कृष्ण थापाका सिर्जनाका घन्कदैं

Share:

रञ्जन अधिकारी पोखरा, २ असोज / गीतकार कृष्ण थापाका सिर्जना पोखरामा मंगलबार घन्कदैंछ । उनले रचेका गीतहरु सहितको नृत्य प्रस्तुति हुने ‘सिर्जनामा कृष्ण थापा २०७४’ आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

नेकपा एमाले कास्कीको आयोजना तथा जनसांस्कृतिक महासंघ, प्रदेश नं. ४ को व्यवस्थापनमा मंगलबार दिउँसो साढे २ बजेदेखि पोखरा उद्योग वाणिज्य संघ, गैह्रापाटन सभाहलमा थापाद्वारा रचित गीतहरुको प्रस्तुति हुने संयोजक दामोदर बैरागीले जानकारी दिए ।

नेकपा एमाले कास्कीका अध्यक्ष समेत रहेका थापा राजनैतिक व्यक्तित्वका साथै सिर्जनामा पनि उत्तिकै क्रियाशील छन् । थापाको रामकृष्ण ढकाल र यम बरालको आवाजमा रेकर्ड भएको पहिलो गीत पोखरा शहर हेर्दैमा राम्रो सहितका उत्कृष्ट आठ गीत कार्यक्रममा यहाँका कलाकारले प्रस्तुत गर्नेछन् ।

पोखरा शहर हेर्दैमा राम्रो, मान्छे न गरिब, म त नेपाली, धेरै धेरै दुःख कष्ट, मलाई माया गर्ने, आँखामा रसायो आँशु, पोखरा कोमागाने मितेरी गीत, आमा बाबा गीतहरु प्रस्तुत हुनेछन् । रामभक्त जोजिजु, कर्ण दास, इतु जोजिजु, रुबी गौली, ओम गुरुङ, सागर शाह, जय परियार, सन्तोष बस्याल, मालती गुरुङ, शितल थापा, लक्ष्मी गिरी, प्रमिला बराल लगायतका कलाकारले थापाका गीत गाउनेछन् ।

यस्तै झ्याउरे, लाठी, मारुनी, कौरा, साकेला र शास्त्रीय नृत्य समेत प्रस्तुत हुने सहसंयोजक पदमराज ढकालले जानकारी दिए । एक हजार रुपैंया टिकक काटेर कार्यक्रम हेर्न पाईनेछ । कार्यक्रमबाट करीब चार लाख ८० हजार उठ्ने र सोहि बराबर रकम खर्च हुने आयोजक सदस्य मनकुमार श्रेष्ठले जानकारी दिए । थापा राष्ट्रिय जनसांस्कृतिक मञ्च पोखरा नगरको संस्थापक अध्यक्ष पनि हुन् ।

कमेन्ट गर्नुहोस्
Share: