
पोखरा, ५ असोज / सुदुरपश्चिमेली कवि हेमन्त विवश बिहीबार पोखरेली कवितापारखी सामु सुनिए । पहिलो कविता वाचन गर्न पोखरेली मञ्चमा उभिएका विवशले सुदुरश्चिमेली सुवासमात्रै पस्केनन्, कविले कहिले जुरुकजुरुक पारे त कहिले भावुक बनाए ।
आमा र जन्माउने भूमिप्रति समर्पित गर्दै ‘आमा’ कविताबाट एकल वाचनको उठान गरेका कवि विवशले सीमान्तकृत र आवाजबिहीनहरुको आवाज बोले । उनका कविताले ‘सत्ता–प्रायोजित इतिहास’ का विपक्षमा आवाज उठाए । कवितामै सिमान्तकृतको वैकल्पित इतिहास खोजे । गरिबी, एक्लोपना र हलियाहरु जस्ता पात्रलाई साक्षात्कार गराए ।
जदौ गोसाइँ
चिन्नु भो ?
तपाईं मेरो पुर्खाको गौरव
म उही हली हुँ मालिक
….
माथि, महलबाट हजुरले
तल, माटोमा उभिएको म हलीलाई
त्यति सजिलै देख्नुहुन्न,
आखिर जेसुकै भए पनि
हजुरको गगनचुम्बी महल पनि त
माटोमै उभिएको छ
आमा शीषर्कको कविताबाटै भावुक बनाएका विवशले दोस्रो ‘हली’ सुनाउँदा वाहवाही, ताली पाए । डोटीका कवि विवशलाई लोककवि अलि मियाँ वाङमय प्रतिष्ठानले पहिलो पटक एकल कवितामा उभ्याएको हो । नेपाल पर्यटन बोर्ड पोखरा, रैका ट्राभल्स, गजल सन्ध्या पोखरा, भिटोक नेपाल, सुदुपश्चिम विकास मञ्च र कन्सेप्ट नेपालको सहकार्यमा विवशको एकल कविता वाचन भएको थियो ।
कवि विवशले वाचनका बीचबीचमा रचना गर्भ, सन्दर्भ र विभिन्न किस्साहरु जोडेर कार्यक्रमलाई रोचन बनाएका थिए । कार्यक्रमको सुरुमै उनले झलकमान गन्भर्वको गीत सुनाएर सम्मान व्यक्त गरे भने लोककवि अलि मियाँका गीतसमेत गाएर सांगीतिक माहोलसमेत बनाए । उनले सुदुरपश्चिमेली देउडाको स्वादसमेत चखाए । दर्जन कविता पढेका विवशले छन्दोवद्ध कविता वाचन गर्दा दर्शक मन्त्रमुग्ध भए ।
विवशले कहिले ‘भूकम्प र राहत’मार्फत विसंगतिविरुद्ध आवाज उठाए त कहिले कहिले कोशी र बाबाको कथा सुनाए । गजल सन्ध्याका अध्यक्ष अमृत सुवेदीले ‘बा, दमाहा र ढोलक’ र सन्ध्याकी निवर्तमान अध्यक्ष विर्सना बस्नेतले ‘गोसाइँ तमीले कस्तो मुटु बोकेका छौं’ शीर्षकका कविता सुनाएर उनलाई सघाए ।देशभित्रै देश खोज्नु परेको कथामार्फत उनले सुदुरपश्चिमेलीले खेपेको अपहेलना, अभाव र विकटताको उजार गरे ।
भुन्टे दमाईको गाथा, सैपालको आँगन र एक्लोपना, तिमी नै भन, कतारको रैबार, हली–२, तम्रो देश, सुकुम्वासीका पसल लगायतका कविता वाचन गरेका विवशले प्रशस्त सुदुरपश्चिमेली शब्द, लवर र संस्कृतिलाई पोखरेली दर्शकसामु पस्केका थिए ।
कविता सुनिसकेपछि लोककवि अलि मियाँ वाङमय प्रतिष्ठानका सचिव पद्मराज ढकाल र कवि प्रकट पगेनी ‘शिव’ले मौलिकता, सीमान्तकृतका पक्षमा र ठूलो अर्थ राख्ने स–साना विषयमा लेखिएका गम्भीर कविता विवश सुनाएको बताए । लोकगायिका हरिदेवी कोइरालाले सुदुरपश्चिमका कविलाई पोखरामा सुन्न पाउँदा खुसी लागेको बताइन् ।
कार्यक्रम संयोजन तथा सहजीकरण गरेका पत्रकार अमृत भादगाउँलेले विवशजस्ता कविलाई बाहिर ल्याउने र उनको प्रतिभाको कदर गर्ने वातावरण बनाउनेपर्ने बताए । विवशको पोखराबाट सुरु भएको एकल कविता वचन अन्य शहरमा पनि पुग्ने उनको भनाइ थियो । प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षाविद् जर्ज जोनलाई सम्मान गरिएको थियो ।
- अमृत सुवेदी
