
रञ्जन अधिकारी पोखरा, २ असोज / पोखराको चिप्लेढुंगामा रहेको ‘मेलोडी क्याफे एन्ड लाउन्ज बार’ले संगीतकार सुनिल थापालाई मेलोडी अवार्ड २०७४ अर्पण गर्ने भएको छ ।
प्रदेश नम्बर चार क्षेत्रमा जन्मेर गीतसंगित क्षेत्रमा योगदान दिएको व्यक्तिलाई क्याफेले गत वर्षदेखि अवार्ड अर्पण गर्न थालेको हो । यस पटक दोस्रो मेलोडी अवार्ड कन्दरा ब्याण्डका मुख्य सदस्य थापालाई प्रदान गर्ने निर्णय भएको क्याफे सञ्चालक एवं गायक बिनोद बानियाँले जानकारी दिए ।
मेलोडी क्याफेले तेस्रो वार्षिकोत्सवको अवसरमा असोज ६ गते एक समारोहबीच थापालाई नगद २५ हजार ५ सयरुपैया सहित, ताम्रपत्र र दोसल्लाले सम्मान गर्ने बानियँले जनाए ।
कवि तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठ संयोजक, संगीतकार कृष्णबहादुर श्रेष्ठ लगायत सम्मिलित प्रतिभा छनौट समितिको सिफारिसको आधारमा थापालाई अवार्ड प्रदान गर्न लागिएको सोमवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा क्याफेले जानकारी दियो । म्युजिक एरेञ्जर तथा गायक समेत रहेका थापा दशकौंदेखि नेपाली संगीत क्षेत्रमा क्रियाशील छन् । कन्दराका बहुचर्चित गीतहरु हङकङ पोखरा, तिमी पारी त्यो गाउँमा, लेककी हे माया, क्या राम्रो स्याउबारी, विदेशिएर गईन् उनी, तगारोमा रुमाल राखी लगायतका बहुचर्चित गीतका संगीतकार थापा नै हुन् ।
‘कुनै पनि रेष्टुरेण्ट तथा बारहरुहरुमा अहिले संगीत अनिवार्य जस्तै भएको छ । लाइभ म्युजिक, दोहोरी लगायतका गीतहरु समावेश हुन्छन् ।’ गायक बानियाँले भने– ‘तर अहिलेसम्म संगीत क्षेत्रमा योगदान पु¥याउनेलाई कुनै पनि होटल, रेष्टुराँले सम्मान गरेको थाहा पाएको छैन । त्यसैले हामीले यो प्रयास गरेका हौं ।’
प्रदेश नम्बर ४ मा रहेर गीत संगीतमा योगदान पु¥याउने व्यक्तिहरुको तर्फबाट पहिलोपटक गीतकार तीर्थ तामाङलाई अवार्ड प्रदान गरिएको थियो ।
तीन वर्ष अघि गायक बानियाँ सहित शेखर शेरचन, गणेश बसौला, अशोककुमार गुरुङले सञ्चालन गरेको मेलोडी क्याफेले अवार्डलाई निरन्तरता दिने जानकारी दिएको छ ।
