाद्वारे र छ जना सदस्य छन् । ११ जना त उनीहरु नै छन् ।’ – पौडेलले भने– ‘अनि उनीहरु नै स्ववियूको बदनाम गरेर हिँडेर हुन्छ ? शैक्षिक माग हाम्रो पनि मुद्धा हो । व्यक्तिगत लाभका लागि गरिएको माग होईन । सबै मिलेर अघि बढौं ।’
