रञ्जन अधिकारी पोखरा, २० भदौ / घरको झ्यालमा अरिंगलले लगाएको गोलो ठूलो भईसकेको थियो । अरिंगलले टोक्ने डरले गोलो हटाईयो । तर, गोलो पोल्दा लगाईएको आगोले घर नै ध्वस्त हुन पुगेको छ । सोमबार मध्यरातमा आगो फैलँदा घरमा पूर्ण रुपमा क्षति पुगेको छ । पाँच जना राति सुतेका थिए तर भाग्यवश मानवीय क्षति भने भएन ।
पोखरा ६ लेकसाईड, शान्तिपाटन, ठाडोपसलका कृष्णबहादुर कुँवरको पुरानो घरको तल्लामा अरिंगलले झ्यालमै गोलो बनाएको थियो । कुँवरले नजिकै काम गर्ने मजदुरहरुलाई गरेको आग्रह बमोजिम नै उनीहरुले आगोको मुस्लो झोसेर अरिंगलको गोलो पोलेका थिए ।
घरधनी कृष्णबहादुरका छोरा राजेन्द्र कुँवरका अनुसार अरिंगलको गोलो पोलेपछि मजदुरहरु गए । राति साढे नौ बजेतिर झ्यालमा गोलो पोल्दा लगाईएको आगो फैलिएको हुन सक्ने उनको अनुमान छ । राति ११ बजेमात्र आफूहरुले थाहा पाएको र त्यसपछि आगोले भिषण रुप लिएको उनले बताए ।
‘बा, आमा, भाइ, श्रीमती र छोरा थिए । म दाइकोमा थिएँ । बुबाले अरिंगल गोलो पोल्न काम गर्ने कुल्लीहरुलाई भन्नुभएछ । उनीहरु पोलेर गए, आगो बाँकी रहेछ । त्यही फैलिएर यस्तो भो ।’ राजेन्द्रले भने– ‘स्प्रे छरेर भगाउन सकिन्थ्यो । अब अरिंगल पोलेर खाने भन्ने पनि भो होला । ’
आगलागीपछि तल्लो तल्लाका सामान झिक्न भ्याएपनि माथिल्लो तल्लाबाट सामान झिक्न नसकेको कुँवरले बताए ।
आगो लागेको थाहा भएपछि प्रहरीमा खबर गरिएको उनले जनाए । सशस्त्र प्रहरी बल कालिका गणबाट सई कृष्ण पौडेलको कमाण्डमा पुगेको टोलीले आगो राति १ बजे नियन्त्रणमा लिएको थियो । एउटा दमकल एक घण्टामा पुगेपनि थप आवश्यक परेपछि दुई वटा दमकल राति साढे १२ बजे पुगेको थियो ।
कृष्ण कुँवर नेपाली काँग्रेसका नेता रामजी कुँवरका काका नाता पर्छन् । सय वर्ष पुरानो घरमा नै रामजी कुँवर हुर्केका थिए । उनी हालै पोखरा लेखनाथ महानगरपालिकाको प्रमुख पदमा उम्मेदवार उठेका थिए ।
