ज्योतिष हरिहर अधिकारीलाई ‘बेस्ट रिसर्च इन एस्ट्रोलोजी’ अवार्ड

Share:

रेम बिक
पोखरा, १९ भदौ । युवा ज्योतिष हरिहर अधिकारीले ‘बेस्ट रिसर्च इन एस्ट्रोलोजी’ अवार्ड प्राप्त गरेका छन् । एशियन एस्ट्रोलोजर कँग्रेसले उनलाई यो अवार्डसहित सम्मान गरेको हो । एशियन एस्ट्रोलोजर कँग्रेसको आयोजनामा इन्डोनेसियाको बालीमा भएको १८ औँ सम्मेलनको अवसरमा अधिकारीले यो अवार्ड प्राप्त गरेका हुन् । यो अवार्ड पाउने हरिहर नेपालका पहिलो ज्योतीष हुन् ।

अधिकारीलाई अन्तराष्ट्रिय हिन्दु पुजारी पण्डित डा. भि रमेश शास्त्री र बाली सँस्कृत इन्स्टिच्यूटका डाइरेक्टर वेद व्रम्हा श्री डा. रमेश शास्त्री गुरुजीले अवार्ड हस्तान्तरण गरेका थिए । अधिकारीले नेपालमा रहेर ज्योतिषशास्त्रमा पु¥याएको योगदान र अनुसन्धानलाई कदर गर्दै यो अवार्ड प्रदान गरेको एशियन एस्ट्रोलजर कँग्रेसले जनाएको छ ।

अधिकारीले गरेको ‘सोध’को आधारमा उनलाई यो अवार्ड दिईएको कँग्रेसले जनाएको छ । सम्मेलनको क्रममा उनले आफ्नो सोधपत्र समेत प्रस्तुत गरेका थिए । उनले ‘आत्महत्या’को विषयमा सोध गरेका थिए । ‘मैले आत्महत्याको सोँच आउनुमा ग्रहदोश हुन्छ कि हुँदैन ? भन्ने विषयमा सोधपत्र प्रस्तुत गरेको थिएँ ।’ हरिहरले भने–‘र, जुरीले मलाई उत्कृष्ट ठहर गर्दै यो अवार्ड प्रदान गरेको हो ।’

हरिहर सहित यो अवार्डका लागि ५ जनाको मनोनयन परेको थियो । भारतका दुईजना, बंगलादेशका १ जना र मलेशियाका १ जनालाई उछिन्दै हरिहरले यो अवार्ड प्राप्त गरेका हुन् । ‘यो अवार्ड म सँगै नेपालकै लागि पनि विशेष हो ।’ हरिहरले खुशी व्यक्त गर्दै भने–‘यसले नेपालका ज्योतिश, वास्तुशास्त्रीहरुलाई अन्तराष्ट्रियकरण गराउन अझै योगदान दिने मैले ठानेको छु ।’

एशियन एस्ट्रोलोजर कँग्रेसका अनुसार यो अवार्ड पाउने अधिकारी दोस्रो व्यक्ति हुन् । यसअगाडि कँग्रेसको तेस्रो सम्मेलनको क्रममा भारतको तर्फबाट त्यहाँका एक ज्योतिषले यो अवार्ड प्राप्त गरेका थिए । त्यसपछि १८ औँ सम्मेलनको क्रममा मात्रै अधिकारीलाई यो अवार्डबाट सम्मान गरिएको कँग्रेसका अध्यक्ष डा. सत्य विश्वासले बताए ।

इन्डोनेशियाको बालीमा भएको यो सम्मेलन आइतबारदेखि शुरु भएको हो । सम्मेलनमा भारत, नेपाल, मलेशिया, थाइल्याण्ड, बंगलादेश, श्रीलंका लगाएतका देशहरुबाट ज्योतिष, वास्तुविद र तान्त्रिकहरुले सहभागिता रहेको छ । आइतबार बालीका राजाले यो कार्यक्रमको उद्घाटन गरेका थिए । सम्मेलन मंगलबारसम्म चल्नेछ ।

 

कमेन्ट गर्नुहोस्
Share: